गृहपृष्ठ मुक्तिनाथ बिकास बैंकसहित ६ कम्पनी राष्ट्र बैंकको कारबाहीमा
मुक्तिनाथ बिकास बैंकसहित ६ कम्पनी राष्ट्र बैंकको कारबाहीमा
नेपाल राष्ट्र बैंकले तीन विकास बैंक र तीन फाइनान्स कम्पनीलाई कारवाही गरेको छ।
विकास बैंकहरुमा केन्द्रिय बैंकले सप्तकोशी डेभलपमेन्ट बैंक,मुक्तिनाथ विकास बैंक र नारायणी डेभलपमेन्ट बैंकलाई नियम नमानेको भन्दै कारवाही गरेको छ। यस्तै फाइनान्स कम्पनीहरुमा प्रोग्रेशिभ फाइनान्स,गुडविल फाइनान्स र गुह्वेश्वरी मर्चेण्ट फाइनान्स कारवाहीमा परेका हुन्।
मुक्तिनाथ विकास बैंकले संस्थाबाट व्यक्तिगत तथा सामुहिक जमानीमा प्रवाह भएको विपन्न वर्ग कर्जाका ग्राहकबाट शुल्क लिई खडा गरेको ग्राहक संरक्षण कोषमा जम्मा भएको रकम कम्पनी ऐनको दफा ९३,संस्थाको ग्राहक संरक्षण कोष सञ्चालन कार्यविधि,२०७९ तथा संस्थागत सुशासनको मर्म र भावना विपरीत निर्णय गरी ऋणी ग्राहक सदस्यको सामूहिक हित नहुने अन्य उद्देश्यमा खर्च गरेको पाइएको र उक्त रकम पछि फिर्ता गरेको भनी जानकारी गराएको भएता पनि नीति विपरित ग्राहक संरक्षण कोषको प्रयोगबाट वित्तीय संस्थाका निक्षेपकर्ता र सर्वसाधारणको हित विपरीतको कार्य भएको पाइएकोले सो सम्बन्धी निर्णय प्रक्रियामा संलग्न संस्थाको सञ्चालक समिति, सञ्चालक समितिका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको छ।
सप्तकोशी डेभलपमेण्ट बैंकले संस्थाको समष्टिगत स्थलगत निरीक्षणको क्रममा संस्थाका स्वतन्त्र सञ्चालकलाई निजको पहिलो कार्यकाल समाप्त भएपश्चात् समेत निज स्वतन्त्र सञ्चालककैे हैसियतमा सञ्चालक समितिको बैठकमा निरन्तर उपस्थित गराई निर्णय प्रक्रियामा सहभागी गराएको र बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १५ को उपदफा (१) मा भएको व्यवस्था विपरित निजलाई दोश्रो कार्यकालका लागि समेत स्वतन्त्र सञ्चालकको रुपमा पुनः नियुक्त गरेको पाईएकोले अब उप्रान्त त्यस किसिमको कार्य नगर्न संस्थाको सञ्चालक समितिलाई सचेत गराइएको छ। साथै,सो कानुनी व्यवस्थासम्मत नहुने गरी दोश्रो कार्यकालका लागि नियुक्त निज स्वतन्त्र सञ्चालकलाई तत्काल हटाई जानकारी गराउन आदेश दिएको छ।
संस्थाको समष्टिगत स्थलगत निरीक्षणको क्रममा यस बैंकले जारी गरेको आधार दर गणना सम्बन्धी कार्यविधि,२०६९ बमोजिम गणना गर्नुपर्ने कर्जाको आधार दरलाई संस्थाको प्रमुख कार्यकारी अधिकृतले यस बैंकको निर्देशन विपरित आफ्नो तजविजले एकै महिनामा पटक पटक कोर बैंकिङ्ग सिस्टममै गई आधार दर परिवर्तन गरेको पाइएको र उक्त कार्यबाट कर्जाको आधार दर सम्बन्धी यस बैंकका पेश हुँदै आएको विवरण समेत यथार्थ नभएको पाइएकाले संस्थाका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराई त्यस्तो कार्य तत्काल बन्द गर्न निर्देशन दिएको छ।
नारायणी डेभलपमेन्ट बैंकले २०८० साउनदेखि असोजसम्मको अवधिमा पहिलो पटक पि ०३,दोश्रो पटक पि ०४ र तेस्रो पटक पि ०५ मा नियामकीय व्यवस्था अनुसार कायम गर्नुपर्ने अनिवार्य मौज्दात रकम कायम नगरेको हुँदा नेपाल संस्थालाई १२ हजार ८४६ रुपैयाँ २८ पैसा नगद जरिवाना गराएको छ।
यस्तै संस्थाको कर्जा–निक्षेप अनुपात २०८० साउनमा पहिलो पटक र भदौमा दोश्रो पटक तोकिएको अधिकतम ९० प्रतिशतको सीमाभन्दा बढी रहेको पाइएकोले संस्थालाई कुल २ लाख ४१ हजार ९२४ रुपैयाँ ०१ पैसा हर्जाना लगाइएको छ।
प्रोग्रेसिभ फाइनान्सले राष्ट्र बैंकको समष्टिगत स्थलगत निरीक्षण र विशेष निरीक्षणबाट संस्थाले महर्जन विजनेश एशोसियट्स प्रा।लि। लाई कर्जा प्रवाह गर्दाको बखत नै कर्जा पूर्णरुपले सुरक्षित हुने सुनिश्चित गर्नुपर्नेमा सामान्यतः बैकिङ्ग क्षेत्रमा चलनचल्तीमा नरहेको धितो मूल्याङ्कन प्रकिया अपनाई जोखिमपूर्ण तवरले कर्जा प्रवाह गर्ने निर्णय गरेको पाइएको र सम्झौता अनुसार सम्बन्धित मालपोत कार्यालयमा धितो सम्पत्ति उपर सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुको लगानीलाई दृष्टिबन्धक मार्फत् सुनिश्चित नगरेसम्म कर्जा पूर्णरुपमा सुरक्षित नरहेकोले त्यस्तो जोखिमपूर्ण लगानीको निर्णयमा संलग्न संस्थाको सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई नसिहत दिइएको जनाएको छ।
गुडविल फाइनान्सले यस बैंकको समष्टिगत स्थलगत निरीक्षण र विशेष निरीक्षणबाट संस्थाले कर्जा प्रवाह गर्दा परियोजनाको पर्याप्त विश्लेषण तथा कर्जा रकमको सुदपयोगिता निश्चित नगरी महर्जन विजनेश एशोसियट्स प्रा।लि। लाई कर्जा प्रवाह गरेको पाइएकोले त्यस्तो कर्जा लगानीको निर्णय गर्ने कार्यमा संलग्न संस्थाको सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई नसिहत दिइएको छ।
गुहेश्वरी मर्चेण्ट बैकिङ्ग एण्ड फाइनान्सले राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशन, २०७९ को निर्देशन नं। ८ को बुँदा नं। ३ को उपबुँदा (४) मा भएको व्यवस्था विपरित संस्थाले आर्थिक वर्ष २०७९÷८० मा तोकिएको सीमा भन्दा अधिक हुने गरी लगानीमा रहेको शेयर बिक्री गरी यस बैंकको नियामकीय व्यवस्था उल्लंघन गरेको पाइएकोले संस्थाका प्रमुख कार्यकारी अधिकृतलाइ सचेत गराई आगामी दिनमा सम्पूर्ण नियामकीय व्यवस्थाहरुको पूर्ण पालना गर्न निर्देशन समेत दिइएको छ।
प्रकाशित समय : १४:१८ बजे



















