nmb bank

गृहपृष्ठ पोखराको मासु पसल व्यवस्थित गर्दै महानगर

पोखराको मासु पसल व्यवस्थित गर्दै महानगर

पोखराको मासु पसल व्यवस्थित गर्दै महानगर

पोखरा महानगरपालिकाले मासु पसललाई व्यवस्थित गर्न सुरुआत गरेको छ । महानगरले मासु पसल सञ्चालनका लागि तोकिएको न्यूनतम मापदण्ड पूरा गरेका पसललाई एकै प्रकारका बोर्ड तथा व्यवसाय परिचयपत्र वितरण गरेको हो ।

महानगरको पशु सेवा शाखाले आइतबार आयोजना गरेको कार्यक्रममा महानगरप्रमुख प्रमुख धनराज आचार्यले व्यवसायीलाई परिचयपत्र प्रदान गरेका हुन् ।

पशु सेवा शाखा प्रमुख नवराज अधिकारीले पशुबध तथा मासु जाँच ऐन २०५५, नियमावली २०५७ तथा महानगरको मासु जाँच निर्देशिकाअनुसारको मापदण्ड पालना गरेका ७४ पसललाई परिचपत्र र बोर्ड प्रदान गरिएको बताए । उनका अनुसार महानगर क्षेत्रमा करिब छ सयको हाराहारीमा ठूला तथा साना मासु व्यवसायी छन् ।

महानगरले पसलको एकरुपताका लागि सबै पसललाई एकै आकार र बनोटको बोर्ड हस्तान्तरण गरेको छ । महानगर प्रमुख आचार्यले पोखरामा अब मापदण्डविपरीतका फ्रेस हाउस बन्द गरिने बताए । महानगरबाट अनुमति प्राप्त गरेको पसल हो भनेर चिनाउने गरी बोर्ड प्रदान गरिएकाले मान्यता प्राप्त पसलबाट मात्र मासु खरिद गर्न उनले उपभोक्तालाई आग्रहसमेत गरेका छन् ।

महानगर प्रमुख आचार्यले भने, “अब केही समयपछि महानगरको बोर्ड नभएको पसलमा मासु खरिद विक्री नगर्नका हामी सार्वजनिक सूचना जारी गर्नेछौँ, महानगरबाट मान्यता प्राप्त गरेको र व्यवस्थित पसलमा स्वच्छ र स्वस्थ मासु उपलब्ध गराउनुपर्दछ ।” उनले महानगरले पोखरामा व्यवस्थित र सुविधासम्पन्न पशुबधशाला स्थापनाका लागि काम अघि बढाएको जानकारी दिए ।

महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले स्वच्छ र सफा मासु खान पाउनु उपभोक्ताको अधिकार भएको बताइन । उनले मापदण्ड पालना नगरेका अन्य पसललाई समेत पूरा गरेर महानगरमा दर्ता भएर  परिचपत्र लिन आग्रह गरिन् । पशु सेवा शाखा प्रमुख अधिकारीले मासु पसललाई बोर्ड र व्यावसायिक परिचपत्र वितरणको काम नेपालमै पहिलोपटक सुरु भएको दावी गरेका छन् ।

मापदण्ड पूरा नभएका पसल केही दिनको समय दिएर बन्द अधिकारीको भनाई छ । “महागनरले मापदण्डविपरीतलाई बन्द गरेर पालना भएकालाई मात्र सञ्चालन गर्नेछ । बाँकी पसलसमेत केही समयपछि मापदण्ड पालनामा आउने विश्वास लिएका छौँ ।” अधिकारीले भने ।

यसैगरी महानगरले विभिन्न पाँच विधाका उत्कृष्ट कृषकलाई नगदसहित सम्मान गरेको छ । गाई, भैँसी, कुखुरा, बँगुर र बाख्रा पालनमा उत्कृष्ट कृषकलाई जनही १० हजार रुपैयाँसहित पुरस्कृत गरिएको महानगरले जनाएको छ ।

लामो समय कृषि तथा पशुपालनमा लागेकालाई ज्येष्ठ प्रवद्र्धक कृषकको सम्मान प्रदान गरिएको छ । महानगरले पाडीबाच्छी आफैँ हुर्काएर माउ बनाउने ५०० कृषकलाई ३ हजार र एक हजार रुपैयाँ पाडीबाच्छी हुकाउनेलाई ४ हजार रुपैयाँका दरले अनुदान उपलब्ध गराइएको छ ।

महानगर क्षेत्रका अपाङ्गता भएका व्यक्तिलाई ८ हजार रुपैयाँका दरले ५० जनालाई बाख्रा खरिदका लागि अनुदानसमेत दिएको छ ।

प्रकाशित समय : ०७:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु