गृहपृष्ठ आठ दलीय गठबन्धनले सातै प्रदेशमा कार्यक्रम गर्ने, अरू के-के भए निर्णय ?
आठ दलीय गठबन्धनले सातै प्रदेशमा कार्यक्रम गर्ने, अरू के-के भए निर्णय ?
राष्ट्रपति निर्वाचनअघि बनेको आठ दलीय गठबन्धनको आज बसेकाे बैठकले फागुन १८ गते संघीय सांसदलाई अभिमुखीकरण गर्ने निर्णय गरेको छ । १९ गते सातै प्रदेशमा निर्वाचनलक्षित कार्यक्रम गर्ने पनि निर्णय गरेको छ ।
राष्ट्रपतिको निर्वाचनको लागि आठै दलका एक/एकजना प्रतिनिधि रहने गरी एक कार्यदल पनि बनाएकाे बैठकमा सहभागी जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए । कार्यदलमा माओवादी केन्द्रका महासचिव देव गुरुङ, एकीकृत समाजवादीका महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ, जनमत पार्टीका नेता अब्दुल खाँ, लोकतान्त्रिक समाजवादी पार्टीबाट शरतसिंह् भण्डारी, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी र राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसी रहेका छन् । उक्त समितिले जहाँजहाँ जो-जससँग कुरा गर्नुपर्छ गर्ने कार्याधिकार पाउनेछ ।
बैठकले सबै दललाई राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका उमेदवार रामचन्द्र पौडेललाई सहयोग गर्न आह्वान पनि गरेको छ । यस्तै, बैठकले संघ तथा प्रदेशसभाका सांसदहरुलाई २३ गते साँझसम्म काठमाडौं आइसक्न निर्देशन दिएको छ । २४ गते सबै सांसदलाई काठमाडौंमा ब्रिफिङ गरिने श्रेष्ठले जानकारी दिए ।
उक्त ब्रिफिङमा सांसदहरुलाई नयाँ समीकरणको आवश्यकता, संविधानको रक्षा, प्राप्त उपलब्धि बचाउन नयाँ गठबन्धन आवश्यक भएकोबारे स्पष्ट पार्ने र जनतामा रहेका भ्रम हटाउन सक्षम बनाउने तयारी आठ दलीय गठबन्धनले गरेकाे छ ।
बैठकमा प्रधानमन्त्री तथा माओवादीका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, महासचिव देव गुरुङ, कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपा (एस)का नेता घनश्याम भुसाल, लोसपाका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ, नेत्री एलिजा गौतमलगायत सहभागी थिए।
निर्वाचन आयोगले शनिबार राष्ट्रपतिको मनोनयन दर्ता र फागुन २५ गते राष्ट्रपतिको निर्वाचनको तालिका तय गरेको छ । शुक्रबार बसेको आठ दलको बैठकले कांग्रेसको उम्मेदवारलाई आगामी राष्ट्रपतिको निर्वाचनमा समर्थन गर्ने निर्णय गरेको थियो ।
कांग्रेसले राष्ट्रपतिमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदरवार बनाउने निर्णय गरेअनुसार उनले उम्मेदवारी दर्ता गराएका छन् । नेकपा एमालेले भने सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाएकाे छ ।
प्रकाशित समय : २१:५० बजे


















