गृहपृष्ठ काठमाडौँ विश्वविद्यालय र एम्बिसन गुरुबीच सहकार्य
काठमाडौँ विश्वविद्यालय र एम्बिसन गुरुबीच सहकार्य
देशभरका विद्यालय तथा शिक्षकहरूको क्षमता अभिवृद्धि गर्न काठमाडौं विश्वविद्यालय अन्तर्गतको स्कुल अफ एजुकेशन र ई-लर्निङ प्लेटफर्म एम्बिसन गुरुबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
शिक्षण पेसा गरिरहेका र शिक्षक बन्न इच्छुक व्यक्तिहरूको क्षमता अभिवृद्धि साथसाथै उनीहरूको सशक्तिकरण गर्ने उद्देश्यले विभिन्न प्रशिक्षण पाठ्यक्रमहरू तयार गरि कक्षा सञ्चालनको सहकार्य गर्ने सहमति भएको हो ।
शिक्षकहरूलाई नवीनतम उपकरण र विधिहरूसँग परिचित गराएर शिक्षाको गुणस्तर उकास्ने लक्ष्य सहित दुई शैक्षिक संस्थाहरूबीच हस्ताक्षर भएको हो ।
काठमाण्डौं विश्वविद्यालयका अशोसिएट डीन प्रकाश भट्टराईले भने,’काठमाडौं विश्वविद्यालयले निरन्तर सिकाइका लागि परामर्श दिनुका साथै देशभरका विद्यालय तथा सिकाइ केन्द्रमा आधारित व्यावसायिक विकास क्रियाकलापहरू मार्फत देशभरका शिक्षकको क्षमता विकासमा सहयोग गर्नेछ ।’
यो सहकार्य अन्तर्गत काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशनले आवश्यकता अनुरुप मूल्याङ्कन उपकरणहरूको विकास, शिक्षक व्यावसायिक विकास पाठ्यक्रमको डिजाइन, शिक्षणशास्त्रमा सूचना प्रविधिको सम्भावनाहरूको खोजी, व्यावसायिक शिक्षक प्रशिक्षकहरूको नियुक्ति, विभिन्न कार्यशाला सहजीकरणका लागि पाठ्यक्रम विकास, र शिक्षक तथा नेतृत्वकर्ताहरूको अभ्यासमा निरन्तर अनुगमन तथा व्यवस्थापन लगायतको काम गर्नेछ । साथै यस कार्यक्रमका लागि देशका विभिन्न स्थानबाट फरक फरक समुदायहरूको सहभागिताको पनि सुनिश्चितता गर्नेछ ।
प्रकाशित समय : १९:०१ बजे



















