गृहपृष्ठ अझै समय छ, सच्चिने कि यादवले जस्तै खुकुरी खाने ?
अझै समय छ, सच्चिने कि यादवले जस्तै खुकुरी खाने ?
नेपाली काँग्रेसका नेता महेन्द यादवमाथि बुधबार मध्यदिनमै खुकुरी प्रहार भयो ।पार्टीको सहमहामन्त्री रहेका उनलाई काठमाडौैंको भृकुटीमण्डपस्थित रिपोर्टस् क्लबमा भाषण सकेर निस्किए लगत्तै नुवाकोटका श्यामबहादुर सापकोटाले टाउको मुनि खुकुरी प्रहार गरेका थिए । जसबाट सख्त घाइते भएका यादवको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
यादवमाथिको प्रहार कुनै घाउ चोट पुर्याउने वा घाइते बनाउनेभन्दा पनि ज्यानै लिने उद्देश्यबाट प्रेरित थियो ।
तर काठमाडौंको व्यस्त ठाउँमा दिनदाहाडै भएको यो घट्नालाई सामान्य रुपमा हेरिएको छैन । खुकुरी प्रहरी गर्ने व्यक्ति नुवाकोटको विदुर नगरपालिकाका ४७ वर्षिय श्यामबहादुर सापकोटा हुन् । खुकुरी प्रहार गर्ने सापकोटालाई प्रहरीले नियन्त्रणमा लिएको छ । ‘उहाँ अहिले हाम्रो नियन्त्रणमा हुनुहुन्छ ।’, काठमाडौं प्रहरी परिसरका एसपी कुमोध ढुंगेलले भने, ‘के कति कारणले यस्तो भएको हो अनुसन्धान हुँदैछ ।’
प्रहरीले नियन्त्रणमा लिइसकेपछि उनले ‘ले जनता खुकुरी ले देशद्रोहीलाई छप्काईदे’ भन्ने नारा लगाएका थिए । उनको हातबाट प्रहरीले नै खुकुरी खोसेको थियो ।
घट्ना बढो रहस्यमय देखिएको छ । फिल्मी शैलीमा पूर्वनिर्धारित योजना मुताबिक अभियुक्त रिपोर्टस् क्लबमा छिरेको हुनसक्ने आंशका गरिएको छ । रिपोर्टस क्लबमा यादवले भाषण गर्दैगर्दा पत्रकारकै बीचमा कालो झोला बोकेर बसेका सापकोटा बेलाबेलामा यादवको भाषण सुनेर अर्को पट्टी मुख फर्काउँदै हास्ने गरेको देखिन्छ ।
उनले त्यही झोलामा खुकुरी बोकेर छिरेको खुलेको छ । आफुलाई राजावादी बताउने सापकोटो कार्यक्रममा उपरखुट्टी लगाएर खुकुरीक्रस अंकित भादगाउँले टोपीमा ठाटिएर पत्रकारको लाइनमा बसेर यादवको भाषण सुनिरहेका थिए ।
यादवले भाषणमा छिमेकी मुलुक भारत–चीनका कुरा गरिरहेका थिए । त्यो भन्दा पनि चर्काे स्वरमा पार्टीका नेता बालकृष्ण खाँणको पक्षमा वकालत गरिरहेका थिए । नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई फसाइएको सार्वजनिक दाबी यादव गरिरहेका थिए । बालकृष्णका खास मानिने यादवले बचाउमा उत्रिएर बोल्दा कुर्सीमा बसेर भाषण सुनेका सापकोटालाई मन परेको थिएन वा उनी पुरापुर सिध्याउने योजनासहित यादवको पिछ्या गर्दै रिपोर्टस् क्लबसम्म छिरेका थिए । दुबै शंकामा अहिले अनुसन्धान चलिरहेको छ । यादव रिपोर्टस् क्लबमा बोलिसकेपछि पिछ्या गरिरहेका सापकोटाले बाहिर निस्किन नपाउँदै आएर खुकुरी प्रहार गरिहाल्छन् । आपराधिक मानसिकताका उनले मौका छोपेर टाउकोमै खुकुरी प्रहार गरेको थिए । करिब दिउँसोको सवा १ बजेतिर सापकोटाले यादवमाथि खुकुरी प्रहार गरेका हुन् । खुकुरी प्रहार गरेलगत्तै प्रहरीले नियन्त्रणमा लिएपछि उनले एमसीसी खारेज गर, राजसंस्था जिन्दावाद जस्ता नारा लगाएका थिए ।
