काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

ज्याला नपुग्ने भएपछि बगानमै छाडियो कुचो

3.47K
shares

कुचो काट्ने खेतालालाई दिने ज्यालासमेत नपुग्ने भएपछि इलामको चुलाचुली गाउँपालिका–६ साकफाराका किसान महेशकुमार राईले यसवर्ष कुचो बगानमै
छाडे । अम्रिसोको फूल (कुचो)को भाउ नआएपछि बगानमै छाडेको हो ।

कुचो काट्न खेतालालाई दिने ज्याला समेत नपुग्ने भएपछि कुचो  बगानै छाडेका हुन्। उनले भने, “हामी आफैँ सबै काम गर्न सक्दैनौँ, खेतालालाई महँगो ज्यालामा कुचो काट्न लगाउनुपर्ने हुन्छ”, “अहिलेको भाउमा त्यही कुचो बेच्दा खेतालालाई दिने ज्यालासमेत नपुग्ने भएपछि त्यत्तिकै छाडिदिएको हुँ ।”

घर नजिकै रहेको घुमाउने पाखामा फुलेको झण्डै १२ क्विन्टल कुचो नकाटी त्यतिकै छाडि दिएको छ । गत वर्ष सोही बगानको कुचोबाट एक लाख ३२ हजार आम्दानी गरेका अहिले एक पनि आम्दानी गर्न नसकेपछि चिन्तित बनेका छन् ।

“मैले गत वर्ष घुमाउने पाखाबाट १२ क्विन्टल कुचो उत्पादन गरेर प्रतिकिलोग्राम एक सय १० मा बिक्री गरेर एक लाख ३२ हजार आम्दानी गरेको थिएँ”, “तर अहिले भाउ घटेकाले खेतालाको पैसा पनि नउठ्ने भएपछि कुचो काटिएन, कुचो नकाटेपछि  एक रुपैयाँ आम्दानी पनि गरिएन ।” उनले भने ।

करिब ५० रोपनी पाखाबारीमा अम्रिसो खेती लगाएका उनले विगतमा कुचो बेचेर नैघरव्यवहार चलाउँदै आएका अहिले घरव्यवहार चलाउन समस्या पर्न थालेको छ ।

अर्का किसान बुद्धि राईको पनि पीडा उस्तै छ । उनले पनि कुचो बगानमै छाडे । कुचो बगानमै छाडेपछि त्यहाँबाट आउने आम्दानीको स्रोतसमेत बन्द भएको छ । विगतका वर्षमा सरदर १० देखि १२ क्विन्टल कुचो बेच्दै आएका बुद्धिले यस वर्ष भाउ नआएकै कारण बगानमै छाड्न बाध्य भएको सुनाए । कुचो काट्ने खेतालालाई दिने ज्याला कुचो बेच्दासमेत नआउने स्थिति आएकाले कुचो नटिपी बगानमै छाडेको
उनले बताए ।

महेशकुमार र बुद्धि त्यहाँका प्रतिनिधि किसानमात्र हुन् । उनीजस्ता त्यहाँका १५ घर बढी किसानले यस वर्षको कुचो नकाटी बगानमै छाडेका छन् । त्यहाँका करिब एक सय क्विन्टल कुचो किसानले माया मारेर बगानमा नै छाडेको अर्का किसान धनबहादुर राईले बाताए ।

आफ्नो परिवारको गुजारा चलाउने माध्यम नै अम्रिसो खेतीलाई बनाएका त्यहाँका प्रायः सबै किसानलाई अहिले कसरी घरव्यवहार चलाउने भन्ने चिन्ताले पिरोल्न थालेको छ । कुचो बगानमै छाड्नु परेको घटना इलामवासीका लागि सम्भवतः यो पहिलो घटना हो ।

गत वर्ष प्रतिकिलो एक सय १० देखि एक सय ३० सम्ममा किनबेच भएको कुचो अहिले प्रतिकिलो ६५ मा मात्र किनबेच भइरहेको छ । यो मूल्य गत वर्षको तुलनामा ५० प्रतिशतले कम हो । जिल्लामा लगाइएको अलैँचीखेती केही वर्षदेखि मासिने क्रम बढेपछि अधिकांश किसानले अलैँची लगाउने ठाउँमा अम्रिसो लगाएका थिए ।

पाखो र भिरालो जमिन भए पनि सप्रने अम्रिसो अलैँचीको वैकल्पिक खेती बन्दै आएको थियो । रोगले अलैँची मासिएपछि अम्रिसो रोपेका किसान कुचोले पनि राम्रो मूल्य नपाएपछि भने चिन्तित बनेका हुन् । अन्नबाली उब्जाउनका लागि सिँचाइ अभाव हुने गरेका अधिकांश किसानले अम्रिसो लगाउने गरेका छन् ।

अम्रिसोखेती इलामका प्रायः सबै पालिकामा हुने गर्दछ । इलाममा उत्पादित कुचो स्थानीय बजारमार्फत झापाको धुलाबारीमा सङ्कलन गरी काकटभिट्टा हुँदै भारत निकासी हुने गर्दछ । इलाममा वार्षिक तीन हजार पाँच सय मेट्रिक टन कुचो उत्पादन हुने तथ्याङ्क छ । कुचो उत्पादन हुने क्षेत्र थपिँदै गएकाले उत्पादनमा समेत वृद्धि हुने व्यापारीहरूको अनुमान छ । घर र कोठा सफा गर्नका लागि कुचो बनाउनदेखि विदेश निर्यात हुँदै आएको छ ।