गृहपृष्ठ टोपबहादुर-आरजुमाथि मुद्धा चले प्रचण्ड सरकार ढल्छ !
टोपबहादुर-आरजुमाथि मुद्धा चले प्रचण्ड सरकार ढल्छ !
ठूला भ्रष्टाचार र अनियमितताका घटनामा राजनीतिक नेतृत्व नै मुछिँदा विगतमा समेत यस्ता प्रकरण ढिसमिस हुने गरेका थिए । त्यो शिलशिला यो प्रकरणमा समेत दोहोरिने लक्षण देखिएको छ । जसमा पहिले एमालेका नेताहरु मात्र जोडिएको देखिन्थ्यो । तर अहिले कांग्रेसका नेता तथा उनीहरुको श्रीमतीसमेत तानिएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका बहालवाला प्रमुख आयुक्तसमेत मुछिएको यो प्रकरणमा अहिले राजनीतिक रंगसमेत मिसिएको छ भने आफ्ना नेता जोगाउन एमाले अध्यक्ष केपी शर्मा ओली दौडधुपमा छन् ।
उता कांग्रेस मौन देखिँदा माओवादीका नेता तथा पूर्वउपराष्ट्रपतिका छोराको नाम पनि अहिले चर्चामा छ । जहाँ सक्रियता देखाएको भनिएको प्रहरीले समेत पक्राउ परेका बिचौलिया सानु भण्डारीले आफ्नो बयान जस्ताको तस्तै नलेखे आत्मदाह गर्ने धम्की दिएपछि उनले भनेका नामहरु लिपिबद्ध भएका थिए । पैसा लिने तर काम नगर्दिने व्यवहारबाट आजित भएका विचौलियाकै कारण अहिले ‘हाई प्रोफाइल’ तानिएको खुलासा हुँदा पक्राउ परेका अभियुक्तले पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणको समेत नाम बयानमा लिएका छन् ।
तर, प्रमाण नभेटिएको भन्दै उनीविरुद्ध पक्राउ पुर्जीको प्रक्रिया भने अघि बढेको छैन । ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भेटेसँगै रायमाझी फरार हुनुले प्रशस्त प्रश्न उठाइरहेको छ । किनकी प्रहरीको फरार सूचीमा रहँदा पनि पर्शुराम बस्नेत, नवराज सिलवाल, लक्ष्मी महतो कोइरी जस्ता ओली निकटका व्यक्तिहरु उनकै छत्रछायाँमा लुकाइएको विगत साक्षी छ । ओलीको यस्तो प्रवृत्तिले ठूला भ्रष्टाचार र गलत आचरणलाई लुकाउन बल पुर्याउने गरेको छ ।
यता पैसा उठाउने बिचौलिया र पीडितबीच भएको कुराकानीमा कांग्रेसका सांसदद्वय आरजु देउवा र मञ्जु खाँणलाई पनि पैसा बुझाएको भन्ने अडियो सामाजिक सञ्जालमा भाइरल छ । अडियोमाथि समेत छानबिनको माग गरी पीडितहरूले प्रहरीमा निवेदन दिएका छन् भने प्रहरीले यसलाई प्रमाणका रुपमा मान्न नसकिने भन्दै आलटाल गरिरहेको छ ।
यहि विषयलाई आधार बनाएको एमाले आफ्ना मात्र नेता किन डामिनुपर्ने ? भन्दै सदनमै कड्किदा कांग्रेसकै नेतामाथि डण्डा चलाउने हैसियतमा प्रधानमन्त्री प्रचण्ड पनि देखिदैनन् । फलतः कसैलाई नछोड्ने सार्वजनिक अभिव्यक्ति दिँदै दबाब बढाएका उनले यसलाई सहज सत्ता सञ्चालनको बार्गेनिङसम्म लान सक्ने देखिन्छ ।
हालसम्म यस प्रकरणमा सरकारका बहालवाला सचिवसहित आठजना थुनामा छन् । विशेष गरी पूर्वगृहमन्त्रीका सुरक्षा सल्लाकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी जस्ता व्यक्तिहरु यस प्रकरणको मुख्य नाइके हुन् भने नाम मुछिएका सचिव पाण्डे, टोपबहादुर रायमाझी, बालकृष्ण खाँड जस्ता व्यक्ति उनीहरुको मतियार हुन् । यी मतियारहरुले विधि कानुनलाई हतियार बनाएर राज्यमाथि नै संगठित अपराध गरेका छन् । हाई प्रोफाइल नेताहरु ठगी अपराधका कसुरदार बन्ने पक्कापक्की भएपछि ठूला नेताहरु नै संरक्षणका लागि कुदाकुद गरिरहेका छन् ।
परिणामतः सरकारी वकिलको कार्यालयमा बयानपत्रहरु फेरिएको खबर छ । हाल नाम मुछिएका कुनै पनि भिआइपीहरु कानुनको कठघरामा नउभिनु पर्ने स्थिति बनाइँदै गरेको खबर छ । त्यसो त हाई प्रोफाइल राजनीतिक व्यक्तिहरु निर्दोष सावित हुने र अन्य कनिष्ठ तथा शक्तिहिनहरु मात्रै कारबाहीमा ‘बलिको बोको’ हुने निश्चित जस्तै बनिरहेको छ ।
प्रकाशित समय : ११:४५ बजे



















