गृहपृष्ठ अर्थमन्त्रीबाट ठूलो राजनीतिक जोखिम उठाउने कल्पना गरिएको थिएन : डा. रिजाल
अर्थमन्त्रीबाट ठूलो राजनीतिक जोखिम उठाउने कल्पना गरिएको थिएन : डा. रिजाल
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका डा. नेता मीनेन्द्र रिजालले अर्थमन्त्रीबाट ठूलो राजनीतिक जोखिम उठाउने कल्पना नगरिएको बताएका छन् । प्रतिनिधिसभामा बजेटमाथि टिप्पणी गर्दै उनले अहिलेको प्रतिकूल परिस्थितिमा बजेटभन्दा अर्थतन्त्रको विकासका लागि साझा प्रतिबद्धता बनाउनुपर्ने खाँचो औँल्याए ।
‘तपाईंको राजनीतिक दृढता निकै बलियो छ, पुरानो छ तर व्यावसायिक जीवनबाट आउनुभयो,’ उनले अर्थमन्त्रीलाई भने, ‘व्यावसायिक जीवनबाट आएको मानिसमा यति ठूलो राजनीतिक जोखिम उठाउने कल्पना गरेको थिएन, त्यो काम प्रधानमन्त्रीले गर्नुपर्थ्यो, प्रधानमन्त्रीले फराकिलो दृष्टिकोण प्रस्तुत गर्न सक्नुपर्थ्यो, त्यो नेतृत्व गर्न सक्नुपर्थ्यो, एउटा राष्ट्रिय अठोट निर्माण गर्न सक्नुपर्थ्यो ।’
हरेक‑हरेक क्राइसिस नयाँ अपरचुनिटी भएको र प्रधानमन्त्रीले यति गर्न सक्ने उनले बताए । अर्थमन्त्रील खर्च पुनरावलोकनका लागि काम गरेको भए अर्को २०‑२५ वर्षसम्म सम्झिने अर्थमन्त्रीका रुपमा रहने तर त्यता हिम्मत नगरेको उनले सुझाव दिए । ‘प्रधानमन्त्रीले एउटा अठोटका साथ नेतृत्व गर्ने अवसर गुमाउनुभयो,’ डा. रिजालले भने, ‘अझै पनि भन्छु यो ८३ पेजको दस्तावेजलाई बिर्सौं, एकपल्ट फेरि हामी घोत्लियौँ, अब अर्थतन्त्र उद्धारको काम कसरी गर्ने ? राहतको काम कसरी गर्ने ? सुरक्षित रुपमा घरघरमा कसरी पु‑याउने ? खुम्चिएको अर्थतन्त्रलाई कसरी माथि उठाउने ? त्यसका लागि साझा कुरा के हुन्छ ? जसरी भूकम्पपछि साझा अठोट गरेर संविधान बनायौँ, त्यसैगरी साझा अठोट गरेर कसरी अर्थतन्त्र बनाउन सकिन्छ, त्यसरी सोच्नुभयो भने अहिले पनि यो क्राइसिसलाई अपरचुनिटीमा परिवर्तन गर्न सकिन्छ ।’
आन्तरिक ऋण धेरै उठाउँदा निजी क्षेत्र प्रतिस्पर्धी बन्न नसक्ने, जसका कारण ७ प्रतिशतको आर्थिक वृद्धि हासिल हुन नसक्ने उनले ठोकुवा गरे । नेता रिजालले बजेट सुरुमा ठिकै लागे पनि मिहिन रुपमा हेर्दै जाँदा ठिक नलागेको बताएका छन् । ‘सारा विश्वले शताब्दियताको संकट बोकिरहेको छ,’ उनले भने, ‘तर नेपाल सरकारका अर्थमन्त्री कसरी अघि बढिरहेका छन्, थाहा हुन सकेन ।’
उनले पुँजीगत खर्चका लागि स्रोत साधन नपुग्ने गरी बजेट विनियोजन किन गरियो ? भन्दै प्रश्न गरे । ‘विद्वान अर्थमन्त्रीले ८३ पेजको दस्तावेज त्यत्तिकै ल्याउनुभयो भन्ने लाग्दैन,’ नेता रिजालले भने, ‘तर धेरै ठाउँमा बिना अध्ययन बजेट विनियोजन गरिएको छ ।’
प्रकाशित समय : १९:४३ बजे



















