युएईद्वारा नेपालसामु विशाल लक्ष्य प्रस्तुत
वि.सं.२०७९ चैत २ बिहीवार १३:३४
shares

आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा युएईले नेपालसामु जितका लागि ३११ रनको विशाल लक्ष्य प्रस्तुत गरेकाे छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनायो । यो एकदिवसीय क्रिकेटमा नेपालविरुद्ध विपक्षी टोलीले दिएको हालसम्मकै उच्च लक्ष्य हो ।
सन् २०१९ बाट सुरु विश्वकप लिग-२ सिरिजको समेत यो अन्तिम खेल हो । लिग-२ अन्तर्गत नेपालले अहिलेसम्म ३५ खेलबाट ३८ अंक बनाएको छ । आज खेलमा जित निकालेको खण्डमा नेपाल नामिबियालाई पछि पार्दै तेस्रो स्थानमा रहेर लिग-२ अन्त्य गर्दै जिम्बावेको टिकट काट्नेछ ।
यता समान खेलबाट ३३ अंक जोडेको युएई छैटौं स्थानमा छ । लिग-२ मा स्कटल्याण्ड शिर्ष स्थानमा र ओमान दोस्रो स्थानमा रहँदै विश्वकप छनोटमा पुगिसकेका छन् । अब शीर्ष तीनमा नामिबिया र नेपालमध्ये एक हुने निश्चित भएको छ । नामिबिया अहिले ३६ खेलबाट ३९ अंकसहित तेस्रो स्थानमा छ भने अमेरिका ३६ खेलमा ३५ अंकसहित हाल पाँचौ स्थानमा छ ।
आजको खेल जितेमा नेपाल शीर्ष ३ मा रहँदै सोझै विश्वकपमा छनोट हुनेछ । यदि आजको खेलमा पराजित भएमा नेपालले विश्वकप छनोट खेल्न प्लेअफको माध्यमबाट जानुपर्ने हुन्छ ।
























