global ime bank Long Banner Ad

गृहपृष्ठ महोत्तरीमा झुला पर्व सुरु

महोत्तरीमा झुला पर्व सुरु

महोत्तरीमा झुला पर्व सुरु

महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–७ मा अवस्थित प्रसिद्ध लक्ष्मीनारायण मठमा परम्परागत रुपमा मनाइँदै आएको पौराणिक झुला पर्व बुधबार रातिदेखि सुरु भएको छ । आउँदो पूर्णिमा दिनसम्म मनाइने झुला पर्वका अवसरमा लक्ष्मीनारायण मठ मटिहानीबाट प्रत्येक दिन साँझपख कलात्मक पालकीमा बाजागाजाका साथ भगवान रामसीताको मूर्ति राखी भजनकीर्तन गर्दै झुलाघरमा लगिन्छ भने अबेर रातिसम्म झुला झुलाइन्छ ।

महोत्तरीको लक्ष्मीनारायण मठ, धनुषाको जनकपुरधामस्थित राममन्दिर र जानकी मन्दिर, सर्लाही, सिराहा, सप्तरी र भारतको तिरहुत क्षेत्र विहारका विभिन्न मठ मन्दिरमा झुला पर्व धुमधामका साथ मनाइने परम्परा छ । झुला घरमा रामसीताको मूर्ति राखी धार्मिक गीत र भजनकीर्तनका साथ राति अवेरसम्म झुला झुलाउने गरिने लक्ष्मीनारायण मठ मटिहानीका महन्थ जगन्ननाथ दास वैष्ण्वले बताए । भगवान रामसीता साउन महिनामा यसैगरी झुला झुलेको सम्झना गर्दै झुलनोत्सव मनाइने गरिन्छ । सो झुलाको अवसरमा मटिहानीमा मेलाको आयोजना गरिएको छ । मेला हेर्न र भगवान रामसीताको भुलनोत्सवमा सहभागी हुन प्रत्येक दिन साँझदेखि अबेर रातिसम्म नेपाल भारतका श्रद्धालुको घुइँचो लाग्छ ।

सांस्कृतिक परम्पराका रुपमा मनाइने यो पर्वमा झुलाका लागि सिंहासनको निर्माण गरी सजाइएको गद्दीमा रामसीता लक्ष्मीनारायण लगायतका मूर्ति बाजागाजाका साथ झुलाउने परम्परा छ । मिथिला क्षेत्रमा कृषि रोपाइँ सकिने वित्तिकै झुला पर्वको रौनक सुरु हुन्छ । प्रत्येक मठ मन्दिरमा कजरी र मलार जस्ता गीतको स्वरलहरी सुनिन्छ । झुलाका समयमा गाउँघरका र वरपरका श्रद्धालुहरु जम्मा हुने भनजकीर्तन गर्ने नाचगान र रामलीला गरेर मध्यरातसम्म जाग्राम बस्ने चलन छ ।

झुला पर्व त्रेतायुगदेखि नै प्रारम्भ भएको मानिन्छ । सन्यासीले आफ्ना आराध्य खेलाइ झुलाउने परम्परा छ । वृन्दावनमा पनि यो झुला कृष्णलीलाका रुपमा मनाइन्छ । पन्ध्र दिनसम्म चल्ने यस झुला पर्वको अवसरमा मटिहानीको घर–घरमा पाहुनासमेत आउने र झूला पर्व तथा मेलामा सहभागी हुने गर्दछन् । मटिहानीमा यसपाली मेला आयोजना गरिएको छ ।

 

प्रकाशित समय : १५:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु