ऐतिहासिक ज्यामरुककोट पर्यटकीय गन्तव्य बन्दै
वि.सं.२०८० साउन १८ बिहीवार १३:०६
shares

उत्तरतर्फ धौलागिरि, नीलगिरिलगायतका नौ वटा हिमालको लोभलाग्दो दृश्य । दक्षिण फर्कंदा बागलुङको चर्चित धार्मिक तथा पर्यटकीयस्थल पञ्चकोट । । माथितिर गौश्वारा र डोलेको घना जङ्गल र हरियाली । तल्लोपट्टी बेनी बजारको रमणीय दृश्य । शान्त वातावरण, स्वच्छ हावापानीले धेरैको मन फुरुङ्ग हुने म्याग्दीको ऐतिहासिक तथा प्राकृतिक महत्वले युक्त ज्यामरुककोट अहिले आन्तरिक पर्यटकहरुको मनमोहक स्थल बन्दै गएको छ ।
तत्कालीन पर्वत राज्यको प्रमुख सामरिक केन्द्र बनेको ज्यामरुककोट बेनी नगरपालिका–२ मा पर्दछ । थापा र मल्लकालीन विरासत बोकेको ज्यामरुककोटमा अवस्थित ऐतिहासिक र पुरातात्विक महत्वलेयुक्त सम्पदाहरू अहिले पर्यटकका लागि मुख्य आकर्षणका केन्द्र बनेका छन् । समुद्री सतहदेखि एक हजार ६४८ मिटर उचाइमा रहेको करिब ६०० वर्ष पुरानो इतिहासको आँखी झ्याल मानिने ज्यामरुककोटको ऐतिहासिक, पुरातात्विक र पर्यटकीय महत्व उजागर गर्न वडा कार्यालयले पूर्वाधार निर्माण गरेपछि यहाँका सम्पदाहरू विकाससँग जोडिएका हुन् ।
पन्ध्रौँ शताब्दीमा प्रारम्भसँगै थापाहरूले राज्य गरेको ज्यामरुकोटको (खड्गभवानी कोत) परिसरलाई धार्मिक र प्राकृतिक पर्यटकीयस्थल बनाउने उद्देश्यले बेनी नगरपालिका र वडा कार्यालयले पूर्वाधार निर्माणमा तीव्रता दिएको वडाध्यक्ष यामबहादुर कार्कीले बताए । अध्यक्ष कार्कीका अनुसार यहाँ मल्लकालमा प्रयोग भएका अत्यन्त दुर्लभ हातहतियारहरू समेत रहेका छन् ।
सदरमुकाम बेनीबजारबाट छ किलोमिटर टाढा रहेको ज्यामरुककोट पछिल्लो समय पर्यटक र पैदलयात्रीको रोजाइमा पर्ने गरेको छ । दिन प्रतिदिन यहाँ घुम्न पुग्नेको सङ्ख्या बढिरहेको छ । परम्परागत रूपमा बनेका घर, यहाँ बस्ने ब्राह्मण, क्षत्री र दलित समुदायको बोलीचाली तथा सरल व्यवहारले आगन्तुकलाई स्वागत गरिरहेको छ । यहाँबाट देखिने प्राकृतिक दृश्यावलोकन र यहाँको ऐतिहासिक महिमाका कारण यहाँ पुग्ने पर्यटकको मुखबाट ‘आहा ज्यामरुककोट’ शब्द झट्ट निस्कने गर्दछ ।
प्राकृतिक सुन्दरता, गाउँले जनजीवन, आफ्नै रहनसहन र परम्पराले भरिएको भए पनि ज्यामरुककोटको आकर्षक भनेको यहाँबाट देखिने प्राकृतिक दृश्य, ऐतिहासिक कोतघर र गौश्वाराका परम्परागत ढुङ्गेघर नै हुन् । उत्तरतर्फ आँखै अगाडी देखिने सेताम्ये हिमाल, बेनी र बागलुङको शहरी दृश्य, रत्नेचौर, पञ्चकोट, पञ्चासे, मल्लाज, पुलाचौर, ढोल्ठान, ताकम, राँखुलगायत मुस्ताङ र पर्वतका दर्जनौं ग्रामीण क्षेत्रको प्राकृतिक दृश्यावलोकन तथा यहाँका घरका झ्याल र ढोकामा कलात्मक शैलीमा कुँदिएका फूलबुट्टा तथा आकृतिले पर्यटकलाई झनै मोहित बनाउँछ ।
