गृहपृष्ठ युरोपमा कामदार माग बढ्दो, समयमा भिसा प्रमाणिकरण नहुँदा वर्षेनी ५० हजार रोजगार गुम्दै
युरोपमा कामदार माग बढ्दो, समयमा भिसा प्रमाणिकरण नहुँदा वर्षेनी ५० हजार रोजगार गुम्दै
विगत केही वर्षयता युरोप नेपाली कामदार वैदेशिक रोजगारीमा जाने क्रम बढ्दो छ । युरोपका देश रोमानिया, पोल्याण्ड, पोर्चुगल, क्रोएसिया र माल्टालगायत देश नेपाली कामदार श्रम स्वीकृति दैनिक जाने गरेको वैदेशिक रोजगार विभागले जनाएको छ ।
कोरोना महामारीपछि युरोपका यी देश नेपाली कामदारका हकमा रोजगारगन्तव्य देश बनिरहेका छन् । २०७५ सालयता युरोपका विभिन्न देश वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्या बढ्न थालेको विभागको तथ्यांकमा छ ।
विभागका अनुसार साइप्रस, पोल्याण्ड, पोर्चुगल, क्रोएसिया, जर्मन, इटली र माल्टा ४० हजारभन्दा बढी नेपाली रोजगारीका लागि गएका छन् । २०७४ सालयता रोमानियाका लागि ११ हजार ४ सय ७४ भन्दा बढी नेपालीले श्रमस्वीकृति लिएको विभागको तथ्यांकमा छ ।
युरोपका कतिपय देशमा नियोग नभएका कारण नेपाली कामदारहरु व्यक्तिगत रुपमा भिजिट भिसामा जाने गरेका छन् । यसरी जाँदा कतिपय कामदार समस्यामा पर्ने गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सह–सचिव तथा प्रवक्ता डण्डुराज घिमिरेले जानकारी दिए ।
युरोपका धेरै श्रम गन्तव्य देशमा नेपाली दूतावास वा कूटनीतिक नियोग नहुँदा कामदारको माग प्रमाणिकरण गर्ने समस्या भइरहेको उनी स्वीकारछन् । ‘युरोपका कतिपय देशमा नेपाली कामदारको माग राम्रो भए पनि मागपत्र प्रमाणीकरण झण्झटिलो भएकाले नेपालले अवसर गुमाउनुपर्ने अवस्था छ । नेपाली कामदारका लागि युरोपको रोजगारी अवसर पनि हो । सरकारले हाल देखिएका समस्या चाँडै समाधान गर्छ ।’ उनले भने, ‘युरोप कामदार पठाउन समस्या होइन । त्यहाँ समस्या कामदार परेर भने उद्धार गर्ने र उनीहरलाई व्यवस्थापन गर्ने समस्या हुँदो रछ । अहिले सरकारले ती सबै समस्या केन्द्रीत भएर अध्ययन र नियोग खोल्न तयारी गरिरहेको छ ।’
युरोपको मागपत्र प्रमाणीकरणलाई सहज बनाउने गृहकार्य भइरहेको उनको भनाइ छ । सरकारले नेपालबाट संस्थागत रूपमा वैदेशिक रोजगारीमा जान १ सय ११ र व्यक्तिगत १ सय ७२ वटा देश जाने कामदारलाई श्रम स्वीकृति जारी गदै आएको छ । जसमा युरोपका एक दर्जनभन्दा धेरै देश पर्छन । युरोपलगायतका विभिन्न श्रम गन्तव्यमा दूतावास नहुँदा ५० हजारभन्दा बढी मागपत्र प्रमाणीकरण नभइ रोकिएको गुनासो म्यानपावर व्यवसायी गदै आएको श्रम मन्त्रालयले जनाएको छ ।
हाल नेपाली नियोग नभएका युरोपका देश म्यानपावर कम्पनीहरुले व्यक्तिगत श्रम स्वीकृतिमा कामदार पठाउँदै आएका छन् । सरकारले नियोग नभएको रोजगारदाता देशका समस्या समाधान गर्न मागपत्र जाँचबुझ निर्देशिका २०७५ संशोधनका लागि राय मागसहित परराष्ट्र मन्त्रालयमा पठाइएको श्रम मन्त्रालयले जनाएको छ । निर्देशिका नियोग भएका देशका समस्या समाधान हुने श्रम मन्त्रालयको भनाइ छ ।
श्रमसम्झौता नभएका युरोपियन देशमा वैकल्पिक बाटो हुँदै नेपाली रोजगारीका लागि जाने क्रम पनि बढ्दै गएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयकै कतिपय अध्ययनहरुले औल्याएका छन् । पछिल्लो समय बेलायत, क्यानडा, अमेरिका र इटलीजस्ता विकशित देशले नेपालबाट दक्ष तथा अदक्ष कामदार लैजाने खोजेको विभागले जनाएको छ । नेपालले बेलायतसँग श्रमसम्झौता गरेपनि कामदार पठाउन सकेको छैन ।
दूतावास नभएर मागपत्र प्रमाणीकरणमा समस्या हुँदा नेपालले रोजगारीका अवसर गुमाउनुपरेको रोजगार व्यवसायीले बताउँदै आएका छन् । युरोपका देशमा मागपत्र प्रमाणीकरणलाई सहज बनाउँदा वार्षिक एक लाख कामदार म्यानपावरमार्फत रोजगारीमा पठाउन सकिने म्यानपावर व्यवसायीहरु बताउँछन् ।
सरकारी नीतिकै कारण युरोपका देश कामदार पठाउन ५ महिनासम्म कुर्नुपरेको उनीहरको गुनासो छ । भने, समयमा भिसा प्रमाणिकरण नहुँदा कोटा समेत गुम्ने गरेको म्यानपावरको आरोप छ ।
श्रम सम्झौता नगरी वैदेशिक रोजगारीमा जाँदा श्रमिकको मानसिक तथा आर्थिक शोषण पर्ने गरेका छन् । पछिल्लो समय दैनिक दुई हजार हाराहारी युवा कामको खोजीमा विदेशिने गरेका छन् । पछिल्लो समयमा युरोपका देश दैनिक करिब २ सय जना कामदार जाने गरेको विभागले जनाएको छ ।
नेपालले मलेसिया, कतार, दक्षिण कोरिया, यूएई, जापान, इजरायल, मोरिसस जस्ता केही मुलुकसँग श्रम सम्झौता/समझदारी गरेको छ । सम्झौताअनुसार काम, पारिश्रमिक तथा अन्य सेवा सुविधा नपाउने समस्या छ ।
प्रकाशित समय : ०८:०० बजे



















