गृहपृष्ठ सगरमाथा आरोहीको संख्यामा कीर्तिमान, खच्चड पन्छाउँदै हिड्दै यात्री
सगरमाथा आरोहीको संख्यामा कीर्तिमान, खच्चड पन्छाउँदै हिड्दै यात्री
चालु आर्थिक वर्ष अत्तिम महिना वसन्त ऋतुमा इतिहासकै सबैभन्दा धेरै ४ सय ७८ आरोहीले सगरमाथा आरोहणका लागि अनुमति लिएको नेपाल पर्यटन विभागले जनाएको छ ।
यो सिजनमा भारतीय र नेपाली पदयात्रीहरूको सगरमाथा क्षेत्रमा भिड नै लागेको विभागले जानकारी दियो । विभागका अनुसार यतिसम्म कि, बाटोमा यात्री र खच्चडलाई पन्छाउँदै हिँड्नुपर्ने अवस्था आएको थियो ।
सर्वोच्च शिखर सगरमाथा, ल्होत्से, नुप्त्से हिमाल आरोही, पथप्रदर्शक गाइड र खुम्बु क्षेत्रमा पदयात्रा गर्ने स्वदेशी तथा विदेशी पर्यटकलाई सेवा दिन लुक्ला विमानस्थल सिजनभरि नै व्यस्त बनेको हो ।
हिमाल आरोहणका लागि उपयुक्त सिजन मानिने यस वर्षको अप्रिल र मे महिनामा हिमाली भेगमा आरोही र पदयात्री खचाखच हुन्छ । आरोही र गाइड गरी करिब ६ सयले सगरमाथाको सफल आरोहण गरेको पर्यटन विभागको अनुमान छ ।
पर्यटकीय मौसममा लुक्ला विमानस्थल काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए)पछि सबैभन्दा धेरै व्यस्त रहन्छ । सिजनमा उडान संख्याका हिसाबले पनि टिआइएपछि लुक्लामै धेरै ‘फ्लाइट मुभमेन्ट’ हुने गरेको छ ।
आरोही र गाइड गरी करिब ६ सयले सगरमाथाको शिखर चुमेको पर्यटन विभागले जनाएको छ । खुम्बु क्षेत्रमा पदयात्रामा जाने पर्यटकको संख्या पनि ऐतिहासिक नै रह्यो ।
अप्रिलमा हवाईजहाजबाट ४९ हजार एक सय ८१ केजी कार्गो लुक्ला झारेको छ भने ९४ हजार ६३ केजी सामान लुक्लाबाट बाहिरिएको छ ।
यस्तै, मेमा एक लाख ७८ हजार एक सय १९ केजी कार्गो लुक्लामा ढुवानी भएको र ७७ हजार आठ सय ६५ केजी कार्गो लुक्लाबाट बाहिरिएको विमानस्थल कार्यालयले जनाएको छ ।
अप्रिल र मे महिनामा लुक्ला विमानस्थलमा कुल ६ हजार ६ सय ९३ उडान–अवतरण भएका छन्, जसमध्ये एक हजार चार सय ७४ हवाईजहाज र पाँच हजार दुई सय २० हेलिकोप्टरका हुन् ।
प्रकाशित समय : १०:४० बजे



















