global ime bank Long Banner Ad

गृहपृष्ठ मौरी जोनले चितवनका कृषक उत्साहित

मौरी जोनले चितवनका कृषक उत्साहित

मौरी जोनले चितवनका कृषक उत्साहित

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ भरतपुरले चितवनलाई मौरी जोनका रूपमा विकास गरेसँगै यहाँका मौरीपालक किसान थप उत्साहित भएका छन् । जोन कार्यक्रममार्फत किसानलाई मौरीको घार, मह काढ्ने मेसिन, मैन बाक्सालगायतका सामग्री प्रदान हुँदा किसानलाई ऊर्जा थप्ने काम भएको छ ।

खैरहनी नगरपालिका–४ की सरस्वती गिरी विगत पाँच वर्षदेखि मौरीपालन पेसामा छन् । उनले ५० वटा घारबाट मौरीपालन सुरु गरेका छन् । “व्यवसायकै क्रममा चरनमा लैजाने क्रममा मौरीलाई विष प्रयोग गरी मारियो, कुनै समय ९० वटा घार बनाएकी थिएँ तर अहिले २५ वटामा सीमित छ । घार अझै थप गर्ने योजनामा छु ।” उनले मौरी जोन कार्यक्रमले आफूहरूमा उत्साह थपेको बताए ।

भरतपुर महानगरपालिका–११ का दामोदर देवकोटा विगत १२ वर्षदेखि मौरीपालन व्यवसाय गर्दै आएका छन् । उनी मौरी जोनमा जोडिएपछि थप उत्साह मिलेको बताउछन् । उनले भने, “पहिला एक सय घार मौरी थिए । अहिले यो बढाएर एक सय ३५ घार पुर्‍याएको छु ।” मौरी जोनमा जोडिएका कृषकलाई हरेक वर्ष कुनै न कुनै कार्यक्रम जोड्ने हुँदा आफूहरूमा उत्साह थपिएको देवकोटाले बताए ।

स्थानीयस्तरमा उत्पादित महको मूल्य र भारतबाट आयातित महको मूल्यमा अन्तर रहेकाले बजारीकरणमा केही समस्या देखिए पनि प्राविधिक विषयमा जोन कार्यक्रमको सहयोगले सहज भएको उनको भनाइ छ । बजारमा यहाँको उत्पादन उधारोमा पठाउनुपर्ने बाध्यता रहेको देवकोटाले बताए ।

जोन कार्यक्रममा जिल्लाका एक सय २७ जना कृषक सहभागी छन् । जिल्लामा आर्थिक वर्ष २०७५/७६ वटा मौरी जोनको कार्यक्रम सुरु भएको हो । कार्यालयका सूचना अधिकारी इन्द्र शर्मा ढुङ्गानाले भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका, कालिका नगरपालिका र राप्ती नगरपालिकाका किसान यो कार्यक्रममा जोडिएको बताए ।

ढुङ्गानाका अनुसार जोन कार्यक्रमको सुरुआती समयमा जिल्लामा छ हजार तीन सय ५० मौरीका घार रहेकामा अहिले यो सङ्ख्या बढेर ११ हजार नौ सय पुगेको छ । जिल्लाबाट वार्षिक चार सय ४७ मेट्रिकटन मह बाहिर पठाउने गरिएको उनले बताए । महको राष्ट्रिय प्रतिघार उत्पादन १६ दशमलव २६ किलो भए पनि जिल्लामा भने उत्पादन बढी हुने गरेको ढुङ्गानाले जानकारी दिए। उनका अनुसार जिल्लामा प्रतिघार २५ दशमलव ६ किलो मह उत्पादन हुँदै आएको छ ।

उनले भने, “जोन कार्यक्रममा जोडिएका किसानलाई हामीले सहयोग गर्दै आएका छौँ । उनीहरूमा उत्साह बढेको छ ।” यहाँ उत्पादित महको मुख्य बजार चितवनसहित बुटवल, काठमाडौँ र पोखरालगायत सहर रहेका छन् । यहाँ मेरीफेरा र सेरेना जातको मौरी पालन भइरहेको छ । जोनबाट वार्षिक तीन सय चार दशमलव ६४ मेट्रिकटन मह उत्पादन हुँदै आएको ढुङ्गानाले जानकारी दिए ।

 

प्रकाशित समय : १०:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु