गृहपृष्ठ कोशी सरकार संकटमा : बैठक चलाउनुपर्ने उपसभामुख काठमाडौं लागिन्, विश्वासको मत नपाए के होला ?
कोशी सरकार संकटमा : बैठक चलाउनुपर्ने उपसभामुख काठमाडौं लागिन्, विश्वासको मत नपाए के होला ?
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेश सभाबाट विश्वासको मत लिने प्रयोजनका लागि संसद् बैठक बोलाएकै दिन उपसभामुख सिर्जना दनुवार भने काठमाडौं गएकी छन् ।
आज दिउँसो १ बजेका लागि तय भएको प्रदेशसभा बैठकबारे छलफल गर्न बिहान ८ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएर उपसभामुख दनुवार काठमाडौं गएकी हुन् । दनुवार उपचारको बहाना बनाएर काठमाडौं गएको गठबन्धन दलको आरोप छ ।
उनी विराटनगरबाट बिहान साढे ८ बजे यति एयरलाइन्सको विमानमा काठमाडौं गएको विराटनगर विमानस्थल स्रोतले जानकारी दिएको छ ।
उपसभामुख दनुवार प्रदेशसभा बैठकको अध्यक्षता नगरी बिरामी बिदा लिएर काठमाडौं हिँडेपछि अहिले सत्तारूढ गठबन्धनको बैठक बसिरहेको छ ।
मुख्यमन्त्री थापाले प्रमुख प्रतिपक्षी दल एमाले संसदीय दललाई विश्वासको मत दिनका लागि पत्राचार गरेर आइतबार आग्रह गरेका छन् ।
मुख्यमन्त्री थापाले जसरी पनि उपसभामुख वा प्रतिपक्षी दलका अध्यक्ष मण्डलका सदस्य वा ज्येष्ठ सदस्यको अध्यक्षतामा बसेको प्रदेशसभाबाट विश्वासको मत लिने दाउमा छन् भने प्रमुख प्रतिपक्षी एमाले र प्रतिपक्षी राप्रपाले बैठकको अध्यक्षता नगर्ने रणनीतिमा छन् ।
अध्यक्ष मण्डलका जेष्ठ सदस्य एमाले प्रदेशसभा सदस्य मालती सुब्बा हुन् । उनले अब केही दिन बैठकमा उपस्थित हुन नसक्ने निवेदन दिएकी छन् । अध्यक्ष मण्डलमा उनी पछिको ज्येष्ठ सदस्य राप्रपाका अम्बरबहादुर विष्टले पनि अनुपस्थित हुने बताएका छन् । अध्यक्ष मण्डलमा कांग्रेसका इस्राइल मन्सुरी र माओवादी केन्द्रकी गीता तिम्सिना सदस्य छन् ।
आजको बैठकमा अनुपस्थित हुन नेकपा एमाले र राप्रपाले आफ्ना ज्येष्ठ सदस्यहरूलाई निर्देशन दिएका छन् ।
९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्छ । संविधानको धारा १६८ को २ अनुसार गत साउन १६ गते सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर थापा दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका थिए । उनले विश्वासको मत नपाए सोही धाराको उपधारा ३ अनुसार ठूलो दल एमालेका नेता हिक्मतकुमार कार्की मुख्यमन्त्री बन्नेछन् ।
प्रकाशित समय : १०:१२ बजे

















