गृहपृष्ठ सिपालु गृह श्रमिकका फेरिएका दैनिकी
सिपालु गृह श्रमिकका फेरिएका दैनिकी
विगत १६ वर्षदेखि श्रीमाया तामाङले भगवान्लाई चढाउन प्रयोग हुने पूजा सामग्री बनाउदैँ आएकी छिन् । उक्त कार्यबाट उनले मासिक ४० हजारसम्म आम्दानी गर्छिन् ।
श्रीमायालाई मासिक ४० हजार कमाउनका लागि नत नियमित कार्यालय धाउन पर्छ नत कसैको नमिठो बचन नै सुन्नुपर्छ । भान्साको काम सकेपछि बचेको समयमा घरमै बसेर भगवान्लाई चढाउने पूजा सामग्री बनाउँदै राम्रो आम्दानी गर्छिन् । श्रीमायाले दैनिक २५ वटासम्म पूजा सामग्री ‘चोप्पेन’ बनाउछिन् । जसलाई उनले प्रतिगोटा ५० मा बेच्दै आएकी छिन् । बौद्धमा बस्ने श्रीमाया उमेरले ५० काटिसकेकी छिन् तर उनीमा चोप्पेन बनाउने जाँगर भने पहिलेजस्तै नै छ ।
श्रीमाया गृह श्रमिक हुँ भन्दा आफूलाई आनन्द आउने बताउछिन् । आफ्नो घरमा बसेर राम्रो आम्दानी भएकोमा उनी खुसी छिन् । श्रीमाया भन्छिन् –जति बेला कोरोनाको कारण मठ मन्दिर र पूजाआजा ठप्प थियो त्यस समयमा भने व्यापार कम थियो अहिले पुरानै लयमा व्यापार फर्किएको छ ।
श्रीमाया आफ्नो कामप्रति खुसी छिन् । “शरीरले सक्दासम्म यही काम गर्छु, धर्म र पैसा दुवै कमाइने । सोह्र वर्ष पहिले काम सुरु गर्दा सबै परिवार यही पेसामा लागेका थियौँ । यसकै आम्दानीले छोराछोरी बढेर विदेश पलायन भए । अहिले म एक्लैले गर्छु तर यस पेसालाई मेरो उच्च सम्मान छ,” श्रीमायाले खुसी हुँदै विगत सुनाइन्।
त्यस्तै काठमाडौँको मूलपानीमा विगत ३० वर्षदेखि सिलाइकटाइको काम गर्दै आएकी मञ्जु गजुरेल पनि गृह श्रमिकको रुपमा काम गर्न पाउँदा दङ्ग छिन् । उनले सुरुमा एक्लै काम थालिन् । अहिले ११ जना गृह श्रमिकको समूहको अगुवाइमा उक्त काम समाल्दै आएकी छिन् । एक्लैभन्दा समूहमा काम गर्दा सहज भएको उनको अनुभव छ । नाम खुलेर भन्न नसक्ने महिला समूहमा आएका थिए । विस्तारै श्रम बेचेर आम्दानीको स्रोत पहिचान गर्न थालेपछि महिलामा आत्मविश्वासबढ्दै गएको गजुलेल बताछिन् ।
“आफ्नो हातमा सीप नहुँदा आर्थिकरुपमा निकै खुम्चिन परेको थियो, अहिले भने आफ्ना लागि कसैसँग माग्नुपरेको छैन, उल्टै परिवारलाई सहयोग गर्दै आएको छु,” खुसीका साथ उनले भनिन् । यद्यपी पछिल्लो समय उहाँलाई चिन्ता थपिएको छ । कोरोनापछि उत्पादन भएका सामग्रीले राम्रो बजार नपाउँदा उनमा चिन्ता थपिएको हो । गजुरेलको समूहले गृह श्रमिकको रुपमा नेपाली दौरा सुरुवाल र साना बालबालिकाको लागि न्यानो कपडा सिलाउँदै आएको छ । उत्पादन गरेको सामग्री न्युरोडमा बिक्री वितरण हुने गरेकोउनी बताउछिन् ।
गजुरेलले भनिन्, “पहिलेजस्तो होइन अहिले बजारमा प्रतिस्पर्धा छ, उत्पादन भएका सामग्री कति बेला घरमा थन्कने र बजार नपाउने हो पत्तो छैन ।” उनले स्थानीय सरकारसमक्ष अनुरोध गर्दै उत्पादन भएका सामग्री बिक्रीको सुनिश्चितता गरिदिए काम गर्ने वातावरण थप सहज हुने आशा व्यक्त गरिन् । गृह श्रमिकले ढुक्कका साथ सामग्री उत्पादन गर्न सक्ने गरी वातावरण बन्दिए हुन्थ्यो भन्छिन्, गजुरेल ।
त्यसैगरी, जोरपाटीमा बस्ने शान्ता कोइरालाले पनि विगत दश वर्षदेखि गृह श्रमिकको रुपमा काम गर्दै आएकी छिन् । उनले स्वागतका लागि प्रयोग गर्ने खादा बनाउने काम गर्दै आएकी छिन् । कोइराला घरमा बसेरै राम्रो आम्दानी हुनेभएपछि घरखर्च चलाउन सहज भएको बताउछिन् । खादा बनाउनका लागि मेहनेत र लगानी धेरै छ त्यसको आधारमा सामग्रीको बजार छैन भन्छिन्, उनी । “लामो समयदेखि गृह श्रमिकको रुपमा काम गरेकालाई सरकारले केही दिन बिरामी भएर बस्दा पनि गाँस बासमा समस्या नहुने गरी थोरै केही आर्थिक व्यवस्था गरिदिए हुन्थ्यो,” उनले स्थानीय सरकारसँग आशा व्यक्त गरिन् ।
