global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ लम्पी स्किन रोग नियन्त्रणका लागि कदम चाल्न प्रधानमन्त्रीको निर्देशन

लम्पी स्किन रोग नियन्त्रणका लागि कदम चाल्न प्रधानमन्त्रीको निर्देशन

लम्पी स्किन रोग नियन्त्रणका लागि कदम चाल्न प्रधानमन्त्रीको निर्देशन

सरकारले महामारीको रूपमा पशु चौपायामा फैलिएको लम्पी स्किन रोग नियन्त्रणका लागि सबै प्रकारका साधन स्रोत उपलब्ध गराइएको उल्लेख गरेको छ ।

रोग नियन्त्रणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आवश्यक चासो लिएका छन् । उनले कृषि तथा पशुपन्छीमन्त्री डा बेदुराम भुसाल र मन्त्रालयका उच्च अधिकारीलाई आवश्यक निर्देशन दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीले प्रभावकारीरूपमा पशु स्वास्थ्यकर्मी परिचालन गर्न, खोप आपूर्ति बढाउन तथा तत्काल खोप लगाउनका लागि जनशक्तिको आवश्यक प्रबन्ध गर्नसमेत सम्बद्ध अधिकारीलाई स्पष्ट निर्देशन दिएका छन् ।

सरकारले हालसम्म सात लाख ३७ हजार डोज खोप आयात गरी सातै प्रदेशमा उपलब्ध गराएको छ । पशु सेवा विभागका अनुसार एक लाख ७२ हजार एक सय २८ पशु चौपायामा खोप लगाइसकिएको छ ।

महामारी नियन्त्रणका लागि आगामी आर्थिक वर्षमा स्थानीय तहमा सङ्घीय सरकारले सःशर्त अनुदानअन्तर्गत रु एक लाखका दरले बजेट उपलब्ध गराइएको छ ।

विभागका महानिर्देशक डा सम्झनाकुमारी काफ्लेका अनुसार सङ्घीय सरकारले एक सय ६१ स्थानीय तहमा भेटेरिनरी डाक्टर र सबै स्थानीय तहमा प्राविधिकको व्यवस्थापनका लागि बजेट उपलब्ध गराएको छ ।

प्रदेश र स्थानीय तहसँग समन्वयका लागि सम्पर्क व्यक्ति तोकिएको छ । रोग रोकथाम तथा उपचारमा खटिने प्राविधिकका लागि प्राथमिक उपचारको जानकारीसहित सूचनामूलक सामग्री प्रकाशित र प्रसारित गरिएको छ ।

लम्पी स्किन गाईभैँसीमा भाइरसको कारण लाग्ने महामारी रोग हो । यो रोग लागेका पशुमा उच्च ज्वरो आउने, दाना पानी कम खाने र दूध उत्पादन घट्ने, छालामा गोलो गिर्खा र गाँठा देखिन्छ । गिर्खा केही समयपछि हराउने वा कहिलेकाहीँ गिर्खा फुटेर घाउ हुने, किरा र औँसा पर्ने, नाकमुखभित्र, कल्चौँडा, थुनमा घाउ हुने, आँसु, र्‍याल, सिँगान बग्ने, चिप्रा कचेरा लाग्ने, खुट्टा जोर्नी सुन्निनेजस्ता लक्षण देखिने महानिर्देशक काफ्लेले जानकारी दिए ।

उनका अनुसार सङ्क्रमित पशुमध्ये सामान्यतया एकदेखि तीन प्रतिशतसम्म पशु मर्न सक्ने र बिरामी पशुलाई स्याहारसुसार र प्राथमिक उपचार नपाएमा मृत्युदर बढ्न सक्छ । बाच्छाबाच्छी, जोत्ने गोरु, उन्नत जातका बढी दूध दिने दुधालु र गर्भिणी गाईभैँसी यस रोगका कारण मर्न सक्ने भएकाले विशेष ख्यालको आवश्यक रहेको महानिर्देशक काफ्लेको भनाइ छ ।

अफ्रिकी महादेशमा मात्रै सीमित यो रोग युरोप हुँदै बङ्गलादेश, चीन तथा भारतमा देखापरेपश्चात् पहिलोपटक नेपालमा विसं २०७७ असार महिनामा मोरङको सुन्दरहरैचा नगरपालिकामा गाईमा देखा परेको थियो । रोग देखा परेपश्चातका सुरूका दुई वर्षमा यस रोगबाट १६ जिल्लाका २९ पालिकाका तीन हजार तीन सय एक पशु सङ्क्रमित भई १३ वटा पशु मरेका थिए ।

चालु आवमा लम्पी स्किन रोगको प्रकोप देशैभरि महामारीको रूपमा फैलिँदा मनाङबाहेकका सम्पूर्ण जिल्लामा रोग पुष्टि भएको विभागको भनाइ छ । गत चैतदेखि कोशी प्रदेशका केही जिल्लामा रोगको प्रकोप देखापरेको र क्रमशः अन्य प्रदेशमा फैलिई हालसम्म ७६ जिल्लामा पुष्टि भएको छ ।

प्रकाशित समय : २०:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु