nmb bank

गृहपृष्ठ पाकापुस्ताकै भरमा ‘मारुनी नाच’

पाकापुस्ताकै भरमा ‘मारुनी नाच’

सुशीला रेग्मी

पाकापुस्ताकै भरमा ‘मारुनी नाच’

मारुनी नाचका अगुवा सुवेदार सुर्जबहादुर थापा उमेरले ७८ वर्षमा टेके । उनको मारुनी नाच्ने र गाउने मोह भने जवानी अवस्थाकै जस्तै छ । युवापुस्तालाई साथमा लिएर विभिन्न स्थानमा मारुनी नाच देखाउन थापा पुग्छन् । पाल्पाको रामपुर नगरपालिका–२ का उनी आफूले जाने बुझेदेखि बाउबाजेका साथ मारुनी देखाउन थालेको बताउँछन् । गाउँमा अहिले कृष्णचरित्र मारुनी नाच समूह गठन गरेर उहाँकै नेतृत्वमा देखाइन्छ ।

“युवापुस्ता मारुनीमा रहर गर्दैन, अधिकांश पढाइ, पेसा व्यवसायको सिलसिलामा घरबाहिर छन्”, थापाले भने,“केहीलाई साथमा लिएर सिकाउने र नचाउने गरेका छौँ ।” मारुनी गाउने र नाच्ने भनेपछि उनी औधी खुसी हुन्छन् । पहिला अहिलेजसो मारुनी नाच्नेका लागि पोशाक उपलब्ध थिएन । आमा, दिदीबहिनीका सारी, चोलोलगायत वेषभूषा, गरगहना लगाएर नाच्ने गरेको उनी सुनाउँछन् ।

पूजाआजा, पास्नी, छैँठी, न्वारन, दशैँ–तिहारजस्ता पर्वमा मारुनी नाच्ने चलन थियो । अनिवार्यजसो यी पर्वमा मारुनी नाचिने गरेकामा पछिल्ला वर्षमा युवापुस्ताको मोह नहुँदा कमै मात्रामा देखाइने गरिएको छ । हिजोआज मेला, महोत्सवलगायत कार्यक्रममा संस्कृति जोगाउन मारुनी नाच नाचिन्छ । पुरुषले महिलाको वेषभूषा सारी, चोलो, पटुका, कण्ठमाला, चुरापोतेलगायत गरगहनामा सजिएर मारुनी नाचिन्छ ।

आफ्नो कला, संस्कृति जोगाउन पाका पुस्तासँग समूहमा आबद्ध भएर मारुनी नाच्ने गरेको बताउँछन्, ४३ वर्षीय दिनेश थापामगर । “बाउबाजेबाट सीप सिकेर १३ वर्षको उमेरदेखि नै मारुनी नाच्न थालेको हुँ, पहिलाको र अहिलेको मारुनीमा धेरै फरक छ, पहिला मारुनीका सबै विधि देखाउने गरेकामा अहिले समुदायमा सिक्ने व्यक्ति कम हँुदा कहिलेकाहीँ मेला महोत्सव, कार्यक्रममा मात्रै सीमित बन्न पुगेको छ”, उनले भने ।

टोलटोलमा यस्तो नाच अहिले कमै देख्न पाइन्छ । परम्परागत संस्कृति संरक्षणमा कसैको ध्यान नजाँदा मारुनी नाच नाचिन छाडेको हो । पुरुष नृत्यकारले महिलाको वेषभूषामा सजिएर नाच्दा दर्शकमाझ रमाइलोपन ल्याउँदछ । नृत्य मनोरञ्जनका लागि मात्र मारुनी देखाउने कार्य नभई समाजको परम्परागत कला–संस्कृति जोगाउनसमेत पाका पुस्ता भने निरन्तर लागिरहेका छन् ।

पुरानो रीतिरिवाज जोगाउँदै वाद्यवादनको तालमा गीतको भावअनुसार नाच्दै जाँदा छुट्टै आनन्द हुने स्थानीय ज्ञानबहादुर सारुमगरले बताए । पहिला त विभिन्न पर्व, पूजाआजा, उत्सव, पास्नी, छैँठीमा अनिवार्य मारुनी नाच्ने गरे पनि अहिले भने सबै कामकाजमा व्यस्त रहँदा कमै मात्रामा देखाइने उनको भनाइ छ ।

मारुनी भगवान्का विभिन्न गीत गाउने र सो गीतको भावअनुसार नृत्यकारले आफ्नो नाच देखाउने गरिन्छ । गीत झट्ट बुझ्न गाह्रो पर्छ । गीतमा पोख्त कलाकारले मात्रै नाच्न सक्छन् । ‘कमलको फूल लिन जाउन भानिज, शिरैउपर छाता छैन जान्न मत मामा’ यसरी गीतमा डुबुल्की मार्न सकिएन भने सामान्य सुनेको भरमा मात्रै नाच्न नसकिने मारुनीका कलाकार ६३ वर्षीय दानबहादुर थापाको भनाइ छ ।

“बेग्लै लय भएकाले झट्ट गीतको अर्थ जोकसैले बुझ्न सक्दैनन्, मारुनी नाच्ने कलाकारले पहिला गीत राम्रोसँग सुनेरमात्रै नाच्नुपर्दछ, गीत बुझेपछि भने नाचु–नाचु भइरहन्छ”, उनले अनुभव सुनाए । गाउँमा हुने विभिन्न शुभकार्य, पूजाआजा, न्वारन, छैँठीजस्ता कार्यमा मारुनी नाच्दा गाउँ नै उल्लासमय हुने गरेकामा अहिले खोज्नुपर्ने अवस्था रहेको ५९ वर्षीय ताराबहादुर थापा बताउँछन् ।

गीतमा भगवान् कृष्णका जन्मदेखिका उनले आफ्नो जीवनका कालखण्डमा गरेका विभिन्न क्रियाकलाप जोडिन्छन् । मारुनी नाचलाई कृष्णचरित्र नाच, खेलीनाच पनि भनेर चिनिन्छ । एक समूहमा मारुनी देखाउन कम्तीमा पनि २० कलाकार चाहिन्छन । मारुनी नाचमा कम्तीमा दुई मारुनी, दुईदेखि तीन मादले, एक पुरसिङ्गे तथा छदेखि १० सम्म गायक हुन्छन् । गायकमध्ये एक गुरु हुन्छन् । गुरुले गीत झिकेपछि अन्य कलाकारले छोप्ने र नाच्ने गरिन्छ । गीत निकाल्ने गुरुलाई ‘रौरा’ पनि भनिन्छ । ‘मारुनी’ नै नृत्यको मुख्य पात्र हुन् । मारुनी मादलेको तालसँगै अगाडि–पछाडि घुमेर नाच्छन् । वेषभूषामा सजिएर एकपटक मारुनी बनिसकेपछि नाचको पूरा अवधिसम्म मारुनी बदलिन पाउँदैनन् । एउटा गीत पूरा नहुँदासम्म नाचिरहनुपर्दछ ।

मारुनीसंगै पुरसिङ्गे पनि नाच्छन् । पुरसिङ्गेले महिलाको कपडा लगाएको हँुदैन । मारुनीकै हाउभाउमा ताल मिलाउँदै सँगसँगैजसो पुरसिङ्गे नाच्ने गर्दछन् । पुरसिङ्गे फेरबदल हुन सक्छन् । मारुनी नाचमा मादल, झ्याली, मृदुङ्गालगायतका विभिन्न वाद्यवादनका सामग्री आवश्यक पर्छ । पाल्पाको ग्रामीण भेगमा पहिले मारुनी नाच्ने समूह बाक्लै भेटिन्थ्यो । हिजोआज भने केही ठाउँमा मात्रै नाच्ने गर्दा मारुनी नाच्ने समूह कम हुन थालेको छ । जिल्लाका रामपुर, निस्दी, पूर्वखोला, माथागढी, तिनाउँका केही ठाउँमा मारुनी नाच बेलामौकामा देखाइने गरिन्छ ।

प्रकाशित समय : ११:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु