गृहपृष्ठ नाम जस्तै काम गर्ने शकुन्तला, जसको संयोजनमा बाजुराका कुपोषित आमाले सहयोग पाए
नाम जस्तै काम गर्ने शकुन्तला, जसको संयोजनमा बाजुराका कुपोषित आमाले सहयोग पाए
‘रेली बिक सहयोग अभियान’की संयोजकसमेत रहेकी एनआरएनए युकेकी महिला उपाध्यक्ष शकुन्तला गुरुङ पौराणिक कालकी शकुन्तला जस्तै छिन् । बेलायतको अल्डरसटमा व्यवसाय गरी बस्ने गुरुङ सरल, स्वच्छ र गरिब दुखीहरुको खोजी गरि हिड्ने सहयोगी मनकारी हुन् । यीनै शकुन्तला हुन्, जसले दुरदराजकी रेली बिकको खोजी गरी सहयोग जुटाउने काम गरेकी छिन् ।
अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा एनआरएनए युकेले भव्य कार्यक्रम गर्ने तयारी गरेको थियो । तर अध्यक्ष सुनिल बाबु खडका र कार्यसमितिको सक्रियतामा उक्त दिन तडकभडकका साथ कार्यक्रम गरिएन । कारण थियो, तडकभडकपूर्ण कार्यक्रम गर्नुभन्दा बरु त्यो खर्च जोगाएर कुनै दिनदुखीलाई सहयोग गर्ने ।
त्यसका लागि विगत भन्दा पृथक तरिकाले नारी दिवस मनाउने निर्णय गरेको एनआरएनए युकेले बाजुरा जिल्लाको विकट गाउँमा सहयोग पुर्याएको छ । त्यो सहयोग कुपोषणका कारण आफ्नो दुध नआएपछि बाख्राको दुध खुवाएर चारवटा बालबच्चालाई दुःखका साथ लालनपालन गरिरहेकी आमा रेली बिकले पाएकी छिन् । र त्यो सहयोगको संयोजन गर्ने काम उनी मनकारी शकुन्तला गुरुङले गरेकी थिइन् ।
एनआरएनए युकेका प्रवक्ता शशांक शर्माका अनुसार बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका–१ मुक्तिकोट गाउँका १७ जना कुपोषित आमा र बच्चालाई एनआरएनए युकेले सहयोग गरेको छ । यसको लागि एनआरएनए युकेले १ लाख ५७ हजार पठाएको थियो ।
जसबाट रेली बिकको परिवारलाई ५३ हजार र अन्य १४ जना आमालाई ७ हजार ३ सयका दरले सहयोग गरिएको छ । त्यसबाहेक अन्य दुई जना आमालाई ८ हजार ३ सय नगद सहयोग उपलब्ध गराइएको छ । जुन सहयोग गाउँपालिका अध्यक्ष भरतबहादुर रोकायाले हस्तान्तरण गरेका थिए ।
बाजुरा जिल्ला मुक्तिकोट आधारभुत स्वास्थ्य चौकीले दिएको तथ्यांक अनुसार यो ईलाकामा रेली बिक जस्ता हजारौं कुपोषित आमा र बालिकाहरु छन् ।
रेली बिकको कुपोषणका कारणले दुध नआउने भएपछि उनका डेढ बर्षका छोरा कुपोषणको कहरमा रहेको थिए । उनले ‘बाख्राको दुध खुवाएर ४ सन्तान हुर्काएको र ४ जना बचाउन नसकेको बताएकी छिन् । जुन निकै कहालीलाग्दो अवस्था हो । सहयोग पाएपछि खुसी भएकी रेलीले पोषणयुक्त खाना किनेर खाने बताइन् । मुक्तिकोट गाउँमा मात्र कुपोषणबाट धेरै आमा र बच्चा प्रभावित बनेका छन् ।
बुधवार मात्र जिल्ला अस्पताल बाजुरामा ५ महिनाका बच्चाको कुपोषणबाट मृत्यु भएको थियो । बुढिनन्दा नगरपालिका–६ बस्ने रमिता नेपालीको ५ महिने छोरा जनम नेपालीको कुपोषणका कारणले मृत्यु भएको अस्पतालमा कार्यरत पोषण कार्यक्रम संयोजक निर्मला सुनारले बताइन् ।
स्वामीकार्तिक खापर गाउँपालिका–१ मुक्तिकोट गाउँमा बैशाख यता ५ जना बालवालिकाको मृत्यु भएको छ । बाजुरामा बर्षेनी रेकर्डमा नआएका धेरै बालबालिका कुपोषणका कारणले मृत्युवरण गर्न बाध्य छ ।
सुदुरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले भर्खर मात्र गरेको कुपोषणको सर्भेमा बाजुरामा कुपोषणको दर उच्च रहेको देखाएको छ । बाजुराका ९ स्थानीय तहका ६९ वडामध्ये २७ वडाका घरघरमा पुगेर ५ बर्ष मुनिका बालबालिकामा सर्भे गरिएको थियो । सर्भेक्षणमा पुड्कोपन ४८.८ प्रतिशत, ख्याउटेपन ८.६ प्रतिशत र कमतौल ३०.६ प्रतिशत देखिएको थियो । तथ्यांक अनुसार बाजुरामा ४८ प्रतिशत कुपोषण रहेको देखाएको छ ।
यो दरले बाजुराका बालबालिकामा कुपोषणको दर निकै उच्च रहेको देखाएको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख महेश चन्दले बताए । बाजुरामा आमा र बच्चाको मृत्यु उच्च रहेपनि जिल्लास्थित स्वास्थ्य संस्थामा यो विवरण उपलब्ध छैन ।



प्रकाशित समय : २३:४७ बजे


















