गृहपृष्ठ नागढुंगा सुरुङ १४ महिनामा पूरा होला ?
नागढुंगा सुरुङ १४ महिनामा पूरा होला ?
नागढुंगा–सिस्ने खोला सुरुङमार्गको सुरु ठेक्का सम्झौताअनुसार काम नसकिएपछि एक वर्ष म्याद थपिएको छ । ठेक्का सम्झौता सकिनै लाग्दा काम नसकिने देखिएपछि ०८१ वैशाख १२ सम्म म्याद थपिएको हो । निर्माण थालेको तीन वर्षमा भौतिक प्रगति ५०.१५ प्रतिशत मात्र पुगेको छ । सुरु ठेक्का सम्झौताअनुसारको म्याद ०८० वैशाखसम्म मात्र थियो ।
आयोजनाले द्रुत गतिमा काम भइरहेको दाबी गर्दै आए पनि काठमाडौंतर्फ मुआब्जा वितरण गर्न नसक्दा कामले गति लिन नसकेको हो । तोकिएको समयमा काम नसकिने भएरै म्याद थपिएको नागढुंगा–सिस्ने खोला सुरुङ आयोजनाले जनाएको छ।
काठमाडौंको बलम्बु क्षेत्रमा पर्ने घरका लागि २ करोड ३० लाख र जग्गाको मुआब्जा २३ करोड ५० लाख रुपैयाँ वितरण गर्न बाँकी छ । यसका लागि अर्थ मन्त्रालयसँग रकम निकासा माग गरिएको छ ।
आयोजनाका अनुसार मुख्य सुरुङको दूरी २.६८८ किमि छ । यसमध्ये १८६९ मिटर खनिसकिएको छ । आपत्कालीन सुरुङ २१२७ मिटर खनिएको छ । समग्र सुरुङ खन्ने काम ७६.३० प्रतिशत सकिएको आयोजनाले जनाएको छ । आयोजनाका अनुसार अहिलेसम्म ३ वटा अन्डर पास, ४ वटा बक्स कल्भर्ट, एउटा ओभरपास र ३ वटा पुल निर्माण गरिएको छ । एउटा फ्लाइओभर निर्माण गर्नुपर्नेछ । त्यसको काम अघि बढे पनि मुआब्जाको समस्या कायमै रहेको आयोजनाले जनायो ।
सुरुङ निर्माणमा जापानको साढे १६ अर्ब रुपैयाँ ऋण सहयोग छ । ठेक्का भने साढे २२ अर्ब रुपैयाँको हो । यसमा ६ अर्ब रुपैयाँ नेपाल सरकारको छ । चालु आर्थिक वर्षमा सुरुङ खनिसक्ने भन्दै ५ अर्ब २० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
प्रकाशित समय : ०८:५३ बजे



















