गृहपृष्ठ डाक्टरको ओपीडी शुल्क मापदण्डविपरित बढाइयो
डाक्टरको ओपीडी शुल्क मापदण्डविपरित बढाइयो
नेपाल चिकित्सक संघले निजी अस्पताल सञ्चालकसँगको मिलेमतोमा आफूखुसी बिरामी जाँचको शुल्क बढाउने निर्णय गरेको छ । एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन), चिकित्सक संघलगायतको गत वैशाख १६ को बैठकले तह र अनुभवका आधारमा क्लिनिक तथा निजी अस्पतालले चिकित्सक शुल्क ४ सय २० देखि ९ सय ४० रुपैयाँसम्म लिन पाउने निर्णय गरेको हो ।
यसमा अस्पताल तथा नर्सिङ होमले बढीमा २० प्रतिशतसम्म थप सेवाशुल्क लिन पाउँछन् । अर्थात् ओपीडी चार्ज १ हजार १ सय २८ रुपैयाँसम्म पर्न सक्छ । यो निर्णय जेठ १ गतेदेखि लागू हुनेछ ।
स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७ को दफा ८० अनुसार सेवाशुल्क निर्धारण गर्न स्वास्थ्य मन्त्रालयका सचिवको अध्यक्षतामा ७ जनाको समिति रहने व्यवस्था छ ।
समितिमा मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख, स्वास्थ्य र औषधि विभागका महानिर्देशक, अफिनका अध्यक्ष, उपभोक्ता महासंघका प्रतिनिधि सदस्य रहनेछन् । समितिमा स्वास्थ्य विभागको उपचारात्मक सेवा महाशाखा प्रमुख सदस्य सचिव रहने व्यवस्था छ ।
ओपीडी शुल्क पुनरावलोकन र निर्धारणका लागि चिकित्सक संघलाई २०७८ भदौ १३ मा अख्तियारी दिएका थिए । ‘२०७८ भदौ १३ को राज्यमन्त्रीस्तरीय निर्णयअनुसार नेपाल चिकित्सक संघको २०७८ भदौ ३ को पत्रअनुसार सहमति दिने सम्बन्धमा मन्त्रालयबाट ओपीडी शुल्क पुनरावलोकन तथा निर्धारण नहुन्जेलसम्म ओपीडी सेवाशुल्क चिकित्सक संघले वैज्ञानिक तथा सरोकारवाला निकायहरूको परामर्शका आधारमा तोक्न सकिने व्यहोरा अवगत गर्दछु,’ पत्रमा उल्लेख छ । तर, तत्कालीन मन्त्री श्रेष्ठको यो निर्णय मापदण्डविपरीत छ । यसलाई स्वास्थ्य संस्था सञ्चालन मापदण्डको ठाडो हस्तक्षेप भएको टिप्पणी भइरहेका छन् ।
ओपीडी शुल्क निर्धारण गर्न बसेको बैठकमा आफू उपस्थित भएमा विवादित हुने देखिएपछि स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. मदन उपाध्यायलाई पठाएका थिए ।
शुल्क वृद्धिप्रति जनस्वास्थ्यविद्ले पनि आपत्ति जनाएका छन् । ‘यो रकम सेवामुखीभन्दा पनि व्यापारमुखी देखिएको छ । सर्वसाधारणले धान्न सक्ने गरी शुल्क निर्धारण हुनुपर्छ । यसलाई रोक्न मन्त्रालयलगायत सरोकारवाला निकायले पहल गर्नुपर्छ,’ जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनीले भने ।
२०७७ फागुन ४ मा पनि अफिन र चिकित्सक संघले तह र अनुभवका आधारमा आफूखुसी ३ सय ७० देखि ८ सय २५ रुपैयाँसम्म शुल्क तोकेका थिए ।
प्रकाशित समय : १०:३५ बजे



