यहाँ पुग्ने पर्यटक गाउँको ढुङ्गेघरले मन लोभ्याएको बताउँछन् । गत शनिबार पोखराबाट ज्यामरुककोट घुम्न पुग्नुभएका विकास सिग्देलले यहाँका घर र प्राकृतिक सुन्दरता देख्दा मनै फुरुङ्ग भएको बताए । “हाम्रोतिर भन्दा यहाँका घर निकै राम्रा लागे । बेनीबाट नजिकै यति राम्रो गाउँ देख्दा मनै रमायो”, उनले भने, “यहाँको प्राकृतिक सौन्दर्य, ज्यामरुककोटको ऐतिहासिक महत्व र स्थानीयको जनजीवन, रहनसहन, स्वागत सत्कारले यहीँ बसिरहन मन लाग्यो ।”
पछिल्लो समय ज्यामरुककोट घुम्न आउने पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको स्थानीय समाजसेवी एवम् व्यापारी भीमबहादुर पौडेलले बताए । उनका अनुसार वर्षाको समय भए पनि गाउँ उक्लने पर्यटकको सङ्ख्यामा कमी आएको छैन । बिदाका दिन त अझ बढी पर्यटकको भीडभाड हुने बेनी नगरपालिका–२ ज्यामरुककोटका अध्यक्ष कार्कीले बताए। “अहिले गाउँमा बर्खाको चटारो छ । पाहुनाहरू आउनुहुन्छ अनि काम सकेर उहाँहरूको स्वागतमा आउँछौँ”, उहाँले भन्नुभयो, “पानी परे पनि रुझेरै आउनुहुन्छ । वर्षाको समयमा पनि पाहुनाको कमी भएको छैन ।”
सदरमुकामबाट नजिक भएकाले पैदलयात्रा गरेर पनि पर्यटक गाउँ पुग्ने गरेको अध्यक्ष कार्कीले बताएका छन् । बेनीबाट करिब एक घन्टाको पैदल यात्राबाट लभ्लीहिल हुँदै ज्यामरुककोट पुग्न सकिन्छ । गाउँको सुन्दरतासँगै यहाँबाट सूर्योदय र सूर्यास्त, पोखरा उपत्यको अवलोकनका साथै हिउँ पर्ने समयमा गौश्वारामा हिउँसमेत खेल्न सकिने उनले बताए ।
पर्यटकहरुका लागि यहाँ होटल तथा होमस्टेहरु रहेका छन् । होटल र होमस्टेमा कोदोको ढिंडो, स्थानीय जातका कुखुराको मासु, गुन्द्रुक, भट्मासको अचार, सिस्नो र मासको दाल, वर्षाको समयमा निगुरो र टुसाको अचार तथा कोदोको रक्सीको स्वाद लिन सकिने उहाँले बताउनुभयो । यहाँको कोसेलीको रूपमा मुलाका चाना, गुन्द्रुक तथा मौसमअनुसार सिस्नो, निगुरो, टुसा तथा भाङ्ग्रो लैजान सकिन्छ ।
गाउँसम्म पुग्ने बाटो कच्ची भएकाले पर्यटकलाई वर्षाको समयमा समस्या हुने गरेको अध्यक्ष कार्कीले सुनाए । वर्षाको समयमा आफ्नै साधन लिएर आउने पाहुनाले साह्रै दुःख पाउछन् । यहाँ आउने बाटो कालोपत्र गर्न आवश्यक छ ।
अध्यक्ष कार्कीका अनुसार ज्यामरुककोटलाई धार्मिक, प्राकृतिक र ऐतिहासिक महत्वको संगमस्थल बनाउने प्रयास गरिएको छ । बेनी नगरपालिका र गण्डकी प्रदेशको पर्यटन मन्त्रालयको सहयोगमा दुई वर्षअघि २१ लाख लगानीमा मन्दिरसम्म पुग्ने ३५० मिटर पदमार्ग र रेलिङ निर्माण गरिएको थियो ।
गत वर्ष नगरपालिकाको पर्यटनतर्फबाट पाँच लाख र वडा कार्यालयको दुई लाख विनियोजित बजेटबाट कोत परिसरमा दुई सय १० मिटर घेराबार, २०० मिटर बाटो ढलान, पटाङ्गीनी निर्माण, नाग थान र मौलो राख्ने गरिएको ज्यामरुकोट क्षेत्र विकास तथा गुठी व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण घिमिरेले जानकारी दिए । “यहाँका ऐतिहासिक सम्पदालाई विकाससँग जोडेर पर्यटन प्रवद्र्धन गर्ने हाम्रो उद्देश्य छ, त्यस अनुरुप नै पर्यटकको आगमन बढिरहेकोले हामी खुसी छौंँ” अध्यक्ष घिमिरेले भने ।
























