गृहपृष्ठ माछापुच्छ्रे बैंकद्वारा नेपाल–भारत–नेपाल Cross Border Transfer सेवा सञ्चालन
माछापुच्छ्रे बैंकद्वारा नेपाल–भारत–नेपाल Cross Border Transfer सेवा सञ्चालन
काठमाडौं। माछापुच्छ्रे बैंक ले आफ्नो मोबाइल बैंकिङ एप MBL M-Smart मार्फत नेपाल–भारत–नेपाल रियल टाइम सीमापार रकम स्थानान्तरण सेवा सञ्चालनमा ल्याएको छ। बैंकका अनुसार यस सेवाले नेपाल र भारतबीच सुरक्षित, सहज तथा तत्काल व्यक्ति–देखि–व्यक्ति रकम स्थानान्तरणको सुविधा उपलब्ध गराउनेछ।
बैंकले जारी गरेको विज्ञप्तिअनुसार भारतमा बसोबास, अध्ययन वा रोजगारी गरिरहेका नेपाली नागरिकहरूले भारतमा उपलब्ध यूपीआई (UPI) सँग सम्बन्धित डिजिटल भुक्तानी एपमार्फत नेपालस्थित आफ्ना परिवारजन वा अन्य लाभग्राहीको बैंक खातामा सहज रूपमा रकम पठाउन सक्नेछन्। यसरी पठाइएको रकम लाभग्राहीको खातामा तत्काल जम्मा हुने भएकाले छिटो, सुरक्षित तथा भरपर्दो रेमिट्यान्स सेवा प्राप्त हुने बैंकले जनाएको छ।
त्यसैगरी, नेपालमा बसोबास गर्ने वा नेपालमा कार्यरत भारतीय नागरिकहरूले पनि MBL M-Smart एपमा उपलब्ध सीमापार रकम स्थानान्तरण सुविधामार्फत भारतमा रकम पठाउन सक्नेछन्।
बैंकले सेवा सञ्चालनका क्रममा सुरक्षा, पारदर्शिता तथा नियामकीय अनुपालनका उच्च मापदण्डलाई प्राथमिकतामा राखेको जनाएको छ। यस पहलले नेपाल र भारतबीचको डिजिटल भुक्तानी तथा रेमिट्यान्स प्रणालीलाई थप सुदृढ बनाउनुका साथै दुई देशबीचको डिजिटल वित्तीय पहुँच विस्तारमा टेवा पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ।
साथै, बैंकले आगामी दिनमा पनि ग्राहककेन्द्रित, सुरक्षित तथा प्रविधिमैत्री वित्तीय सेवाको विस्तार गर्दै डिजिटल बैंकिङ क्षेत्रमा नवीनतम सेवा तथा सुविधा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ।
प्रकाशित समय : १६:५८ बजे



















