पत्नीलाई खाल्डोमा पुरेपछि खोजीदिन माग गर्दै प्रहरीमा निवेदन
वि.सं.२०८० कात्तिक २२ बुधवार ०६:५२
shares

‘सर, मेरी पत्नी सम्पर्कविहीन भइन्, खोजतलास गरिपाऊँ ।’ काठमाडौँको नाङ्लेभारे स्थित प्रहरी चौकीमा २०८० जेठ २३ मा एकजना युवक पत्नी हराएको निवेदन लिएर पुगे । तिनै युवकले असार १० मा प्रहरी प्रभाग साँखुमा अर्को निवेदन दिँदै भने–‘मेरी पत्नी खोजी गरिपाऊँ ।’
काठमाडौँको शंखरापुर नगरापालिका वडा नम्बर–१ घर भएका ३३ वर्षीय लालु विकले दिएको सूचनाको आधारमा प्रहरीले अनुसन्धान थालिसकेको थियो । लालुकी पत्नी २८ वर्षीया गोपी बिक बेपत्ता भएको सूचना झुटो थिएन । तर, पत्नी खोज्न निवेदन दिने लालु पाँच महिनापछि तिनै पत्नीको हत्या आरोपमा पक्राउ परेका छन् । पत्नीको हत्या गरेर प्रहरीमा खोजतलासको निवेदन दिएर लालु भारत भागेको र फर्केर आएको अवस्थामा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले बताए ।
जेठ १९ मा बिहान ६ बजे सामान्य घरायसी विवादमा लालुले पत्नीको हत्या गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । हत्यापछि बोरा डबल बनाएर भोलिपल्ट उनले शव व्यवस्थापन गरेका हुन् । मोटरसाइकलमा शव बाँधेर घरभन्दा पर देउराली जंगलमा लगेर उनले शव गाडे । देउराली सामुदायिक बनमा उनी गोल पोल्थे । आफैँले गोल पोल्ने गरेको खाल्डोमा शव पुरेको बयान दिएपछि प्रहरी वृत्त बौद्धका डिएसपी राजु पाण्डे नेतृत्वको टिमले शव उत्खनन गरेको छ । सामुदायिक बनमा ५ फिट गहिरो ठाउँबाट बोरामा प्याक गरेको अवस्थामा सडेगलेको शव उत्खनन गरिएको एसपी ढुंगेलले जानकारी दिए । शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरिएको छ ।
जेठ १९ मा बिहान धानको ब्याड राख्न जाने विषयमा उनीहरूको बिचमा विवाद हुँदा लालुले पत्नीलाई टाउकोमा प्रहार गरेको अनुसन्धानबाट थाहा भएको छ ।
























