nmb bank

गृहपृष्ठ ६ महानगरको बजेट : कसकाे प्राथमिकता के ?

६ महानगरको बजेट : कसकाे प्राथमिकता के ?

६ महानगरको बजेट : कसकाे प्राथमिकता के ?

देशका ६ वटै महानगरपालिकाहरुले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक भएको छ । गत ६ असारमा वीरगञ्ज महानगरपालिका ले बजेट ल्याएको थियो भने अन्य ५ वटा महानगरले आइतबार बजेट ल्याएका हुन् ।

६ वटै महानगरपालिकाले ल्याएको कुल बजेट ५१ अर्ब ९९ करोड रुपैयाँको छ । महानगरपालिकाहरुले ल्याएको बजेटमा शहरी पूर्वाधारलाई प्राथमिकता दिएको देखिन्छ ।

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा शहरी सौन्दर्यको पूर्वाधारलाई प्राथमिकता दिएको छ ।

महानगरले आगामी आवका लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजारको बजेट ल्याएको छ । चालुतर्फ ८ अर्ब ६१ करोड ५३ लाख अर्थात ३३.७२ प्रतिशत र पूँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख अर्थात ६६.२८ प्रतिशत बजेट ल्याएको हो ।

पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि सवा ७ अर्बको बजेट ल्याएको छ । पोखरा महानगरको १३ औं नगर सभामा उपप्रमुख मञ्जुदेवी गुरुङले ७ अर्ब १५ करोड रुपैयाँ बजेट प्रस्तुत गरेकी हुन् । यो चालु आर्थिक वर्षभन्दा करिब डेड अर्ब रुपैयाँ कम बजेट हो । चालु आर्थिक वर्षमा पोखरा महानगरले ८ अर्ब ७७ करोड रुपैयाँको बजेट ल्याएको थियो ।

उपप्रमुख गुरुङले बजेट प्रस्तुत गर्दै संघीय अनुदानबाट २ अर्ब ७६ करोड, प्रदेश सरकारबाट अनुदान १० करोड २३ लाख, आन्तरिक आयबाट २ अर्ब २७ करोड व्यहोर्ने जानकारी दिइन् । महानगरले सबैभन्दा बढी पूर्वाधारतर्फ २ अर्ब, प्रशासनिक खर्चतर्फ ८१ करोड २२ लाख, सामाजिक विकासतर्फ ६ करोड ५० लाख, आर्थिक विकासतर्फ १० करोड, वडा कार्यालयतर्फ ७२ करोड, पर्यटन तथा सहरी विकास तथा वातावरणतर्फ ७० करोड बजेट विनियोजन गरेको छ ।

ललितपुर महानगरपालिकाले ६ अर्ब ५० करोड ५ लाख ८८ हजारको बजेट ल्याएको छ । महागरपालिकाकी उपप्रमुख मञ्जिला शाक्यले प्रस्तुत गरेको बजेटमा पूँजीगततर्फ ४ अर्ब २१ लाख ४६ हजार र चालु तर्फ २ अर्ब ४९ करोड ८४ लाख को बजेट आएको हो । ललितपुरले सडक पूर्वाधार, सम्पदा संरक्षण, एक वडा एक उद्यान, एक घर एक बोट, स्मार्ट स्ट्रिट लाइट, प्रत्येक वडामा सार्वजनिक शौचालय, अपाङ्गमैत्री फुटपाथ लगायत विषयलाई प्राथमिकतामा राखेको छ ।

चितवनको भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ६ अर्ब ३१ करोड ७९ लाख ९० हजार रूपैयाँको बजेट पेश गरेको छ । महानगरका उपप्रमुख चित्रसेन अधिकारीले पेश गरेको बजेटको स्रोतमा आन्तरिक आय १ अर्ब ७५ करोड, संघीय सरकार र प्रदेश सरकारबाट प्रापत अनुदान १ अर्ब ८३ करोड ९९ लाख ७५ हजार, राजश्व बाडफाँटबाट ५४ करोड ८० लाख १५ हजार, जनसहभागिताबाट ५० करोड, बैंक मौज्दात १ अर्ब ६५ करोड, सडक बोर्ड नेपालबाट आउने ३ करोड रहेको छ ।

विराटनगरपालिका महानगरपालिकाले ३ अर्ब २८ करोड ५० लाख रुपैयाँको बजेट ल्याएको छ । महानगरकी उपप्रमुख शिल्पा निरला कार्कीले प्रस्तुत गरेकी बजेट वक्तव्यमा चालूतर्फ १ अर्ब ५१ करोड ८३ लाख २५ हजार रुपैयाँ र पूँजीगततर्फ १ अर्ब ७१ करोड ६६ लाख ७५ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

महानगरले आगामी आर्थिक वर्षका लागि प्रशासनिक खर्च मात्रै ६८ करोड रुपैयाँ विनियोजन गरेको छ ।

वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ को लागि ३ अर्ब २१ करोड ३५ लाख ४४ हजार रुपैयाँको बजेट ल्याएको छ । महानगरले शिक्षा, स्वास्थ्य, सरसफाई र वातावरण संरक्षणमा प्राथमिकता दिएको छ ।

प्रकाशित समय : ०६:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु