global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ पाठेघरको मुखमा क्यान्सर गराउने एचपीभीविरुद्धको खोप दिने तयारी

पाठेघरको मुखमा क्यान्सर गराउने एचपीभीविरुद्धको खोप दिने तयारी

पाठेघरको मुखमा क्यान्सर गराउने एचपीभीविरुद्धको खोप दिने तयारी

सरकारले बालिकालाई पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप दिने तयारी गरेको छ । यो खोप ९ देखि १४ वर्ष उमेरका बालिकालाई लगाउने तयारी भएको हो । तर, कहिलेदेखि खोप लगाउने भन्ने टुंगिएको छैन ।

बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डाक्टर अभियान गौतमका अनुसार यो खोप दुई मात्रा लगाउनु पर्छ । चिनिया कम्पनी इनोभ्याक्सले उत्पादन गरेको सिकोलिन नामको एचपीभी भाइरसविरुद्धको २० हजार मात्रा खोप नेपाल भित्रिएको छ ।

अहिले २० हजार मात्रा मात्रै आएकाले कसलाई प्राथमिकतामा राख्ने भन्ने पनि टुंगीसकेको छैन । यो खोप टेकुमा रहेको भण्डारणमा राखिएको छ । विश्व स्वास्थ्य संगठन डब्लूएचओको तथ्यांक अनुसार नेपालमा एक लाख महिलामध्ये १४ जना भन्दा धेरैलाई पाठेघर मुखको क्यान्सर हुन्छ । यसकै कारण वार्षिक २ हजार जनाको ज्यान जाने गरेको छ ।

पहिलो मात्रा लगाएको ६ महिना पछि अर्को मात्रा लगाउनु पर्छ । अहिले आएको २० हजार मात्राले १० हजार बालिकालाई मात्रै खोप दिन पुग्छ ।

केही मात्रा खेर जाने सम्भावना पनि हुन्छ । यसले गर्दा खोप लगाउने बालिका छनौट गर्न स्वास्थ्य मन्त्रालयलाई चुनौती छ । यो खोप ९० प्रतिशत प्रभावकारी देखिएको पनि डाक्टर गौतमले बताएका छन् । खोप कार्यक्रम कहाँ सञ्चालन गर्ने भन्नेबारे स्वास्थ्य मन्त्रालयलाई निर्देशनका लागि पत्र पठाइसकिएकाले केही दिनभित्र निर्णय हुने उनले जानकारी दिए ।

डाक्टरका अनुसार महिलामा हुने क्यान्सरमध्ये पाठेघर मुखको क्यान्सर पहिलो नम्बरमा पर्छ । ह्युमन प्यापिलोमा भाइरस एचपीभी विरुद्धको खोप लगाए वा समयमै परीक्षण गराए पाठेकघरको मुखको क्यान्सर हुने सम्भावना कम हुन्छ । केही वर्ष अघि यो खोपको प्रभावकारीता अध्ययन गर्न चितवन र कास्कीमा खोप वितरण गरिएको थियो ।

प्रकाशित समय : १२:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु