गृहपृष्ठ प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेतासँग छलफल गर्दै सभामुख
प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेतासँग छलफल गर्दै सभामुख
सभामुख देवराज घिमिरेले आज प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूसँग छलफल गर्दैछन् । सभामुख घिमिरेले मंगलबार बिहान ११ बजे सिंहदरबारस्थित कार्यकक्षमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रमुख विपक्षी दलका नेता एवं एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्ने भएका हुन् ।
सभामुख घिमिरेले संसदीय समितिका सभापति चयन र संसदलाई प्रभावकारी बनाउने विषयमा शीर्ष नेताहरूसँग छलफल गर्न लागेका हुन् ।
बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ पनि सहभागी हुने तय भएको छ ।
वैशाख १५ गते प्रतिनिधि सभाका १० वटा विषयगत समिति गठन भएको थियो । समिति गठन भएको दुई सातापछि जेठ २ गते एक साथ १० वटै समितिको बैठक सुरु भएको थियो । तर, सभापति चयन हुन नसक्दा समितिहरूले विधेयकमाथि छलफल गर्न सकेका छैनन् ।
प्रमुख दलका प्रमुख सचेतक, कार्य व्यवस्था परामर्श समितिको बैठक तथा अनौपचारिक छलफलमा पटकपटक सभापति चयन गर्न समय सीमा नै तोक्दा पनि दलहरूले प्रयत्न नगरेपछि सभामुख घिमिरेले शीर्ष नेताहरूलाई बोलाएका हुन् ।
प्रकाशित समय : ०९:३२ बजे


















