global ime bank Long Banner Ad

गृहपृष्ठ मादीमा ‘चारलेन’ पुल धमाधम निर्माण हुँदै

मादीमा ‘चारलेन’ पुल धमाधम निर्माण हुँदै

मादीमा ‘चारलेन’ पुल धमाधम निर्माण हुँदै

मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत मादी नदीमा चारलेनको पुल धमाधम निर्माण भइरहेको छ । व्यास नगरपालिका वडा नं ४ र ५ जोड्ने मादी नदीमाथि निर्माण भइरहेको पुलको काम हालसम्म ३० प्रतिशत सकिएको मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) ले जनाएको छ ।

पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले तीन सय १५ मिटर लामो पुल तीन वर्षभित्र सम्पन्न गर्ने गरी निर्माणकार्य भइरहेको जानकारी दिए । उक्त पुलका छवटा स्पान हुनेछन् । सन् २०२२ अगष्ट ११ मा पुल निर्माणका लागि रु एक अर्ब २१ करोडमा ठेक्का सम्झौता भएको थियो ।

इन्जिनियर पाण्डेका अनुसार पृथ्वी राजमार्गमा सबैभन्दा लामो ‘आर्क डिजाइन’ को उक्त पुल चारलेनको हुनेछ । हाल नदीमाथि रहेको दुईलेनको तीन सय ७० मिटर लामो पुल छ । सोही पुलभन्दा करिब ५० मिटरको दूरीमा नयाँ पुल निर्माण भइरहेको हो ।

निर्माण कम्पनी जेडआइष्ट अन्नक जेभीका प्रतिनिधि दिनेश श्रेष्ठले अहिलेकै गतिमा काम अगाडि बढे निर्धारित समयभन्दा अगाडि नै पुल निर्माण हुने विश्वास व्यक्त गरे । पुल निर्माणका लागि राति ३० जना र दिउँसो एक सयभन्दा बढी कामदार परिचालन गरी दुई सिफ्टमा काम भइरहेको जानकारी दिए ।

मुग्लिन पोखरा सडक योजनाको पूर्वी खण्डअन्तर्गत आँबुखैरेनीदेखि जामुनेसम्म १३ पुल निर्माण भइसकेका छन् । ठूला पुलमध्ये दमौलीको मादी नदी, बुल्दी खोला, बन्दीपुरको नाला र आँबुखैरेनीको खानी खोलामा पुल निर्माणकार्य जारी छ ।

इन्जिनियर पाण्डेले पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएकामा हालसम्म ६२ प्रतिशत सम्पन्न भएको छ । यहाँ चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले काम गरिरहेको छ ।

विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा चारलेनको सडक बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको ठेक्का सात अर्ब ४० करोड ४६ लाखमा लागेको छ ।

 

प्रकाशित समय : ११:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु