गृहपृष्ठ आजदेखि काभा नेसन्स लिग, नेपाल मंगोलियासँग खेल्दै
आजदेखि काभा नेसन्स लिग, नेपाल मंगोलियासँग खेल्दै
कीर्गिस्तानको बिस्केकमा आजदेखि काभा पुरुष भलिबल नेसन्स लिग सुरु हुँदैछ । जुन १८ देखि २५ सम्म हुने नेसन्स लिगमा नेपालले आज पहिलो खेलमा मंगोलियासँग खेल्दैछ ।
नेपालले मंगोलियासँग २०१८ पछि पहिलोपटक खेल्न लागेको हो । २०१८ मा इन्डोनेसियामा भएको एसियन गेम्समा नेपालले मंगोलियालाई पराजित गरेको थियो ।
सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा)को कार्यक्रम अनुसार हुन लागेको नेसन्स लिगमा नेपालसहित कुल ७ टिमले प्रतिस्पर्धा गर्नेछन् । जसमा घरेलु टोली कीर्गिस्तानको भने दुई टिम समावेश छन् ।
नेपालले दोस्रो खेल जुन १९ मा घरेलु टोली कीर्गिस्तानसँग खेल्नेछ भने तेस्रो खेल इरानसँग जुन २० मा खेल्नेछ ।
नेपालले जुन २२ मा तुर्कमिनेस्तान, जुन २३ मा कीर्गिस्तान बी टिम र जुन २५ मा उज्वेकिस्तानसँग खेल्नेछ ।
नेपालले यसपटक नयाँ कप्तान हरि हजुर थापाको नेतृत्वमा खेल्दैछ । नेपाली टिममा हेमन्त मल्ल, सफल विक र भीम गाहा मगर गरी तीन नयाँ खेलाडी छन् ।
काभा नेसन्स लिगमा सुरुमा सेन्ट्रल एसियाका ७ टिमले खेल्ने तय थियो । तर यसअघि नै पाकिस्तानले नाम फिर्ता लियो । पाकिस्तानको स्थानमा मंगोलियाले नेसन्स लिग खेल्ने भएपछि ७ टिम नै खेल्ने तय थियो ।
तर अन्तिम समयमा प्रतियोगिता सुरु हुनु एक साता अघि काजखस्तानले पनि नाम फिर्ता लिएको काभाले जनाएको छ ।
प्रकाशित समय : १०:२३ बजे


















