गृहपृष्ठ पुष्पलाल अध्ययन केन्द्र भवन ओझेलमा

पुष्पलाल अध्ययन केन्द्र भवन ओझेलमा

पुष्पलाल अध्ययन केन्द्र भवन ओझेलमा

नेपाली कम्युनिष्ट आन्दोलनका संस्थापक पुष्पलाल श्रेष्ठका कालजयी विचारको अध्ययन–अनुसन्धान गर्ने सोचका साथ निर्माण गरिएको पुष्पलाल अध्ययन केन्द्र भवन ओझेलमा परेको छ ।

नेपाली कम्युनिष्ट आन्दोलनको जग बसाल्दै पुष्पलालले अघि सारेका दर्शन र सिद्धान्तलाई जीवन्त राखी भावी पुस्तालाई हस्तान्तरण गर्ने मुख्य लक्ष्यका साथ निर्माण गरिएको भवन पूर्ण रूपमा सञ्चालनमा आउन नसक्दा ओझेलमा परेको हो ।

पोखरा महानगरपालिका–२१ फेदीपाटनस्थित पोटेरामा पाँच वर्षअघि निर्माण सम्पन्न सुविधासम्पन्न भवन अन्य अत्यावश्यक संरचनाको अभावमा सञ्चालनमा आउन नसकेको पुष्पलाल अध्ययन केन्द्रका अध्यक्ष एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) स्थायी समिति सदस्य खगराज अधिकारीले जानकारी दिए ।

उनका अनुसार तत्कालीन जहानियाँ राणा शासनका विरुद्ध आवाज उठाउँदै नेपाली जनताको स्वतन्त्रताका पक्षमा कम्युनिष्ट विचारधारालाई अघि बढाएका पुष्पलालका विचारलाई जीवन्त राख्ने उद्देश्यका साथ स्थापना गरिएको हो ।

अध्ययन केन्द्रले करिब १० लाख लागतमा खरिद गरिएको आठ आना जग्गामा सङ्घ र स्थानीय सरकारसहित विभिन्न सङ्घसंस्था एवं व्यक्तिको आर्थिक सहयोगसहित एक करोड ५० लाख लागतमा भवन निर्माण गरेको हो ।

गण्डकी प्रदेशका मुख्यमन्त्रीसमेत रहएका अधिकारीले भने “तीनतले पक्की भवनमा ई पुस्तकालय, तालिमकक्ष, पुष्पलालका सम्बन्धमा अध्ययन–अनुसन्धान तथा खोजी गर्ने संस्था तथा व्यक्तिका लागि आवश्यक नवीन प्रविधिसहितको वातावरण तयार गरिएको छ ।

पुष्पलालको ४६औँ स्मृति दिवसका अवसरमा नेकपा (एमाले) पोखरा महानगरपालिकाद्वारा सोही भवनमा आयोजित प्रवचन गोष्ठीमा बोल्दै उनले यस क्षेत्रको करिब एक सय रोपनी सार्वजनिक जग्गाको संरक्षण गर्दै जननेता मदन भण्डारीलगायत नेताहरूको सालिक निर्माणसहित पुष्पलाल बाटिका विकास गर्ने अध्ययन केन्द्रको लक्ष्य रहेको बताए ।

अध्ययन केन्द्रका लागि पहिलो आवश्यकता पोखरा–१७ र २१ जोडने फुस्रेखोलामाथि पक्की पुल भएको बताउँदै उनले डिपिआरअनुसार पुल निर्माण गर्न ४९ करोड लाग्ने जानकारी दिए । पुल निर्माणसँगै अध्ययन केन्द्रसहित स्थानीय बासिन्दाका लागि यातायातको पहुँच सहज हुनेछ ।

कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य एवं महानगर इन्चार्ज कृष्ण थापाले नेपाल कम्युनिष्ट पार्टीमार्फत जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ पुष्पलालले २००६ साल वैशाख १० गते नेकपाको स्थापना गरेकोे बताए ।

अर्का केन्द्रीय सदस्य एवं अध्ययन केन्द्रका महासचिव भीमबहादुर कार्कीले पुष्पलालले विश्व कम्युनिष्ट घोषणापत्रलाई नेपालीमा अनुवाद गरी प्रकाशन गरेपछि नेपालमा कम्युनिष्ट आन्दोलनको बिजारोपण भएको स्पष्ट पारे ।

एमाले पोखरा महानगर कमिटी अध्यक्ष जीवन आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी जिल्ला कमिटीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीलगायतले नेपाल कम्युनिष्ट पार्टी स्थापनामा पुष्पलालको योगदानका बारेमा चर्चा गरे ।

प्रकाशित समय : १२:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु