global ime bank Long Banner Ad

गृहपृष्ठ मध्यपहाडी राजमार्ग : सम्झौताको सात वर्षपछि ठेक्का रद्द गरिँदै

मध्यपहाडी राजमार्ग : सम्झौताको सात वर्षपछि ठेक्का रद्द गरिँदै

मध्यपहाडी राजमार्ग : सम्झौताको सात वर्षपछि ठेक्का रद्द गरिँदै

राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको मध्यपहाडी पुष्पलाल राजमार्गको काम समयमै सम्पन्न नगर्ने दुई सडक खण्डका ठेकेदारको ठेक्का रद्द गर्ने प्रक्रिया सुरु भएको छ । मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत बागलुङमा पर्ने एक सय ४२ किलोमिटरमध्ये जम्मा २५ किलोमिटर सडक खण्ड कालोपत्र हुन सकेको  छैन तर  अन्य सडक कालोपत्र भइसकेर हस्तान्तरणको प्रक्रियामा छ ।

समस्याग्रस्त जिल्ला सदरमुकामको उपल्लाचौरदेखि घोडाबाँधेसम्मको २५ किमी सडकको जिम्मा पाएको दुई निर्माण कम्पनीको ठेक्का तोड्ने प्रक्रियामा लागिएको पर्वतस्थित मध्यपहाडी पुष्पलाल राजमार्ग आयोजना कार्यालयले जनाएको छ ।

बागलुङको उपल्लाचौरदेखि १३ किलोमिटर पहिलो खण्ड र घोडाबाँधेसम्मको १२ किलोमिटर दोस्रो खण्डको निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द गर्न मध्यपहाडी राजमार्ग निर्देशनालयमा पठाउने तयारी गरिएको उक्त कार्यालयका प्रमुख कल्पना अधिकारीले जानकारी दिइन् ।

“निर्माण व्यवसायीको चरम लापरबाही भयो, तल्लो खण्डमा चार पटक र उपल्लो खण्डमा पाँच पटक म्याद थप्दासमेत कालोपत्र भएन, अब रद्द गर्नुको विकल्प रहेन, उपल्लो सूर्य कन्स्ट्रक्सनको बोलपत्र रद्दका लागि  तेस्रो प्रक्रियामा पुगेका छौँ, तल्लो भारत सिद्धसाई कम्पनीको नाममा पनि  मङ्गलबार सूचना निकालेका छौँ”, आयोजना प्रमुख अधिकारीले भनिन्, “दुई वर्षमा सक्ने काम पटक–पटक म्याद थप गर्दासमेत नसक्नु भनेको चरम लापरबाही हो दुवै ठेक्का सम्झौता रद्द गरेर नयाँ प्रक्रियामा जान्छौँ ।”

दुई वर्षमा सक्नेगरी निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीले ठेक्का सम्झौता भएको सात वर्षसम्म कालोपत्र गर्न नसक्दा उक्त कार्यालयले ठेक्का रद्द गर्ने प्रक्रिया  अगाडि बढाएको हो ।

कार्यालयका सूचना अधिकारी  इञ्जिनियर पवन सुवेदीले दुवै खण्डमा गरी १३ किमी सडक कालोपत्रका लागि पूर्वाधारसमेत निर्माण नगरिएका कारण असारसम्म म्याद भएका दुवै निर्माण कम्पनीलाई सम्झौता रद्द गर्नेगरी प्रक्रिया अगाडि बढाइएको जानकारी दिए।

“निर्माण कम्पनीको ढिलाइले सीमा नाघ्यो, नागरिक स्तरबाट समेत आन्दोलन भइरहेका छन्, असारसम्म कालोपत्र सक्ने कुनै सङ्केत देखिएन फिल्डमा कामदार देखिएनन् उपल्लो १२ किमी सडकको सूर्य कन्स्ट्रक्सनविरुद्ध  पत्रिकामा सूचना प्रकाशित गरी धरौटी रकम जफत गरेर निर्देशनालय पठाउन थालिएको छ, तल्लो भारत सिद्धिसाईको ठेक्का रद्द गर्ने विषयमा पत्रिकामा सूचना प्रकाशित गरिएको छ”, उनले भने “आगामी असारको २० सम्म तल्लो खण्ड र असार ५ गतेसम्म उपल्लो खण्डको सम्झौता म्याद छ तर काम नसक्ने भएपछि म्याद अगावै ठेक्का रद्दको प्रक्रियामा गएका हौँ ।”

उपल्लाचौरदेखि १३ किलोमिटर सडकको भारत÷सिद्धिसाई जेवीसँग २०७३ माघमा दुई वर्षमा सक्नेगरी ठेक्का सम्झौता गरिएको थियो । अहिलेसम्म चार पटक म्याद थप गर्दासमेत बल्ल सात किमी सडक मात्रै कालोपत्र गरेको छ भने अझै छ किमी सडक कालोपत्र गर्न बाँकी रहेको छ ।  उक्त खण्डको सात वर्षमा ७३ प्रतिशत भौतिक प्रगति र  ६९ प्रतिशत आर्थिक प्रगति भएको थियो । उक्त सडकमा पाँच किलोमिटरमा पूर्वाधार निर्माणको कामसमेत बाँकी छ ।

यस्तै बिहूँदेखि घोडाबाँधेसम्मको १२ किमी सडक कालोपत्रका लागि २०७२ साल माघमा दुई वर्षमा कालोपत्र सक्नेगरी सूर्य कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता गरिएको थियो । हालसम्म पाँच पटक ठेक्का सम्झौता म्याद थप भएको उक्त सडक खण्डको म्याद असारसम्म भए पनि ठेक्का रद्द गर्न लागिएको हो । काम नगरेपछि ठेक्का रद्द गरी धरौटी रकम जफत गरेर निर्देशनालय पठाइने र निर्देशनालयले सडक विभागमा लगेर ठेक्का रद्द गरी नयाँ ठेक्का आह्वान गर्ने छ । बाह्र किलोमिटर सडकमध्ये हालसम्म उपल्लो खण्डमा छ किलोमिटर सडक कालोपत्र भए पनि पाँच पटक म्याद थप्दासमेत छ किलोमिटर सडक कालोपत्र गर्न अझै बाँकी रहेको छ ।

प्रकाशित समय : १४:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु