गृहपृष्ठ मंसिर ७ : दुई उदण्ड अराजकको आतंक
मंसिर ७ : दुई उदण्ड अराजकको आतंक
दुर्गा प्रसाईं र महेश बस्नेत दुवै उदण्ड पात्र हुन् । जसले हाकाहाकी मंसिर ७ को मिति तोकेरै भिड्ने तयारी गरेका छन् । काठमाडौंलाई रणभूमि बनाउने योजना यीनीहरुको छ ।
ब्यानरमा हेर्दा यी दुवैका कार्यक्रम फरक हुन् । दुर्गा प्रसाईं गणतन्त्रविरुद्ध गएर व्यवस्था पल्टाउने आन्दोलनको शिलान्यास गर्दैछन् । महेश बस्नेत सरकारको कुशासनविरुद्ध सडकमा लाखौं उतार्ने उद्घोष गरिरहेका छन् । तर यी दुवै नारा ढोंगमात्रै हुन् । एउटाले व्यवस्था र अर्काेले सरकार ढाल्ने योजना बनाएपनि दुवैले माइतीघरलाई रोजेर एकअर्काविरुद्ध मुडभेठको बाटो समाएका छन् । अर्थात् प्रसाईंविरुद्ध महेश र महेशविरुद्ध प्रसाईं जानुकोमतलब नै एकअर्कालाई तह लगाउनु हो । फलतः दुवैलाई तह लगाउने तयारी सरकारले नगरे काठमाडौंमा रक्तपात मच्चिने पक्का जस्तै छ ।
उदण्डताको पराकाष्टा कस्तो हुन्छ, अहिले महेश र प्रसाईंलाई हेरेपुग्छ । दुवै कोट्याउँदा गन्हाउने अवस्थामा छन् । उनीहरुको बोली, लवज र शैलीको धंगधंगी हेर्दा सामान्य नागरिकलाई पच्नै नसक्ने तल्लोस्तरको छ । तथापी दुवैका आफ्नै समर्थकहरु छन् । तर आफ्नो पक्षमा माहोल बनाउन दुबैले जनतालाई न्याय गर्ने शब्दजाल बुनेका छन् । यर्थात फेरि पनि जनतालाई धोका दिनुभन्दा परको उद्देश्य उनीहरुको छैन । किनकि उनीहरुका नारा नै यति लोकप्रिय छन् कि, जसबाट जनता लठ्ठिनुको विकल्प देख्दैनन् ।
प्रसाईंले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको ब्यानरमा व्यवस्थाविरोधी गतिविधि चलाइरहेका छन् । जसबाट यो व्यवस्था मन नपराएका तत्वहरु आकर्षित छन् । मंसिर ७ को कार्यक्रमलाई उनले नागरिक मुक्ति आन्दोलनको नाम दिएका छन् । मुलतः बैंक, सहकारी र लघुवित्तपीडितहरुको ऋण व्यवस्था पल्टिएकै भोलिपल्ट मिनाहा गर्ने उद्घोषले प्रसाईंका पक्षमा माहोल तानिरहेको छ ।
महेश बस्नेतले भ्रष्टाचार, महंगी, माफियागिरी र सामाजिक सद्भाव एवम् धार्मिक सहिष्णुता भड्काउने विरुद्धको विशेष कार्यक्रम भनेका छन् । हेर्दा सरकारविरोधी देखिएपनि उनको यो कार्यक्रम प्रसाईंविरुद्ध भएको बुझ्न कठिन छैन । किनकि प्रसाईं र महेश विरुद्धको द्वन्द्व त्यतिबेला उत्कर्षमा पुग्यो, जतिबेला काठमाडौंको जमलमै युवा संघले प्रसाईमाथि कालोमोसो दल्यो । त्यसको केहीदिनपछि झापामा प्रसाईं समर्थकले महेश बस्नेत पक्षधरका गाडीमा तोडफोड गरिदिए । दुवैपक्षले एकअर्काविरुद्ध ‘हेट स्पीच’ दिइरहेका बेला प्रसाईंले काठमाडौंलाई केन्द्रीत गरि मंसिर ७ मा कार्यक्रमको घोषणा गरे । त्यसलाई टक्कर दिन महेश समूहले सोही दिन सोही स्थानमा काउण्टर कार्यक्रम घोषणा गरिदिए । फलतः अहिले मुडभेठको अवस्था बनेको छ । झन शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीले युवा संघको कार्यक्रमलाई अपनत्व लिएर प्रसाईंसँग जुध्न खुला गरिदिएपछि माहोल झन भड्किएको छ ।
अब यो विषय सरकारका लागि चुनौती बनेको छ । दुवै अराजकहरुको बीचमा पिसिएर शान्ति सुरक्षा खल्बलिए त्यसको नैतिक जिम्मेवारी सरकारले पनि उठाउनुपर्नेछ । फलतः गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालकोटकै बार्दलीमा ओलीसँग भेट गरे । कार्यक्रम फिर्ता लिन अनुरोध गरे । ओलीको ठाडो अस्विकार खाएपछि फर्किएको स्रोत बताउँछ । यता प्रसाईं समूहले कफ्र्यु लगाएपनि, निषेध गरेपनि जुध्ने निधो गरेको छ । यसले मुडभेठभन्दा परको अवस्था देखिँदैन । यसलाई सुरक्षाकर्मीले थेग्न सक्छन् कि सक्दैनन् भन्ने प्रश्नमाथि बाँकी छ।
जिम्मेवारीका हिसाबले एमाले प्रतिपक्ष हो, सरकारलाई खबरदारी र गलत कामका विरुद्ध प्रतिवाद गर्नुउसको दायित्व हो । यही बीचमा कपटीपूर्ण तरिकाले नागरिकता विधेयक पास भयो । जघन्य अपराधीले आममाफी पाए । राष्ट्रपति र सरकारको मिलिभिगतमा संविधानकै धज्जीया उडाइयो । यसका विरुद्ध द्रविलो खरदारी गर्नु पर्ने प्रतिपक्ष एक मामुली पात्रको कार्यक्रम विथोल्ने अभियानमा छ । यसैपनि सरकारका विरुद्ध कसैले आन्दोलन गर्छ भने प्रतिपक्षले त्यसको समर्थन गर्ने चलन छ । अहिले प्रसाईंले थालेको नागरिक मुक्ति आन्दोलन पनि मुलतः सरकारविरोधी अंश हो । अर्थात् यो आन्दोलनको समर्थन मान्यता अनुसार एमालेले गर्नुपथ्र्याे । तर एमाले सरकारलाई छोडेर प्रसाईंको प्रतिवाद गर्न उत्रिएको छ । किनकि सरकार र प्रमुख प्रतिपक्ष एउटै डुंगामा तैरिरहेका छन् । फलतः प्रतिपक्षको भूमिका पनि यीनै उदण्ड प्रसाईंले खेलिरहेका छन् । सबैलाई हायलकायल बनाउने ठेक्का नै प्रसाईंले उठाएका छन् । तर जनताले प्रसाईंको चर्काे स्वर सुनेपनि मौन स्वार्थलाई बुझेका छैनन् । दुर्गा प्रसाईंलाई राजसंस्थासँग केही मतलब छैन । उनी व्यक्तिगत स्वार्थका लागि राजसंस्था र धर्मको प्रयोग गर्न खोजिरहेका छन् । राजावादीहरु पनि प्रसाईंले धक्का दिइरहेकै बेला बल लगाउँदा व्यवस्था पल्टिहाल्छ कि ? भन्ने स्वार्थमा छन् । तर भिडन्त मच्चियो भने उही गरिब जनता पिल्सिनेछन् । जो ऋण मिनाहाको लोभमा कसैको समर्थन र विरोध गरिरहेका छन् ।
यद्यपी यसलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितका सत्तावादीले गणतन्त्र मास्ने चलखेलका रुपमा बुझेका छन् । प्रचण्डले आत्तिएर गणतन्त्र मास्ने खतरा बढेको अभिव्यक्ति नै दिए । जसले प्रसाईं जस्ता मामुली तत्वसँग सत्ता पनि तर्सिएको अर्थ लाग्छ ।
मेडिकल माफियाको परिचय बनाएका दुर्गा प्रसाईंलाई पछिल्लो समय केही सम्मान दिएर मेडिकल व्यवसायीसम्म भन्न थालिएको थियो । एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई आफ्नै घरमा बोलाएर मार्सी चामलको भात खुवाएपछि उनी झनै चर्चामा आए । यसको उद्देश्य नेकपा बनाउनु थियो भन्ने उद्घोष प्रसाईंले गरेपनि मेडिकल कलेजका लागि सम्बन्धन माग्न उनी यो सब गरिरहेका थिए । तर डा. गोविन्द केसीको अनसनपछि ओली–प्रचण्ड उनलाई सम्बन्धन दिनबाट पछि हटे । फलतः मार्सी चामलको भात खाने दुष्ट र भात ख्वाएर फल नपाएका रुष्टबीचको सम्बन्ध झन चिसियो । प्रचण्डको पाउ मोल्न छोडेर ओलीको कित्तामा उभिएका प्रसाईं एमालेको नेता बने । गत मंसिर ४ को चुनावमा टिकट पाउने पुरापुर विश्वासमा थिए प्रसाईं । टिकट पाएको भए अहिले ओली बाउका दुई छोरा भएर प्रसाईं र महेशले कुम जुधाँएर हिड्ने थिए । तर ओलीले टिकट नदिएपछि भड्कीएर मेची पुलमा पूर्वराजालाई उतारेका प्रसाईं अहिले व्यवस्था विरोधी बनेका छन् भने टिकट पाएर पनि हारेका महेश उनकै विरुद्ध खनिएका छन् । त्यसैले मंसिर ७ पनि एक स्वार्थको लडाइँमात्रै हो । न यसले व्यवस्था पल्टिन्छ, न चिहानबाट मसानहरु उठ्छन् । बरु गोरु ब्याउँछ र बिगौती खाउँला भन्दै बसेकाहरुको बिल्लिबाठ हुने पनि पक्कापक्की छ ।
प्रकाशित समय : ०९:०० बजे