काठमाडौंको केन्द्रबिन्दु भृकुटीमण्डपमा दिनदाहाडै सांघातिक रुपमा खुकुरी प्रहार हुनुले सुरक्षामाथि समेत प्रश्न उठाएको छ । प्रहरी विटभन्दा झण्डै १०० मिटरभित्र भएको यो खुकुरी प्रहारलाई सामान्य मानिएको छैन । ‘मुलतः यसमा दुई÷तीनवटा कारण हुनसक्छन् ।’, पूर्वडीआईजी केशव अधिकारीले भने, ‘पहिलो त प्रहार गर्ने व्यक्तिको मानसिक अवस्था कस्तो छ त्यसले निर्धारण गर्छ । अर्काे कुरा नेतृत्वको शैली उसलाई मन नपरेको पनि हुनसक्छ । अथवा कुनै व्यक्तिगत रिसिबीका कारण पनि आक्रामण भएको हुनुपर्छ ।’
भृकुटीमण्डप नजिकै झण्डै २ सय मिटरको दुरीमा नेपाली सेनाको हेडक्वाटर जंगिअड्डा छ । भृकुटीमण्डप अगाडी प्रहरीको एउटा टुकडी छ । प्रहरी सुरक्षा घेराभित्रै रहेको ठाउँमा सत्ता घटक दलका ठूला नेतामाथि आक्रमण भएको हो । सापकोटाले यादवमाथि किन आक्रमण गरे भन्ने स्वतन्त्र पुष्टि भएको छैन् । तर अभियान्ता समेत बताउने उनले आफुलाई रिस उठेपछि खुकुरी हानेको प्रहरी समक्ष प्रारम्भिक बयान दिएका छन् ,
फेरि मानव तस्करलाई प्रधानमन्त्री बनाउने ? भन्दै आक्रोश पोखिरहेका थिए । जनतामारा, किसानमारा र मजदुरमारा भन्दै आक्रोश बोलिरहेका थिए । अवस्था यस्तै रह्यो भने अब हाम्रा कुनैपनि नेता सुरक्षित छैनन् । सुरक्षाको घेराभित्र रहेका उनीहरुमाथि नै खुकुरी प्रहार हुनु सामान्य विषय होइन । किनकि नेतालाई जनताले अब नकरात्मक रुपमा देख्न थाले । गलत गर्नेलाई सधैं फुलमाला हुँदैन । यो घट्नाले ‘बुढी मरी भन्दापनि काल पल्कियो’ भन्ने चिन्ता बढाएको छ । तर त्यसैले अझै समय छ, नेता ज्यु तपाईँहरु सच्चिनुस् । जनतामा जमेर बसेको विद्रोहलाई विस्फोट हुन नदिनुस् । नत्र यस्ता कानुनले बर्जित गरेका कार्यहरु अझै बढ्नेछन् । जुन आफैमा घृणित त हुन नै । तर कसले कहाँ आक्रामण गर्छ टुंगो हुनेछैन ।
तर वितृष्णा छ भन्दैमा खुकुरी बोकेर हिड्ने छुट जनतालाई पनि छैन । कसैलाई खुकुरी हानेर मार्ने कुरा कानुनी राजका लागि स्वीकार्य विषय होइन । अब महेन्द यादवलाई खुकुरी हान्ने सापकोटालाई ज्यानमार्ने उद्योगमा मुद्दा चल्नेछ । उनको जीवनका केहीबर्ष जेलभित्रै सड्नेछन् । घट्ना लगत्तै नेपाली काँग्रेसले विज्ञप्ति निकालेर निन्दा गरेको छ । कडा कारबाहीको मागसमेत गरेको छ ।
प्रकाशित समय : ०९:०० बजे


















