global ime bank Long Banner Ad

गृहपृष्ठ चलेन चित्रकला

चलेन चित्रकला

सौखमा सीमित मोफसलको चित्रकला

चलेन चित्रकला

धनकुटाका ५४ वर्षीय चित्रकार मुकुन्द प्रयासले चित्रकला क्षेत्रमा काम गरेको २८ वर्ष भयो । तर उनलाई जिल्लामा सबैले चित्रकार होइन, कार्यक्रमका लागि ब्यानर, ब्याच, फोटोफ्रेमलगायता सामग्री बनाउने मान्छे भनेर चिन्दछन् ।

धनकुटा नगरपालिका–७ मा २०५१ देखि रक–भा एण्ड क्राफ्ट सेन्टर चलाउँदै आएका प्रयास चित्रकलाबाट जीविकोपार्जन सम्भव नदेखेपछि व्यायसायीक क्षेत्रमा लागेको बताउँछन् ।‘मोफसलमा चित्रकलाको बजार छैन’, उनी निरास सुनिए,‘चित्रकलाको चाहना जीवित राख्न कर्मसियल आर्टको सहारा लिनुपर्यो ।’

एउटा चित्र रु तीन सयदेखि रु १० हजारसम्म बेचेको प्रयास बताउँछन् । उनले हालसम्म करिब सात सयसम्म चित्र बनाइसकेका छन् । चित्रकलाबाट जीवन धान्न मुश्किल भएकाले यो आफ्ना लागि सौखमा सीमित भएको प्रयासको भनाइ छ ।

त्यस्तै अर्का चित्रकार डिल्लीराम आले पनि चित्रकला जीवन चलाउनका लागि भन्दा पनि कलाप्रतिको चाहना जीवित राख्न सौखका लागि यसमा लागेको सुनाउँछन् । धनकुटा नगरपालिका–६ का ६८ वर्षीय आलेले २० वर्षको निजामती सेवामा कार्यरत रहँदादेखि चित्रकलाको क्षेत्रमा काम गर्दै आएका हुन् ।

विसं २०७३ मा सेवानिवृत्त भएपछि आले यसलाई पेसाका रूपमा अँगालेर विभिन्न प्रदर्शनी र बालबालिकालाई चित्रकला सिकाउँदै आएका छन् । हालसम्म पाँच हजारभन्दा बढी चित्र बनाइसकेका उनी भन्छन्,‘यसबाट जीविका चल्दैन,तर सौखका लागि मात्र चित्र बनाउँछु ।’

चित्रकलाको विषयमा बुझाउन नसक्दा यो ओझेलमा परेको आलेको बुझाइ छ । दुई चित्रकारको जस्तै ३० वर्षदेखि यस क्षेत्रमा कार्यरत धनकुटा नगरपालिका–६ का ४६ वर्षीय सुशील क्षेष्ठको अनुभव छ । सोह्र वर्षको उमेरबाट चित्रकलातर्फ आकर्षित भएका श्रेष्ठले यसबाट जीविकोपार्जन नभएपछि २०७६ देखि कमर्सियल आर्टको क्षेत्रमा लागेको बताए । हाल सुशील आर्ट सेन्टरको सञ्चालक रहेका श्रेष्ठले सुनाए,‘सुरुमा सौखले चित्रकलामा लागियो ।’

हालसम्म एक सय ५० को हाराहारीमा चित्र बनाएका श्रेष्ठले जिल्लामा फाट्टफुट्ट मात्र चित्रको माग आउने र त्यो पनि महँगो भयो भनेर गुनासो गर्ने गरेको सुनाए । काठमाडौँलगायत ठूला सहरमा चित्रकलाको बजार भए पनि जिल्लामा कला क्षेत्रको प्रचार–प्रसार गर्न नसक्दा बजार अभाव भएको उनको भनाइ छ ।

चित्रकलासम्बन्धी अध्ययन गरिरहेका धनकुटा–६ का सञ्जय धिताल पनि सौखका लागि अध्ययन र चित्रकलामा लागेको बताउँछन् । चित्रकला गहन विषय भएकाले यसबारे सर्वसाधारणलाई बुझाउन कठिन भएको उनले बताए । ‘चित्रकलाबाट समाजलाई जीवनदर्शन सिकाउन सकिन्छ कि भनेर यस क्षेत्रमा लागेको हो, धितालले भने ।

प्रकाशित समय : १६:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु