गृहपृष्ठ तेस्रो प्रधानमन्त्री कप ब्याडमिन्टन असार १३ देखि हुने
तेस्रो प्रधानमन्त्री कप ब्याडमिन्टन असार १३ देखि हुने
नेपाल ब्याडमिन्टन संघको तत्वावधानमा वाग्मती प्रदेश ब्याडमिन्टन संघ तदर्थ समितिले तेस्रो प्रधानमन्त्री कप खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता असार १३ देखि आयोजना गर्ने भएको छ ।
नखिपोट ब्याडमिन्टन सर्कलको कभर्डहलमा हुने प्रतियोगितामा महिला र पुरुष एकल, पुरुष युगल, पुरुष भेट्रान ४५ वर्षमाथिको युगल, यू–११, यू–१३ र यू–१५ छात्र/छात्रा गरी १० विधामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक तथा आयोजक संघका अध्यक्ष रुद्र थिङले जनाए ।
असार १६ सम्म हुने प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद्को मुख्य सहयोग रहनेछ । योनेक्स सनराइज इनास इन्टरप्राइजेजको मुख्य सहयोग रहने जनाइएको छ ।
अनुमानित १४ लाख ४१ हजार लागत रहेको प्रतियोगितामा कुल पुरस्कार राशि ५ लाख ३३ हजार छ । पुरुष र महिला एकल तर्फ प्रथम, द्वितीय र तृतीय हुने खेलाडीले क्रमशः ५० हजार, २५ हजार र १० हजार प्राप्त गर्नेछन् । पुरुष युगलतर्फ शीर्ष तीन विजेताले क्रमशः ४० हजार, २० हजार र ८ हजार, भेट्रान्स विजेताले क्रमशः ३० हजार, १५ हजार र ६ हजार तथा यू–११, यू–१३ र यू–१५ का शीर्ष तीनका विजेताले क्रमशः १५ हजार, १० हजार र ५ हजार प्राप्त गर्नेछन् ।
प्रकाशित समय : ०७:०४ बजे



















