global ime bank Long Banner Ad

गृहपृष्ठ युवा उद्यमशीलता र विकासमा राज्यको दायित्व

युवा उद्यमशीलता र विकासमा राज्यको दायित्व

मधुसूदन उपाध्याय

युवा उद्यमशीलता र विकासमा राज्यको दायित्व

विकास उन्नति, प्रगतिको पर्याय हो, युवा देशका संवाहक हुन् भने उद्यमशीलताले कुनै पेसा वा व्यवसायलाई जनाउँछ। विश्वको गाइडलाइन अनुसार १८ देखि ४० बर्ष उमेर समूहका ब्यक्ति युवा अन्तरगत पर्दछन, राष्ट्रका अमूल्य सम्पत्ति वर्तमानका साझेदार, भविष्यका आधार भरोसा समेत युवा हुन्। धैर्यता चेतना पुरूषार्थ , आँट र साहास भएका युवा शक्ति नै देश विकासका बलिया स्तम्भ हुन्। आट, साहास, जोश जाँगरले जुर्मुराएर उद्यममा लागे मात्र समृद्ध राष्ट्र निर्माण हुन सक्छ।

देशको कुल जनसङ्ख्या मध्ये करिब ४० प्रतिशत युवा छन्, बाँकि ६० प्रतिशत बालबालिका र वृद्धवृद्धाहरुको आड भरोसा मात्र होइन देशलाई अग्रगति विकासको पथमा लम्काउने जिम्मेवारी समेत युवाहरूको काँधमा छ।

नेपालको राजनीतिक, सामाजिक घटनाक्रमको सन्दर्भमा युवालाई विद्रोहको साधन मात्र बनाएर भ्रष्ट मानसिकताले शासन गरिरहेको छ, हरेक आन्दोलनको रणभूमिमा युवालाई प्रयोग गरियो र गरिदै पनि छ। शिक्षाको नाममा वेरोजगारीको प्रमाण पत्र मात्र भिराइरहदा युवामा निराशासंगै वैदेशिक पलायन हुने क्रम बढ्दो छ, रोजगारीलाई विकल्प बनाएर विदेशी रहँदा स्वदेशमा नै सुन फलाउन सक्ने खेतबारीहरू बाँझो छोड्नु कत्तिको बुद्धिमानी होला ?

नेपालमा रोजगारीको सम्भावना नभएकै कारण युवा बिदेशिएका छन् । स्वदेशमै रोजगारीको अवसर सिर्जना हुने हो भने अधिकांश युवा बिदेशिने थिएनन् । हाम्रा गाउँ–बस्तीहरू युवाविहीन बन्दै गएका छन् । काम गर्ने जनशक्तिको अभावमा हाम्रा कृषियोग्य जमिन बाँझो हुँदै गएका छन् । आज नेपाली युवा कतार, दुबई र मलेसियालाई समृद्ध बनाइरहेका छन् । संसारका विकसित देशहरूको इतिहास हेर्ने हो भने युवाहरूको श्रम र पसिनाबाट नै तिनले समृद्धि हासिल गरेका छन् । हामी भने युवालाई मुलुकबाहिर पठाएर समृद्धिको कुरा गरिरहेका छौँ । एसियामा विकासको मोेडेलको चर्चा गर्दा जापान, चीन, सिंगापुर, दक्षिण कोरिया, मलेसिया अग्रपंक्तिमा आउँछ।

ती सबै मुलुकले दुई दशकको अवधिमै आफूलाई विकसित देशको सूचीमा पुर्याए । त्यसका लागि उनीहरूले युवा जनशक्तिलाई स्वदेशमै विकास निर्माणका काममा परिचालन गरे । नेपाल सरकारले भने वैदेशिक रोजगारीलाई समृद्धिको माग ठान्दै प्रवद्र्धन गरिरहेको छ ।

नेपालमा रोजगारीको सम्भावना नभएकै कारण युवा बिदेसिएका छन् । स्वदेशमै रोजगारीको अवसर सिर्जना हुने हो भने अधिकांश युवा बिदेसिने थिएनन् ।
वेरोजगारि समस्याको विकल्प बैदेशिक रोजगारी नभएर स्वदेशमै रोजगारीको अवसर सिर्जना र उद्यमशीलता हो भन्ने बुझ्न जरुरी छ। सिपयुक्त उद्यमशीलता,रोजगारी र जिम्मेवार नागरिकको रुपमा विकसित हुने अवसर दिने दायित्व राज्यको हो। देशमै रोजगारीको अवसर सिर्जना गर्नतर्फ राज्य जिम्मेवार बन्न जरुरी छ ।

युवालाई राजनीतिक, सामाजिक, सांस्कृतिक र आर्थिक अधिकारको पूर्ण उपयोग गर्ने वातावरण निर्माण गरी उनीहरूलाई सर्वाङ्गीण विकास र सशक्तिकरणमा केन्द्रित गर्नुपर्छ । राष्ट्रिय विकासमा युवा सहभागिता अभिबृद्धि गर्दै राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक अधिकारको पूर्ण उपयोगको वातावरण तयार गरी युवाको सशक्तीकरण र विकासका लागि शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका क्षेत्रमा विशेष अवसर प्रदान गरिने भन्ने संवैधानिक व्यवस्था रहेको छ ।

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को प्रस्ताव नं. २२५०, दिगो विकास लक्ष्यहरू र युथ भिजन–२०२५ ले युवाको विकास र सहभागितामा जोड दिँदै आएको सन्दर्भमा युवा विकास र सहभागिताका लागि एकीकृत कार्यढाँचा निर्माण गरी कार्यान्वयनमा ल्याउन आवश्यक छ । बौद्धिक सम्पत्तिको सम्मान गरेर समृद्ध बनेका देशहरु जस्तै– भियतनाम, चीन, कोरिया लगायतको मोडल अपनाएर युवाशक्तिको उपयोग गर्न सकिन्छ । राष्ट्रिय स्वाभिमानमा अडेको विकास मात्र दिगो हुन्छ भन्नेतर्फ नीति निर्माताहरुले सोच्नैपर्छ ।

राज्यले युवाहरूको बारेमा नसोचिदिने अनि युवालाई मध्यनजर नगरी बनाएको निति नियमले देश समृद्ध हुनसक्दैन। युवा पङ्क्तिको सोच मागलाई सम्बोधन गर्छु भनेर नेतृत्वमा गरेका वर्गले समयमै यसबारे विचारविमर्श गर्न ढिलो गर्नुहुँदैन।

नेपाली युवा र राज्यका अवसरका बीचमा राष्ट्रिय युवा परिषद्ले कार्य गरिरहेको छ । जनसाङ्ख्यिक लाभको सदुपयोग गरी सकारात्मक सोचका साथ स्वःस्फूर्त युवाको परिचालन अपरिहार्य छ । आगामी दिनमा राष्ट्रिय युवा परिषद्लाई युवा र अवसरको बाटो देखाउने केन्द्र, युवा स्वयंसेवा परिचालन केन्द्र, युवा मार्गदर्शन र परामर्श केन्द्र, युवा नवप्रवर्तन केन्द्र, युवा सूचना केन्द्र, युवा नेतृत्व क्षमता विकास तथा सहजीकरण केन्द्र, उद्यमशीलता विकास, असल अभ्यास तथा सिकाइ र युवा सहायता केन्द्रको रूपमा विकास गर्ने योजना रहेको छ । युवा उद्यमशीलता सहितको निति आत्मसात गर्दै राज्यले युवा उद्यमशीलताको प्रभावमा बढावा दिनुपर्छ युवा अवस्था मानिसको सबैभन्दा बहुमुल्य गुण भएको अवस्था भएकाले नै उसले आफूलाई मात्र होइन, समुदाय र विश्वलाई नै आफ्नो रचनात्मक क्षमताबाट खुसी बनाउन सक्छ । सुन्दर बनाउन सक्छ ।

त्यसका लागि अब युवालाई रोजगारीको खोजीमा नभई रोजगारी सिर्जनाकर्ता बन्न तयार गर्नुपर्छ । हामीले हाम्रो व्यावसायिक र सीप सञ्जाललाई महत्वकांक्षी बनाउन आवश्यक छ । यदि धेरै युवा कर्मचारी बन्न चाहन्छन् भने त्यसले देशमा रचनात्मक रुपमा फरक पार्दैन । यसबाट त उपभोग्य अर्थतन्त्र बन्छ ।

आज नेपालको आवश्यकता हो रोजगारदाता अर्थतन्त्र बनाउनु, उद्यमशील अर्थतन्त्र बनाउनु । समृद्ध नेपाल निर्माणका लागि युवालाई नेतृत्व गर्न सक्षम, उद्यमी बनाउनै पर्छ।

राज्यले चाल्नुपर्ने कदम स् युवालाई देशभर प्राविधिक तथा व्यावसायिक शिक्षा र सीप उपलब्ध गराउने, युवालाई उद्यम व्यवसाय सञ्चालन गर्न प्रोत्साहित गर्ने, परम्परागत पेसा र व्यवसायको जगेर्ना गर्दै व्यवसायीकरणमा युवालाई सहयोग गर्ने, युवामैत्री उद्यमशीलतासम्बन्धी परामर्श सेवा प्रदान गर्ने, वैदेशिक अध्ययन तथा रोजगारीबाट सिकेका ज्ञान, सीप, प्रविधि, पुँजी र अनुभवलाई देशमै उत्पादनमूलक क्षेत्रमा लगाउने वातावरण सिर्जना गर्ने, बैंक तथा वित्तीय संस्थाबाट युवालाई उद्यम तथा व्यवसाय सञ्चालनका लागि विनाधितो सरल र सहज रूपमा कर्जा उपलब्ध गराउने, स्थानीय, प्रदेश र केन्द्रीय स्तरमा इनोभेटिभ प्रस्तावहरू प्रतिस्पर्धात्मक रूपमा छनोट गरी लगानी गर्ने, सरकार एक्लैको प्रयासबाट उद्यम व्यवसाय प्रवद्र्धन हुँदैन, त्यसका लागि सार्वजनिक–निजी साझेदारीको एवं अन्तरनिकाय समन्वय र सहकार्य बढाउँदै लैजाने, तीनै तहका सरकार, निजी क्षेत्र सबैको सामूहिक प्रयास र योगदानले मात्र उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्न सकिन्छ ।
नेपालले युवालक्षित केही कार्यक्रम सञ्चालन गरेको छ ।

युवा स्वरोजगार कार्यक्रम, प्रधानमन्त्री कृषि आधुनिक कार्यक्रम, गरिबी निवारण कोषलगायतका कार्यक्रमको उद्देश्य युवालाई उद्यमी बनाई रोजगारी सिर्जना गर्ने र युवा पलायन रोक्ने देखिन्छ । युवालाई सस्तो ब्याजदरमा ऋण दिई विदेशबाट फर्किएका युवालाई उद्यमी बनाउने लक्ष्य पनि छ । विडम्बना १ कागजी रूपमा सधैँ देखिए पनि वास्तविक लक्षित समूहमा यी कार्यक्रम प्रायः असफल छन् । राजनीतिक पहुँच र सेटिङका आधारमा छनोट हुँदा लक्षित कार्यक्रमहरू असफल भएकाले त्यसको प्रभावकारिता व्यापक रूपमा लक्षित समूहमा पुग्न सकेन ।

विश्व २१ औँ शताब्दीको वैज्ञानिक चमत्कारले जर्याकजुरुक उठिसक्दा पनि व्यक्तिगत स्वार्थमा रहेर अरुमाथि दोष थुपारेर लमतन्न सुतिरहने हो भने विकासका कुरा त एकादेशको कथा बन्ने छ। आफूले आर्जन गरेको ज्ञानलाई हामीले व्यवहारमा उतार्न सक्यौँ भने अनि आफ्नो जोस जाँगरलाई राष्ट्रनिर्माणमा लगायौँ भने ‘समृद्ध नेपाल सुखी नेपाली’ नाराले बल्ल सार्थकता पाउने छ। विकास र उन्नति सबैको चाहना हो र त्यो चाहना पूरा गर्न सक्ने क्षमता युवाशक्ति मै छ। युवा उद्यमशीलताले नै देशको मुहार फेरिन सक्छ। युवाले उद्यम गरे बेरोजगारी घट्छ, आत्मनिर्भर बनिन्छ, अर्थतन्त्रमा सुधार आउँछ। युवा देशका मेरुदण्ड हुन्। मेरुदण्ड बिना जसरी शरीरको कल्पना गर्न सकिँदैन त्यसरी नै युवा उद्यमशीलता बिना पनि देश विकासको कल्पना गर्न सकिँदैन।

विकृति र विसङ्गतिमा मस्त भई कुलतमा फसेका युवाहरुमा चेतना जगाई अब तिनलाई कर्ममा जुटाउनुछ। देश बाहिर बसेर देशका बारेमा नकारात्मक टीका टिप्पणी गर्नुभन्दा देश भित्रै बसेर समस्या समाधानमा जुटौँ र उद्यमी बनेर उठौँ देश विकासमा एक भएर। देशका कुना कन्दराबाट फुटाउन विकासको मूल।

मुलुक निर्माणको यस महाअभियानमा युवालाई विकासको साझेदार नबनाई हुन्न । युवामा लगानी गर्नुपर्छ । विकासमा युवाको साझेदारीले नै समृद्धिमा टेवा पुर्‍याउँछ । सरकारले युवा रोजगारीको नयाँ अवसरका लागि तत्काल कृषि र पर्यटनमा नै लगानी बढाउन आवश्यक छ । कृषिमा युवाको आकर्षण बढाउन व्यावसायिक कृषिमा जोड दिनु जरुरी छ । जसका लागि युवालाई ज्ञान, सीप, पुँजी र प्रविधि हस्तान्तरण गर्नुपर्छ ।

कृषि व्यवसाय सुरु गर्ने युवालाई राजस्व छुट दिने, कृषि उत्पादनको बजारीकरणमा सहयोग गर्ने, कृषि बिमा तथा अनुदानको व्यवस्था गर्ने, विदेशबाट फर्केर आएका युवालाई सीपका आधारमा व्यवसायी कर्जा उपलब्ध गराउने, कर्जाको ब्याज मिनाहा गर्ने, कृषिमा अनुसन्धान गर्न चाहने युवालाई अध्ययन तथा अनुसन्धान रकम उपलब्ध गराउने गर्दा कृषि व्यवसायमा युवाको आकर्षण बढ्छ । त्यसैगरी, पर्यटन व्यवसाय पनि युवाका लागि अर्को विकल्प हुन सक्छ ।

पर्यटन गाइडका लागि तालिम, होमस्टेका लागि अनुदान सहयोग, साहसिक खेलहरूको प्रवर्द्धन, नयाँ पर्यटकीय गन्तव्यको खोजी, इको टुरिजममा जोड, पर्यटकका लागि सुरक्षित वातावरण निर्माणबाट ठूलो मात्रामा रोजगारीको अवसर सिर्जना गर्न सकिन्छ । र, वार्षिक लाखौँ युवालाई स्वदेशमै रोजगारी दिने वातावरण निर्माण हुन्छ । समयमै वैदेशिक रोजगारीको परनिर्भरता कम गर्न सकिएन भने भविष्यमा यसले भयावह स्थिति सिर्जना गर्नेछ हामीसँग केही कुराको कमी छैन उद्यमशीलताका लागि खाँचो छ भने केबल उद्यमशील सोचको।

सरकारले पनि उद्यम गर्न चाहनेका लागि सस्तो र सरल कर्जा प्रवाह गर्ने नीति लिएको छ। खाली दिमागमा सैतानको बास हुने भएकाले युवाहरु उद्यमशील भए उनीहरुमा नकारात्मक सोच आउन पाउँदैन। खाएर काम नगरे पापी बनिने साथै उद्यम बिना जसले समय बिताउँछ ऊ ज्यूँदै मरे समान हुन्छ भनेर शास्त्रहरुमा समेत भनिएको छ। ‘जित्नेहरु कुनै फरक काम गदैर्नन् उनीहरु हरेक काम फरक किसिमले गर्छन् जित्नु छ त्यसैले फरक ढङ्गले काम गरेर चम्कनुछ जगत्मा। आज विश्वमा विकासको अग्रगतिमा रहेका चीन, जापान, अमेरिका जस्ता मुलुकहरु पनि युवा उद्यमशीलताकै कारण यो स्थितिमा पुग्न सफल भएका हुन्।

युवामा काम गर्ने जोससँगै नवीन सोच र स्मृति क्षमता समेत हुन्छ। युवाहरुले चाहे पहाडलाई मैदान र मैदानलाई पहाड बनाउन सक्छन्। मरुभूमिलाई हराभरा पार्न अनि समुन्दमा बस्ती बसाल्न सक्छन्। युवाहरु अशक्तहरुका आशा भरोसाका मूल हुन्, सृष्टि सौन्दर्यका खानी र फर्केका फूल हुन्। देशको धुकधुकी धान्ने पसिना रक्त हुन् साथै युवाले नआँटे देश बन्दैन त्यसैले आँटका भक्त हुन्। यस किसिमले हरेक दृष्टिकोणले हेर्दा देश विकासमा युवा उद्यमशीलताको अतुलनीय भूमिका रहने कुरा घाम जत्तिकै छर्लङ्ग छ।युवालाई बाहिर राखेर समृद्धिको कुरा गर्नु दिवास्वप्न हो ।

जबसम्म विकासको मूल प्रवाहमा युवालाई प्रत्यक्ष सहभागी गराउन सकिँदैन, तबसम्म मुलुक समृद्धिको दिशामा अघि बढ्न सक्दैन ।देशको कुल जनसंख्याको ठूलो हिस्सा ओगटेको युवावर्गको समुचित विकास, परिचालन र सहभगितामा नै मुलुकको आर्थिक सामाजिक समुन्नति निर्भर रहन्छ । पुँजी र प्रविधिका साथसाथै युवाशक्तिलाई समयको गतिसँगै परिचालन गर्न सकेमा विकासले गति लिन सक्छ । यसका लागि सरकारले युवामैत्री उद्यमशीलताको वातावरण र्सिजना गर्नुपर्छ ।

लेखक मधुसूदन उपाध्याय नेपाल युवा संस्था सञ्जाल (आयोन) उपाध्यक्ष हुन् ।

प्रकाशित समय : १४:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु