काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

आजभोलि खेतमा असारे गीत सुनिँदैन बरु टिकटक बन्छ

5.23K
shares

विगतमा किसान जेठको अन्त्यदेखि साउनको पहिलो सातासम्म रोपाइँ गर्थे । एक महिनाभन्दा बढी दिन रोपाइँमा व्यस्त हुने किसानले आलोपालो (अर्मअर्प) प्रथामा रोपाइँ गर्थे । गाउँ समाजका धेरै परिवार मिलेर एकअर्काको खेतमा सघाउने चलन थियो । यसरी काम गर्दा छिटो काम सकिनुका साथै काम गर्दा सहज र रमाइलो हुन्थ्यो । असारमा खेतमा धान रोपाइँ गर्दा असारे गीत गाउने चलन आजभोलि हराउँदै गएको छ ।

‘रोपरोप रोपन्यारी, हातको बीउ छँदै
काइ नजायइ केही न खाएइ, यो मेरो जीउ छँदै’
‘सली बेल घर बाइगइ, रोपन्यारी पागाकी
मै पड्याकी सबै पड्यौ, दोहोरै सागाकी’

यस्ता गीतलाई देउडा भाकामा धान रोप्दै खेतमा महिलाले गाउने चलन थियो । आजभोलि खेतमा गीत गाउँदै रोपाइँ गर्ने चलन हराएको टीकापुरकी मोतिकला परियारले बताए । “यस्ता भाका विगतमा गाउँघरमा हुने रोपाइँमा सुन्न पाइन्थे । आजभोलि खेतबारीमा काम गर्दा यस्ता गीत सुन्न निकै कम पाइन्छ”, उनले भने, “यस वर्ष गीत नगाएरै रोपाइँ सकियो । हामीले एक साताअघि रोपाइँ सकेका हौँ ।”

हिजोआज पहिलाको जस्तो रोपाइँमा गीत गाउँने, अर्मपर्म गर्ने चलन नभएको देख्दा पहिलाको रोपाइँ धेरै सम्झना आउने मोतिकलाले बताए । उनले असारे गीत र भाका लोप हुँदै गएकामा चिन्ता व्यक्त गरेका छन् । “असारे गीत धेरै लोप भएर गए । यी गीतसँग हाम्रो संस्कृति, परम्परा र चालचलन जोडिएको छ”, उनले भने, “रोपाइँका क्रममा खेतमा गीत सुन्दै, गाउँदै रमाइलो गरिन्थ्यो । कहिले घाम र पानीका बीच कडा श्रम गर्दा पनि गाउँदै, हिलो खेल्दै रोप्दा दिन बितेको पत्तै हुँदैनथ्यो ।”

कैलालीका कल्धरादेवी विकले आजभोलि विगतका जस्तो रोपाइँ रमाइलो नहुने बताए । पहिले जेठानी, देउरानी, छिमेकी र साथीसङ्गी मिलेर रमाइलो गर्दै गरिने खेती आजभोलि नहुने उनको भनाइ थियो । “रोपाइँमा बाउसेले गाउने गीत अलग हुन्छन्, रोपाइँ गर्ने महिलाले गाउने गीत फरक हुन्छन्”, उनले भने, “बाउसे हुन्थे आजभोलि बाउसे अर्थात् खेलका आली बनाउने, खेतका कुनाकानी खन्ने पुरुषको काम छैन । हलो जोतेको देख्न मुश्किलले पाइन्छ । सबैतिर पावर टिलर तथा ट्र्याक्टरले खेत जोतेको देखिन्छ ।”

विगतमा गीत गाउँदै रोपाइँ गर्नेको अभ्यास आजभोलि फेरिएको स्थानीय राधा शर्माले बताए । पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढे्सँगै रोपाइँ गर्दा समेत टिकटक बनाइरहेका धेरै देखिने उनको भनाइ थियो । “अचेल रोपाइँ गर्ने तरिकासमेत बद्लिँदै गएको छ । खेताला जम्मा भएर रापाइँ गर्ने चलन कम हुँदै मेसिनले खेत रोप्ने चलन बढिरहेको छ”, किसान शर्माले भने, “पहिला बिहान ४ बजेदेखि खेतमा पस्थ्यौँ, बाउसेले गाउने गीत फरक हुन्थे, महिलाले गाउने गीत फरक हुन्थ्ये । गीतमार्फत दोहोरी हुन्थ्यो । असारे गीतमा भएका संस्कृति हराउन थालेका छन् ।”

विगतमा रमाइलो गर्दै खेतमा श्रम गर्ने परम्परा आजभोलि असारे गीतसँगै लोप हुन थालेका स्थानीय बताउँछन् । कृषिमा नयाँ प्रविधि भित्रिएकाले जनश्रमको गर्नेको सङ्ख्या कम भए पनि रोपाइँ सहजै सकिने कैलालीकी रिता धामीले बताए । उनका अनुसार खेती गर्न विभिन्न मेसिनरी सामानले समय बचत हुने गरेको छ भने रोपाइँ गर्दासामाजिक सञ्जालमा रमाइलो गर्नेहरु बढेका छन् ।

आजभोलि महिला टिकटक बनाउने, भिडियो बनाउनेजस्ता कार्य गरेर रमाइलो गर्ने गरेका धामीले बताए । “हामीलाई देउडा गाउन आउँदैन, हामीले यस वर्ष रोपाइँ गर्दा टिकटक धेरै बनायौँ’’, उनले भने, “टिकटक बनायौँ, विभिन्नखाले भिडियो बनाएर युट्युबमा राख्यौँ, त्यसमा पनि रमाइलो छ ।”

मानिसले समयअनुसार रमाइलो गर्न जान्नुपर्ने रिताको भनाइ थियो । उनसँगै साथीहरुले रोपाइँको एक महिना खेतमै काम गर्दै टिकटक बनाएर बिताए । “हामीले सबै कामलाई प्रविधिमा जोड्यौँ, रमाइलो गर्दै टिकटक बनायौँ”, उनले भने, “गीत गाउन जानेका छैनौँ, नाचेर रमाइलो गर्दै खेतमा काम ग¥यौँ ।”

संस्कृतिप्रेमी तुलसी देवकोटाले खेती गर्ने अभ्यासमा समाजका संस्कृति र परम्परासमेत जोडिएकाले नयाँ प्रविधिको प्रयोगसँगै पुराना संस्कृति र परम्पराकोसमेत संरक्षण गर्नु आवश्यक रहेको बताए । “नयाँ प्रविधि भित्रनु नराम्रो होइन”, उनले भने, “हाम्रो संस्कृति र परम्परासँग जोडिएका कला, साहित्य र संस्कृति संरक्षण आवश्यक छ । टिकटक बनाउँदा पनि असारे देउडा गाएर बनाउन सकिन्छ भन्नेतर्फ ध्यान दिनुपर्छ ।”