काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

नख्खु करिडोरमा टिपर गुड्दा स्थानीयलाई सास्ती

2.95K
shares

ललितपुर महानगरपालिका–१३ कुसुन्तीको नख्खु खोला करिडोरमा रातभरि टिपर गुड्दा स्थानीयले निन्द्रा नपर्ने गुनासो गरेका छन् । लालितपुरको टीकाभैरवको ढुङ्गाखानीबाट सञ्चालन हुने टिपरका कारण ललितपुर–४ नख्खु खोला पुलबाट रानेबुसम्म बस्तीका बासिन्दा टिपरको कारण समस्यामा परेका हुन् ।

अन्य ठाउँमा पक्की सडक भए पनि नख्खु खोला करिडोरको करिब दुई किलोमिटर सडक पक्की छैन । पक्की सडक नहुनु र बस्तीछेउबाट रातभरि टिपर गुड्दा आफूहरूले सास्ती भोगिरहेको स्थानीय बताउँछन् ।

बस्ती छेउबाट टिपर गुडाउनलाई सडक पक्की र व्यवस्तित गरिदिन पटक–पटक ललितपुर जिल्ला प्रशासन र महानगरलाई अनुरोध गरे पनि आश्वासनमा मात्र सीमित रहेको ललितपुर–१३ का वडाध्यक्ष गणेश केसीले बताए ।  “बस्ती छेउबाट करिब पाँच सयभन्दा बढी टिपर रातभरि गुड्छन् । स्थानीयले रातभरि निद्रा नपर्ने गुनासो गर्दै आएका छन् । बिहानपख बस्ती धुलैधुलोले भरिएको देखिन्छ ।”

उपत्यकाको बागमती नदी करिडोरसहित अन्य नदीको करिडोर व्यवस्ति भए पनि नख्खुखोला करिडोर अस्तव्यस्त रहेको वडाध्यक्ष केसीले बताए । बस्ती छेउबाट टिपर गुड्ने सडक व्यवस्थित गर्नका लागि स्थानीयले आन्दोलन गरेर सडक बन्द गरे पनि कुनै सुनुवाइ नभएको भनाइ छ ।

२०७२ को भूकम्पलगत्तै बस्ती छेउबाट टिपर गुड्न सुरु भएकोभन्दै हालसम्म पनि सडक व्यवस्थित नहुँदा स्थानीयले सास्ती खेपिरहेको रामनारायण महतोले बताए । उनले दुःखेसो पोख्दै भने, “धुलो र टिपरको चर्को आवाजका कारण हामी रोगी हुन लागिसक्यौँ । करिब पाँच सयभन्दा बढी टिपर रातभरि गुड्दा सडक थर्किन्छ र घर ढल्ने चिन्ताले निन्द्रा लाग्दैन । बालबालिकादेखि ज्येष्ठ नागरिक समस्या छन् । हामीले महानगरमा निवेदन गर्दा, सडक बन्द गरेर आन्दोलन गर्दा पनि पीडा बुझिदिने कोही भएनन् ।”

ललितपुर–१३ कुसुन्तीका प्रतीक गुप्ताले भने, “टिपरको आवाजका कारण रातमा निद्रा पर्दैन । यस्तै भइरहे बालबालिकाको स्वास्थ्य अवस्थामा नकारात्मक असर पर्ने निश्चित छ ।” करिब दुई सयभन्दा बढी घरधुरीले बस्ती छेउको कच्ची बाटोमा टिपर गुड्दा सास्ती खेप्नुपरेको बताउँदै आएका छन् ।

आफ्ना समस्या लिएर अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको कार्यालय पुगेर गुनासो पोख्दा पनि समस्याको सामाधान नभएको स्थानीय बताउँछन् । नख्खु करिडोरमा टिपर गुडाउन बन्द नगरे पनि सडक पक्की र व्यवस्थित गराउनुपर्ने उनीहरुको माग छ ।