गृहपृष्ठ दुर्गममा बाटो छैन, काठमाडौंमा मुख्यमन्त्रीलाई भव्य महल !
दुर्गममा बाटो छैन, काठमाडौंमा मुख्यमन्त्रीलाई भव्य महल !
साँच्चिकै यो देश मुठ्ठीभरका लागि स्वर्ग छ । सातै प्रदेशका प्रदेश प्रमुख र मुख्यमन्त्रीले काठमाडौंमा एकैपटक अंश पाएका छन् । अचम्म मान्नु भयो होइन ? छोराछोरीलाई अंश कसले दिन्छ ? बाउआमाले । तर प्रदेश प्रमुख र मूख्यमन्त्रीले पाएको अंश राज्यले दिएको हो । ‘खप्परमा भए खटियै उपर’ भने जस्तो भागमा भए खाटमाथि बसे पनि लडिलडि आउँछ रे । अहिले मुख्यमन्त्री र प्रदेश प्रमुखहरुलाई पनि लडिलडि आएको छ । उनीहरुलाई सुविधाका नाममा राज्यले दिएको अंशको विकास हेर्दा अझै उदेकलाग्दो छ । निर्माण पनि कति छिटो भएको ? नगरकोटको सडक वर्षौदेखि बन्दैन । दार्चुलामा तुईनको सट्टा नागरिकले एउटा झोलुङगे पुल पाउँदैनन् । नेपाली सेनाले फास्ट ट्रयाकका नाममा जंगल फाड्न थालेको बर्षौ भयो । तर यस्ता फास्ट ट्रयाकलाई पनि उछिनेर माननीयहरु बस्ने आलिसान भवन चार वर्षमै तयार भएको छ । अब हाम्रा प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखसहित उनीहरुका आफन्ती छोराछोरी, सालासाली र आसेपासेहरु यही मुकाममा बसेर मर्निङ वाक र इभिनिङ वाक कालोपत्रे सडकमा निस्किने छन् । त्यो पनि अघि पछि सुरक्षा पहरेदारीसहित । म कुरा गर्दैछु, भैंसेपाटीमा निर्माण भएको मुख्यमन्त्री तथा प्रदेश प्रमुख आवास गृहको ।
एकैछिन आलिशान रुपले ठडिएका यी सेता राता भव्य महलहरु हेर्नुहोस् । राज्यले प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई अंशमा दिएका यी आलिशान बङलाहरु हुन् ।

अब एकैछिन धैर्य गर्दै मुटु थामेर यी दर्दनाक दृश्यहरु पनि हेर्नुहोस्, जसले नेपालको खास वास्तविकता बोल्छ ।
दृश्य नम्बर एक

बाजुराको कोल्टीमा सुत्केरी व्यथाले च्यापेपछि अस्पतालको खोजीमा निस्किएका एक हुल स्थानीयको दृश्य हो यो । न टेक्ने अखेटो छ, न समाउने हाँगो छ । सुत्केरी आमालाई बोकेर स्थानीयहरु आफैँ बाटो बनाउँदै हिडिरहेका छन् ।
दृश्य नम्बर दुई

यी अवोध बालिका जो नदीको भंगालो छिचोल्न जीवन दाउमा लगाएर तुइनको डोरीमा झुण्डिएकी छिन् । शरीर तल छ, डोरी माथि छ । चुड्डियो भने नदीसँगै बग्नुको विकल्प छैन । उनका कलिला नाडी र खुट्टाका पञ्जाहरुले नदी पार गर्न संघर्ष गरिरहेका छन् ।
दृश्य नम्बर तीन

कर्णालीको जुम्लामा नुनको हाहाकार भएपछि डिपो नै तोडफोड गरिरहेका स्थानीयको दृश्य हो यो । हरेक महिना कर्णालीमानुन नपाउँदाको पीर नुनभन्दा चर्को छ ।
अब फेरि फर्कियौं महलतिरै । नागरिक यो खाले कष्टकर जीवन बाँचिरहेका बेला त्यही कर्णाली र त्यही सुदूरपश्चिमसहित सातवटै प्रदेशका प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुले राज्यबाट अंशकै रुपमा जस्तो काठमाडौंमा आलिशान महल पाएका छन् । अब उनका परिवार र आसेपासे यीनै करोडौंका बङलामा बसेर चियाको चुस्कीसँगै दुरदराजका कष्टकर दृश्यहरु ५४ इञ्चको ठूलो रंगिन टिभी अघि बसेर हेर्नेछन् ।

आइतबारमात्रै यसको निर्माण सम्पन्न भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका छन् । श्रीमती, छोराछोरीसहित झिटीगुन्टा बोकेर कति त आवास गृहमा बस्न आइसके ।लाज पनि लजाएर आवासगृहबाटै भागिसक्यो होला, तर हाम्रा प्रदेश प्रमुख र मुख्यमन्त्रीहरु राजनीति गर्नुको फाइदा उठाएर यो चरम सुःखभोगमा प्रवेश गरेका छन् । संघीयता र गणतन्त्र यीनीहरुकै लागि आएको रहेछ । ‘प्रदेशका संरचनाहरु अपुग छन् ।’, गण्डकी प्रदेशमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले भने, केही प्रश्नहरु उठेका छन् । तर सरकारले आवश्यकताकै आधारमा भव्य संरचना बनाएको छ । कति त आवास गृहमा सर्न थाल्नु भएको छ । केही काम बाँकी नै भएकाले हामी सरेका छैनौं ।’
शुरुमा त सामान्य नागरिकलाई यहाँ प्रवेश नै छैन । प्रवेश पाएकाहरुले देख्ने दृश्यहरु कुनै ‘फाइभस्टार होटल’भन्दा कम छैनन् । यहाँ मन्त्रीहरु छिर्न बित्तिकै शुरुमा स्वीमिङ पुल आकारमा निर्माण भएका पानीका फोहराहरुले स्वागत गर्नेछन् ।
भैंसीपाटीको २७ रोपनी १२ आना क्षेत्रफलभित्र फैलिएको आवास गृह झण्डै ८५ करोडमा निर्माण भएको हो । प्रत्येक प्रदेशका छुट्टाछुट्टै सात वटा भवन छन् । एउटा भवनभित्र दुईवटा ब्लक छन् । एउटामा मुख्यमन्त्री र अर्कोमा प्रदेश प्रमुख बस्नेछन् ।जहाँ स्वागत कक्ष, बैठक कक्ष, योग अभ्यास कक्षदेखि भान्सा कोठासम्मको व्यवस्था छ ।

यसै पनि प्रदेशमा मुख्यमन्त्रीहरु बस्दैनन् । यस्ता आलिशान महल केन्द्रीय राजधानीमै तयार भएपछि अब प्रदेश राजधानीमा मुख्यमन्त्रीलाई देख्न पाइने सम्भावना न्यून छ । किनकि त्यसको पनि राम्रै व्यवस्था गरिएको छ । प्रदेशको काम यहीबाट गर्न सकिने गरि सम्पर्क कार्यालयसमेत आवास गृहलाई भनिएको छ ।
संघीयता कार्यान्वयनमै समस्या देखिने गरि राजनीतिक नेतृत्वले आफैलाई प्राथमिकतामा राखेर आफ्नै सुविधा बढाउने काम गरेको गतिलो उदाहरण हो यो ।यसले प्रदेशलाई संघले अधिकार दिएन भन्दै चिच्च्याउनेहरुको पनि मुख बन्द गर्ने विश्वास गरिएको छ । तर प्राथमिकता विर्सिएर यही तरिकाले व्यवस्था र राज्यको ढुकुटी सिध्याउनेतर्फ ध्यान दिने हो भने भोलि ७५३ वटा स्थानीय तहको आवास गृह पनि काठमाडौंमै बनाउन बेर छैन । भलै सुकुम्बासीहरुको व्यवस्थापनमा सरकारको चासो छैन ।
पुल्चोकको मन्त्री क्वार्टर साँधुरो भएपछि भैंसीपाटीकै सैबुमा अर्को सुविधा सम्पन्न मन्त्री भिलेज निर्माण हुँदैछ । जहाँ सरकारका मन्त्रीदेखि, सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष बस्नेछन् । सरकारले मन्त्रीहरुलाई काठमाडौंमा घर दिएर ठूलो उपकार गरेको छ । तर जनताको जीवनस्तर उद्दारका काम बर्षौदेखि अलपत्र छन् । साँच्चिकै यो देश मुठ्ठीभरका लागि स्वर्ग छ भन्ने गतिलो उदाहरण हो यो ।
लाज पनि लजाउने यो विषयमा जतिनै निन्दा गरेपनि कमै हुन्छ । किनकि हिजो यीनै संघीयता ल्याएका हुन् । गणतन्त्र ल्याउनेहरु यीनै हुन् । जनताको जीवनस्तर गरिबीकै रेखामुनि छ । त्यसलाई उकास्ने तर्फ सरकारको ध्यान छैन । केवल सम्भ्रान्त, पुँजीपती र उच्च राजनैतिक ओहदाका वर्गलाई मात्रै यो गणतन्त्र फलिफाप छ । भोलि ७५३ वटै स्थानीय तहका प्रमुखले गाउँ बस्न गाह्रो भयो, काठमाडौंमै आवास गृह चाहियो भन्लान्, बनाईदिने ?
प्रकाशित समय : १२:०० बजे


















