गृहपृष्ठ जापान भूकम्पमा मृत्यु हुनेको सङ्ख्या १०० पुग्यो
जापान भूकम्पमा मृत्यु हुनेको सङ्ख्या १०० पुग्यो
जापानको इशिकावा प्रान्तमा गत सोमबार गएको ७.६ म्याग्निच्युडको भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या बढेर १०० पुगेको छ । भूकम्पमा परी इशिकावामा शनिबारसम्म २११ जना बेपत्ता भएको स्थानीय सञ्चारमाध्यमले स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै रिपोर्ट गरेका छन् ।
यसैवीच भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ११० तथा बेपत्ता हुनेको सङ्ख्या २१० पुगेको एएफपीले जनाएको छ ।
भूकम्पबाट सबैभन्दा धेरै प्रभावित तटीय शहर वाजिमामा ५९ जनाको मृत्युको पुष्टि भएकोे छ । भवन भत्किँदा वाजिमामा करिब १०० व्यक्ति फसेको अपुष्ट विवरणहरू आइरहेका छन् ।
जापान मौसम विज्ञानसम्बन्धी निकाय (जेएमए) ले स्थानीय समयअनुसार शनिबार बिहान ५ः२५ बजे नोटो क्षेत्रमा पुनः ५.४ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ ।
यस क्षेत्रमा शनिबार वर्षाको सम्भावना रहेकोले स्थानीय बासिन्दाहरूलाई सतर्क रहन चेतावनी दिइएको छ ।
जापानको राष्ट्रिय समाचार संस्था (क्योदो) का अनुसार भूकम्पका कारण इशिकावाका पूर्वाधारमा ठूलो क्षति पुगेको छ । स्थानीय समयअनुसार शनिबारसम्म २४ हजार घरधुरीले विद्युत अवरोधको सामाना गर्नुपरेको छ । १४ वटा सहरका ६६ हजार घरधुरी खानेपनी विहीनताको अवस्थामा छन् ।
वाजिमाबाट ३० किलोमिटर पूर्व–उत्तरपूर्वमा केन्द्रित भएको विनाशकारी भूकम्पको अधिकतम तीव्रता ७ रेक्टर रहेको थियो ।
प्रकाशित समय : १६:१८ बजे



















