गृहपृष्ठ सडक दुर्घटनामा दैनिक आठ नेपालीको मृत्यु, राष्ट्रिय ट्रमा नीति ल्याउन कार्कीको माग (भिडियो सहित)
सडक दुर्घटनामा दैनिक आठ नेपालीको मृत्यु, राष्ट्रिय ट्रमा नीति ल्याउन कार्कीको माग (भिडियो सहित)
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तोसिमा कार्कीले सडक दुर्घटनालाई राष्ट्रिय संकटको रूपमा चित्रण गर्दै राष्ट्रिय ट्रमा नीति आवश्यक रहेको बताएकी छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नेपालमा सडक दुर्घटनाबाट हुने मानवीय क्षति अत्यन्तै गम्भीर भएपनि राज्यको प्राथमिकतामा नपरेको टिप्पणी गरिन् ।
उनका अनुसार नेपालमा दैनिक औसत आठ जना सडक दुर्घटनामा ज्यान गुमाउने गरेका छन् । ‘बिहान घरबाट निस्किएका धेरै नेपाली बेलुका घर फर्किन सक्दैनन्। कसैको बुबा फर्किंदैनन्, कसैको छोरा–छोरी र कसैकी आमाको काख रित्तो हुन्छ,’ उनले भनिन् ।
सांसद कार्कीले प्रहरी मुख्यालयको तथ्यांक उद्धृत गर्दै वर्षेनी करिब तीन हजार नेपालीले सडक दुर्घटनाका कारण ज्यान गुमाउने गरेको बताइन् । पछिल्लो १० वर्षमा मात्रै २४ हजार ९५ जनाको मृत्यु भएको उल्लेख गर्दै उनले वास्तविक संख्या अझ बढी हुन सक्ने दाबी गरिन् ।
‘सुदूर जिल्लाका धेरै दुर्घटनाहरू अभिलेखमै नपर्ने भएकाले वास्तविक तथ्यांक अझ भयावह हुन सक्छ,’ उनले भनिन्।
उनले सडक दुर्घटनामा ज्यान गुमाउनेमध्ये ७० प्रतिशत १५ देखि ४९ वर्ष उमेर समूहका युवाहरू रहेको बताइन् । ‘यी नै देशको उत्पादनशील शक्ति र परिवारका मुख्य सहारा हुन्। एउटा कमाउने सदस्य गुम्दा परिवार गरिबीको चक्रमा फस्छ, राष्ट्रको उत्पादन क्षमता पनि कमजोर हुन्छ,’ उनले भनिन्।
सांसद कार्कीले सडक सुरक्षा, प्रभावकारी उपचार प्रणाली तथा राष्ट्रिय ट्रमा नीति निर्माणमा सरकार गम्भीर हुनुपर्ने आवश्यकता औंल्याइन् ।
प्रकाशित समय : १४:०४ बजे



















