गृहपृष्ठ माईखोला हाइड्रोपावरको आइपीओ खुल्यो
माईखोला हाइड्रोपावरको आइपीओ खुल्यो
माईखोला हाइड्रोपावर लिमिटेडले आज (शुक्रबार)देखि सर्वसाधारणका लागि आइपीओ निष्कासन तथा बिक्री खुला गरेको छ ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगार रहेका नेपालीहरूका लागि आइपीओ निष्कासन गरेपछि सर्वसाधारणका लागि आइपीओ निष्कासन गरेको हो । कम्पनीले जारी पुँजी ३९ करोड २९ लाख ५६ हजार रुपैयाँको ३९ प्रतिशत अर्थात् १५ करोड २९ लाख रुपैयाँ बराबरको १५ लाख २९ हजार ४११ कित्ता आइपीओ निष्कासनका लागि छुट्याएको थियो ।
कम्पनीले आयोजना प्रभावित स्थानीयमा जारी पुँजीको १० प्रतिशतले हुन आउने ३ लाख ९२ हजार १५७ कित्ता सेयर बाँडफाँट गरिसकेको छ भने सर्वसाधारणमा जारी हुने ३९ प्रतिशत सेयरमध्ये १० प्रतिशत दरको १ लाख ५२ हजार ९४१ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट गरिसकेको छ । बाँकी रहेको सेयरमध्ये पनि ५ प्रतिशत दरको ७६ हजार ४७१ कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ ।
यस्तै, २ प्रतिशत दरको ३० हजार ५८८ कित्ता सेयर कर्मचारीमा बाँडफाँट गरिसकेको कम्पनीले १२ लाख ६९ हजार ४११ कित्ता सेयर सर्वसाधारणमा वितरण गर्न लागेको हो । उक्त आइपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ ।
कम्पनीको आइपीओमा वैशाख १२ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिभित्र पूर्ण आवेदन नपरेमा निष्कासन अवधि वैशाख २४ गतेसम्म लम्बिनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूबाट सि-आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।
कम्पनीलाई इक्रा नेपालले ‘इक्रा एनपी इस्युर डबल बी प्लस रेटिङ’ प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व पूरा गर्न मध्यम सुनिश्चित रहेको संकेत गर्छ ।
प्रकाशित समय : १३:५७ बजे