गृहपृष्ठ ‘उद्योगमा देखिएको विद्युत् आपूर्ति समस्या समाधान हुन्छ’

‘उद्योगमा देखिएको विद्युत् आपूर्ति समस्या समाधान हुन्छ’

‘उद्योगमा देखिएको विद्युत् आपूर्ति समस्या समाधान हुन्छ’

नेपाल विद्युत् प्राधिकरणले कोसी प्रदेशका सुनसरी, मोरङ औद्योगिक करिडोरलगायतका क्षेत्रमा देखिएको विद्युत् आपूर्तिको समस्या अल्पकालीन भएको प्रष्ट पारेको छ ।

विनाजानकारी उद्योगहरूको विद्युत् आपूर्ति कटौती गरिएको भन्ने उद्योगीहरूबाट गुनासो आएको थियो । गुनासो आएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आइतबार ऊर्जा क्षेत्रका पत्रकारहरूसँगको भेटमा त्यस क्षेत्रमा देखिएको समस्या १०/१५ दिनमा समाधान हुने र समस्यालाई बुझिदिन उद्योगीहरूलाई आग्रह गरे ।

यस वर्ष हिउँ/पानी नपरेर सुुख्खायाम लम्बिँदा नदी प्रवाहमा आधारित जलविद्युत् आयोजनाहरूको विद्युत् उत्पादनमा करिब ३० प्रतिशत गिरावट आएको बताइएको छ । धनुषाको ढक्केबर सबस्टेसनबाट थप विद्युत् पूर्वतर्फ पठाउन प्रसारण लाइनको क्षमताले नधानेको, सप्तरीको रुपनी सबस्टेसनको बे्रकर चुँडिएको र कटैया-कुशहवा १३२ केभी प्रसारण लाइनमार्फत भारतको बिहारबाट आयात भइरहेको विद्युत् उताबाट कटौती हुँदा मागअनुसार आपूर्ति गर्न समस्या भएको हो, कार्यकारी निर्देशक घिसिङले उल्लेख गरे ।

कार्यकारी निर्देशक घिसिङकाअनुसार ताप्लेजुङ, पाँचथर र इलाममा निर्माण भएका जलविद्युत् आयोजनाहरूको जडित क्षमता करिब २०० मेगावाट भएता पनि हिउँ/पानी नपर्दा अहिले करिब ३० मेगावाट मात्र विद्युत् उत्पादन भई काबेली करिडोर प्रसारण लाइनमार्फत प्रवाह भइरहेको छ । तर, एक दुई दिनदेखि ती आयोजनाहरूबाट विद्युत् उत्पादन बढ्दै गएकोले उद्योगहरूलाई अहिले नियमित विद्युत् आपूर्ति भइरहेको कार्यकारी निर्देशक घिसिङले बताए ।

अहिले प्रणालीमा विद्युत्को उच्चतम माग एक हजार ७५० मेगावाट पुगेको छ । औसत माग एक हजार ३०० मेगावाट र आधार माग एक हजार २७५ मेगावाट रहेको छ । झापाको दमकदेखि अनारमनी क्षेत्रको मात्र विद्युत् माग ८० मेगावाट पुगेको छ ।

प्राधिकरणले कुलेखानी जलाशयलाई २४सै घण्टा पूर्ण क्षमतामा चलाएको छ । आन्तरिक उत्पादनले विद्युत् माग धान्न नसकेपछि दैनिक रुपमा औसतमा ५० मेगावाट आयात गरिएको छ ।

प्रकाशित समय : १९:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु