गृहपृष्ठ महाकाली सिंचाइ तेस्रो चरण : मूल नहरमा पानी परीक्षण गरिँदै
महाकाली सिंचाइ तेस्रो चरण : मूल नहरमा पानी परीक्षण गरिँदै
निर्माणाधीन महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत मूल नहरमा पानी छाडेर परीक्षण गरिने भएको छ। भीमदत्त नगरपालिकाको ब्रह्मदेवबाट शुक्लाफाँटा नगरपालिकाको फुलेली घरकटुवा खोलासम्मको मूल नहर परीक्षण गरिन लागेको हो।
शुक्रबारदेखि एक साता ब्रह्मदेवबाट २८ किलोमिटर फुलेलीसम्मको मूल नहरमा पानी छाडेर परीक्षण गरिने आयोजनाका निर्देशक रणबहादुर बमले जानकारी दिए।
‘भारतसँग नहर परीक्षणका लागि पानी छाड्न आग्रह गरेका छौं,’ भारतीय पक्ष तयार भएकाले भोलिदेखि एक सातासम्म २८ किलोमिटर मूल नहरमा पानी परीक्षण हुन्छ,’ उनले भने।
राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पर्ने महाकाली सिँचाइ आयोजना तेस्रो चरणको ब्रह्मदेवबाट बगुनखोलासम्म १९ किलोमिटर मूल नहरमा गत वर्ष परीक्षण गरिएको थियो। नेपाल–भारतबीच भएको महाकाली सन्धिअनुसार टनकपुर ब्यारेजबाट नेपाली भूमिसम्म भारतले निर्माण गर्नुपर्ने एक हजार दुई सय मिटर नहर निर्माणको काम सम्पन्न भइसकेको छ।
महाकाली सिँचाइ आयोजनाका निर्देशक रणबहादुर बमका अनुसार अहिले मूल नहर निर्माण भएको क्षेत्रमा शाखा नहर निर्माणको काम भइरहेको छ। ‘२२ शाखा नहरमध्ये दुईवटाको निर्माणको काम सकिएको छ,’ उनले भने, ‘अन्यको काम भइरहेको छ।’
आयोजनाअन्तर्गत मूल नहर २८ किलोमिटर शुक्लाफाँटाको फुलेलीबाट कैलालीको गोदावरीखोला ४८ किलोमिटरसम्म निर्माणका लागि बोलपत्र आह्वान भइसकेको उनले बताए। आगामी आव २०८०/८१ का लागि आयोजनामा एक अर्ब १७ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।
‘चालू आवको तुलनामा आगामी आवका लागि बजेट कम छुट्याइएको छ,’ निर्देशक बमले भने, ‘चालू आवमा एक अर्ब २३ करोड रुपैयाँ बजेट थियो।’ महाकाली सन्धि भएको १० वर्षपछि आव २०६३/६४ देखि निर्माण थालिएको नहरको कामले केही वर्षयता गति लिएको छ।
विसं २०५२ माघ २९ मा नेपाल र भारतबीच भएको महाकाली सन्धिअनुसार नेपालले टनकपुर बाँधबाट नहरमार्फत वर्षायाममा २८ दशमलव ३५ घनमिटर प्रतिसेकेन्ड तथा सुक्खायाममा आठ दशमलव ५० घनमिटर प्रतिसेकेन्ड पानी पाउनुपर्छ। यो पानी उपयोग गर्नका लागि नेपालले एक सय ५२ किलोमिटर लामो मूल नहर, एक सय ७२ किलोमिटर लामो शाखा नहर र एक हजार २३ किलोमिटरको प्रशाखा नहर निर्माण गर्नुपर्छ।
राष्ट्रिय गौरवको आयोजनामा समेटिएपछि महाकाली सिँचाइ आयोजना तेस्रो चरणले गति लिएको हो। २२ वटा शाखा नहर निर्माण भए ५ हजार ३ सय हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउन सकिने छ।
प्रकाशित समय : १९:१८ बजे




















