गृहपृष्ठ फोहरबाट उत्पादित ग्यास पाइपबाट वितरण
फोहरबाट उत्पादित ग्यास पाइपबाट वितरण
दाङको घोराही उपमहानगरपालिका–१६ करौँतीडाँडामा गल्ने फोहरबाट ग्यास र मल उत्पादन सुरु भएको छ । साथै उपमहानगरपालिले पाइप लाइनका माध्यमबाट ग्यास वितरण भने सुरु गरेको छ ।
करौँतीडाँडामा फोहरबाट ग्यास उत्पादन गरी पहिलो चरणमा प्रभावित क्षेत्रका ३५ घरपरिवारलाई निःशुल्करूपमा ग्यास वितरण गरिएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको ४० प्रतिशत र नेपाल ऊर्जा विकास कम्पनी प्रालिको ६० प्रतिशत लगानीमा ग्यास उत्पादन परियोजना तयार भएको नगर उपप्रमुख हुमा डिसीले बताईन । फोहर प्रभावित क्षेत्रका नागरिकलाई ग्यास चुलो वितरण र घर–घरमा पाइपलाइन पु¥याउने काम भइरहेको डिसीले जनकारी दिईन् ।
उद्योगबाट उत्पादित ग्यास पाइप लाइनबाट वडा नम्बर १० र १६ का एक हजार ५०० घरमा पु¥याइने परियोजनाको लक्ष्य रहेको उपप्रमुख डिसीको भनाई छ । पाइप लाइनबाट ग्यास प्रयोग गर्न पाउँदा स्थानीय खुसी भएका छन् ।
ग्यास प्लान्ट पूर्ण क्षमतामा सञ्चालन भएमा दैनिक दुई हजार घनमिटर ग्यास उत्पादन र दैनिक ३०० क्विन्टल फोहर चाहिने भएको छ । फोहरबाट ग्यास उत्पादन सुरु भएपछि उपमहानगरलाई फोहर व्यवस्थापनमा सजिलो भएको छ ।
विसं २०७५ मङ्सिर ५ गते सम्झौता भई सुरु भएको परियोजना निर्माणका लागि करिब २२ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । संरचना निर्माणका लागि उपमहानगरपालिकाले करिब तीन बिघा जग्गा उपलब्ध गराएको छ ।
उपमहानगरपालिकाले ग्यास वितरण गरेकामा वडा नम्बर १६ निवासी शोभा चौधरीले खुसी व्यक्त गरे । “ग्यास बाल्न पाउँदा धेरै खुसी लागेको छ, दाउराको प्रयोग गरेर खाना पकाउने गरेको थिए’, उनले भने, उपमहानगरपालिकाले घरघरमा ग्यास वितरण गरेपछि ग्यासमा खाना पकाउने गरेको छु ।”
बायोग्यास उद्योगले पाइपका माध्यमबाट घरमै ग्यास दिन थालेपछि समय र इन्धनको बचत भएको छ । वैशाख अन्तिम सातादेखि उद्योगले बायोग्यास वितरण थालेपछि दैनिक भान्सामा काम गर्न सहज भएको चौधरी बताउछन् ।
सोही ठाउँकी सिर्जना चौधरीले पनि दैनिक दाउराका भरमा खाना पकाउँदै आएकी थिइन् । उनले सुरुमा त ग्याँस प्रयोग गर्न नजानेको बताईन । घरमै पानीको धारा खोलेजस्तै गरि ग्यास बाल्न पाउँदा उनमा खुसीको सीमा नै छैन । “दाउराकै भरमा घरमा खाना पकाउने गरेका थियौँ तर अहिले उद्योगले निःशुल्करूपमा ग्यास दिन थालेपछि सजिलो भएको छ”, चौधरीले भनिन्, “दाउरा खोज्नुपर्ने बाध्यता हटेको छ ।”
प्रकाशित समय : १७:१६ बजे


