गृह श्रमिककै रुपमा बूढानीलकण्ठमा विगत पाँच वर्षदेखि फाइबर माला बनाउने रञ्जु तामाङले भने अन्य गृह श्रमिकले भन्दा फरक कहानी सुनाइन्। प्रयोग भइसकेका फाइबरका झोलाबाट घर सजावटको माला बनाउँदै आएको उनले आफूले उत्पादन गरेका फाइबर मालाले बजार नपाएकोप्रति दिनरात चिन्ता लागिरहेको बताइन् ।
“झोलाबाट माला बनाउन सिक्दा आफूले ऋण खोजेर सिकेको र अहिले बनाउनको लागि पनि उत्तिकै मेहनत गर्नुपर्छ । जति मेहनत गरेर माला तयार गरे पनि किन्ने मान्छेको अभाव छ,” उने भनिन् । तामाङका अनुसार विशेष गरी घर सजावटको लागि बढी प्रयोग हुने उक्त माला बनाउनका लागि कम्तीमा पनि दुई दिनको समय लाग्छ । यसरी तयार गरेको सामग्री सहज बिक्री हुन भने निकै कठिन छ ।
एकल महिला उनलाई मेहनतका साथ तयार गरिएका माला समयमा नै बिक्री नहुँदा दैनिक घर खर्च चलाउन पनि समस्या पर्ने गरेको छ । तामाङ भन्छिन्, “कहिले कहिले चिनजानको साथीभाइबाट मालाको माग हुने गरेको भए पनि व्यावसायिकरुपमा यसले बजार पाउन भने सकेको छैन ।” गृह श्रमिकका सामग्रीको बजारीकरण सहज बनाइदिन उनले सरकारसँग आग्रह गरेका छन् । तयार गरेको लामो समयसम्म पनि माला बिक्री नहुँदा लागत मूल्यभन्दा कममा माला बेच्नुपरेको गुनासो उनले सुनाइन् । तामाङले बजार नपाउँदा १२ सय पर्ने माला पाँच सयमा बेच्दै आएकी छिन् ।
पछिल्लो समय गृह श्रमिक एक्लैएक्लै घरमा बसेरभन्दा पनि श्रमिककै अगुवाइ गर्ने विभिन्न संस्था सवा नेपाल, क्लास नेपाल, होमनेट नेपाल नामक संस्थामा आबद्ध भएर काम गर्दै आएकी छिन् । यसरी काम गर्दा थप ऊर्जा थपिने गृह श्रमिक चन्द्रिका भट्टराईले अनुभव सुनाइन् ।
गृह श्रमिकको अवस्था
अन्तर्राष्ट्रिय श्रम सङ्गठन ९आइएओ० महासन्धि, १७७ का अनुसार गृह श्रमिक भन्नाले रोजगारदाताको कार्यस्थलबाहेक कामदारको घर वा निजले छनोट गरेको स्थानमा बसेर पारिश्रमको लागि श्रम गर्ने व्यक्तिलाई बुझाउँछ । आइएलओले सन् २०१९ मा गरेको अध्ययन अनुसार विश्वभर २६ करोडभन्दा बढी गृह श्रमिक छन् । जसमा तीन कारोड ५० लाखले विकसित देशको प्रतिनिधित्व गर्छन् । यो सङ्ख्या विश्वव्यापी श्रम शक्तिका श्रमिकमध्ये आठ प्रतिशत हो । तीमध्ये १४ करोड ७० लाख महिला छन् ।
नेपालको सन्र्दभमा केन्द्रीय तथ्याङ्क विभागका अनुसार जम्मा श्रम शक्तिको १९ दशमलव दुई प्रतिशत गृह श्रमिक रहेका छन् । जसमा ७० प्रतिशतभन्दा बढी हिस्सा महिला छन् । होमनेट दक्षिण एसियाको अनुमान अनुसार दक्षिण एसियाका भारत, बङ्गलादेश, पाकिस्तान र नेपालमा मात्र छ करोड ७० लाख गृह श्रमिक रहेका छन् ।
गत वैशाखमा होमनेट इन्टरनेस्नलको आयोजनामा काठमाडौँमा गृह श्रमिक सम्मेलन भएको थियो । जहाँ २९ देशका एक सय २७ जना गृह श्रमिक सहभागी थिए । होमनेट साउथ एसियाको क्षेत्रीय संयोजक सृष्टि जोशी मल्लले गृह श्रमिकको थप व्यवस्थापनको पाटो अझै चुनौती रहेको बताइन्।
श्रमिकले मेहनेतका साथ उत्पादन गरेका सामग्रीकोे उपयुक्त बजार व्यवस्थापनको पाटो मिलाउनको लागि सम्बन्ध भएका निकायले ध्यान दिनुपर्नेमा जोड दिइन् । तारकेश्वर नगरपालिकाको उपप्रमुख सृजना बुर्लाकोटीले आफूले नगरपालिकामा श्रम डेक्सको स्थापना गरेको जानकारी दिँदै यसका लागि काठमाडौँ उपत्यकाको अन्य स्थानीय तहसँग पनि समन्वय गरेर गृह श्रमिकको हक हितमा काम गर्ने प्रतिबद्धता जनाइन्।
प्रकाशित समय : १२:३८ बजे



















