कुमारी बैंकले ल्यायो बिमा सहितको मुद्दती निक्षेप योजना
वि.सं.२०७९ चैत १ बुधवार १४:१३
shares

कुमारी बैंकले जीवन बिमा सुविधा सहितको थप मुद्दती निक्षेप योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत ग्राहकहरुको मुद्दती रकम २ गुणा वृद्धि हुनुका साथै अवधि जीवन बिमामार्फत जोखिम व्यवस्थापन हुनेछ ।
बैंकले कुमारी जीवन बिमा २ एक्स मुद्दती खाता प्लसमा ६ वर्ष ८ महिना ९ दिनमा मुद्दती रकम दुई गुणा हुने व्यवस्था गरेको जानकारी दिएकाे छ । सो योजनाअन्तर्गत मुद्दती रकम बराबरको अवधिक जीवन बिमा सुविधा वापत लाग्ने शुल्क बैंकले नै भुक्तानी गर्ने बताइएकाे छ । बैंककाे अनुसार यस योजनामा १८ देखि ५० वर्ष उमेर समूहका ग्राहकले न्यूनतम पचास हजार देखिको मुद्दती खाता खोल्न सक्नेछन् । सो योजनाअन्तर्गत मुद्दती निक्षेपकर्ताले अधिकतम एक करोड रुपैयाँसम्मको जीवन बिमा सुविधा प्राप्त गर्न सक्नेछन् ।
यस याेजनामा ग्राहकहरुले निक्षेप अवधिसम्मका लागि जीवन बिमा सुरक्षण प्राप्त गर्नका साथै सोही अवधिमा मुद्दती रकम दुई गुणा वृद्धि हुने बैंकले बताएकाे छ । यस योजनाको बिमा प्रदायकमा महालक्ष्मी लाइफ इन्स्याेरेन्स कम्पनी रहेको छ ।
कुमारी बैंकले देशव्यापी ३०४ शाखा सञ्जाल, २९४ एटीएम, ६२ शाखारहित बैंकिङ इकाई तथा ४९ एक्सटेन्सन काउन्टरबाट सेवा प्रदान गर्दै आएको छ ।

























