गृहपृष्ठ संकटमा रहेको अर्थतन्त्रलाई लयमा ल्याउने प्रयासमा थिए : प्रकाशशरण महत
संकटमा रहेको अर्थतन्त्रलाई लयमा ल्याउने प्रयासमा थिए : प्रकाशशरण महत
प्रकाशशरण महतले संकटमा रहेको अर्थतन्त्रलाई अर्थमन्त्रीका हैसियतले आफूले अथक प्रयासका साथ लयमा फर्काउने प्रयास गरेको बताएका छन् ।
आज कांग्रेस केन्द्रीय कार्यालय ललितपुरमा पत्रकार सम्मेलन गरी नेपाली कांग्रेसका प्रवक्ता समेत रहेका डा महतले अर्थतन्त्रका सूचकहरू नकारात्मक नरहेका र यसका लागि आफूले मेहनत गरेको पनि प्रष्ट पारे।
‘मैले अर्थमन्त्रीको जिम्मेवारी सम्हाल्दा मुलुकको अर्थतन्त्रको अवस्था शिथिल थियो, मेहनतका साथ लयमा ल्याएका थियौँ । नेपाल राष्ट्र बैंक, एसियाली विकास बैंक ९एडिबी० र विश्व बैंकलगायतले प्रकाशित गरेका तथ्याङ्कबाट पनि यो स्पष्ट हुन्छ’, उनले भने, ‘अर्थमन्त्रीको जिम्मेवारी लिँदा मूल्यवृद्धि आठ दशमलव पाँच प्रतिशत रहेकोमा अहिले त्यो पाँच प्रतिशतमा सीमित छ ।’
डा महतले अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि मौद्रिक नीति खुकुलो बनाइएकाले पछिल्लो समय बैंकको ब्याजदर घट्दै गएको बताए।
‘कसिलो मौद्रिक नीतिलाई खुकुलो बनाएपछि बैंकको ब्याजदर घट्दो छ भने लगानीको वातावरण पनि बन्दै गएको छ’, उनले भने, ‘अर्थतन्त्र सकारात्मक लयमा रहेका कारण पुँजीबजार, घरजग्गाको कारोबार र पर्यटन व्यवसायले गति लिएको छ ।’ उनले गत आर्थिक वर्षको तुलनामा राजस्व संकलन १० प्रतिशतले बढ्नु सन्तोषजनक रहेको पनि बताएका थिए ।
डा महतले न्यून बजेट विनियोजनमा बहुवर्षीय ठेक्का दिने चलनले बजेटरी प्रणालीमा समस्या सिर्जना गरेको उल्लेख गर्दै राजस्व मुलुक र जनताको प्राथमिकतामा मात्रै खर्च गरिनुपर्छ भन्ने मान्यता स्थापित गरेको बताए। उनले सरकारमा रहँदा सुशासन र मितव्ययितालाई ध्यानमा राख्दै काम गरेको उल्लेख गरे।
प्रकाशित समय : १६:२४ बजे



















