गृहपृष्ठ लक्ष्यअनुसार राजस्व उठ्न नसकेर सरकार दबाबमा रहेको अर्थमन्त्रीको दाबी
लक्ष्यअनुसार राजस्व उठ्न नसकेर सरकार दबाबमा रहेको अर्थमन्त्रीको दाबी
अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले चालु आर्थिक वर्षमा निर्धारण गरेको लक्ष्यअनुसार राजस्व उठ्न नसकेको बताएका छन् ।
शुक्रबार अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले राजस्वको दृष्टिकोणबाट सरकार अझै धेरै दबाबमा रहेको बताए ।
राजस्व केही वृद्धि भए पनि लक्ष्यअनुसार उठ्न नसकेको बताउँदै उनले राजस्व संरचनामा परिवर्तनका कारण र लक्ष्यअनुसार उठ्न नसकेको बताए ।
‘अहिले हामी राजस्वको दृष्टिकोणबाट अझै धेरै दबाबमा छौं । राजस्व केही वृद्धि भएको छ । तर हामीले जुन लक्ष्य निर्धारण गरेका थियौँ, त्यो अनुसार हुन सकेको छैन । त्यो नहुनुको कारण एउटा त राजस्व संरचनामा परिवर्तन आइरहेको छ’ उनले भने।
व्यवसायलाई अनलाइन प्रणालीमा ढाल्न नसके सबै किसिमका व्यवसायलाई हेर्न नसकिने उनले बताए ।
आन्तरिक राजस्व कार्यालय र भन्सार कार्यालयले आफूलाई प्रविधिमैत्री बनाउँदै लैजान जरुरी रहेको उनले बताए ।
विद्युतीय सवारीसाधनहरुको आयात इन्धनमुखी सवारीको भन्दा दोब्बर बढी भएकाले पनि भन्सार राजस्व कम उठेको उनको भनाइ छ ।
इन्धनमुखी सवारीसाधनको तुलनामा विद्युतीय सवारीसाधनको भन्सार न्यून राखेकाले पछिल्लो आँकडामा ३४/३५ अर्ब कम भन्सार राजस्व उठेको दाबी गरे ।
प्रकाशित समय : ११:४४ बजे



















