व्यवस्थित मैदान नभएपनि खेल गतिविधि बढ्दै
वि.सं.२०७९ फागुन ८ सोमवार १२:४८
shares

तनहुँका सात वटा पालिकामा हालै मात्र राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सम्पन्न भएको छ । राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताअन्तर्गत भलिबल, हाइजम्प, लङजम्प, दौडलगायतका विधामा खेलाडीले सहभागिता जनाए । जिल्लाका व्यास, शुक्लागण्डकी र भानु नगरपालिका, बन्दीपुर, घिरिङ, म्याग्दे र आँबुखैरेनी गाउँपालिकाले राष्ट्रपति रनिङशिल्ड सम्पन्न गरिसके भने बाँकी स्थानीय तहले तयारी गरेका छन् ।
जिल्ला खेलकुद विकास समिति तनहुँले सबै पालिकालाई रनिङशिल्ड प्रतियोगिता गर्न आग्रह गरेको छ । प्रदेश खेलकुद परिषद्को निर्णयानुसार फागुन १५ गतेभित्र जिल्लास्तरीय रनिङशिल्ड प्रतियोगिता सम्पन्न गरी जिल्लास्तरीय प्रतियोगिताबाट छनोट भएका खेलाडीको नाम प्रदेशस्तरमा पठाइने खेलकुद विकास समितिका अध्यक्ष अनिल पाण्डेले जानकारी दिए ।
बुधबार मात्रै दमौली बजारमा अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सम्पन्न भएको थियो । प्रतियोगितामा १५ विद्यालयले सहभागिता जनाए । जिल्लामा बास्केटबल प्रतियोगिता आयोजना भएको पहिलो पटक हो ।
जिल्लामा केही समययता खेलकुदका गतिविधि बढ्न थालेको छ । खेलकुदका गतिविधि सञ्चालन भइरहँदा खेलाडीले प्रतिभा प्रस्फुटन गर्ने अवसर पाएका छन् । जिल्ला खेलकुद विकास समिति तनहुँका अध्यक्ष पाण्डे खेलकुदका गतिविधि वृद्धि हुनु सकारात्मक रहेको बताए ।“ जिल्लामा खेलकुदका कार्यक्रम सञ्चालन हुनु राम्रो कुरा हो, खेलकुदका कार्यक्रम सञ्चालन भइरहँदा खेलाडीले क्षमता प्रदर्शन गर्ने अवसर पाएका छन्”, पाण्डेले भने ।
खेलकुदका गतिविधि बढे पनि जिल्लामा व्यवस्थित खेलमैदान भने छैन । यसतर्फ सम्बन्धित स्थानीय तहले चासो देखाउनुपर्छ । “जे जस्तो छ त्यही अवस्थामा खेलकुद भइरहेका छन्, व्यवस्थित खेलमैदान नहुनु जिल्लाका लागि चुनौती हो”, पाण्डेले भने।
बन्दीपुर गाउँपालिकामा पालिकास्तरीय प्रथम अध्यक्ष कप २०७९ फुटबल तथा भलिबल प्रतियोगिता हुने भएको छ । आगामी फागुन १२ गतेदेखि वडा नं ४ भुमर्सेमा रहेको पालिकास्तरीय खेलमैदानमा अध्यक्ष कप सञ्चालन गर्न लागिएको हो । खेलमार्फत अनुशासन र गतिशिलता दिनका लागि प्रथम अध्यक्ष कप आयोजना गरिएको गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताए ।
प्रतियोगितामा दुवै खेलतर्फ प्रथम हुनेलाई ३० हजार, द्वितीयलाई २० हजार र तृतीयलाई १० हजारसहित ट्रफी मेडल र प्रमाणपत्र र सान्त्वना पुरस्कार पाँच हजार प्रदान गरिनेछ ।
प्रतियोगितामा सहभागी हुन पालिकाले सबै वडामा पत्राचार गरिसकेको छ । सम्बन्धित वडाले फागुन १० गतेभित्र समूह प्रमाणित गरी गाउँपालिकाको शिक्षा शाखामा बुझाउनु पर्नेछ । हरेक वडाबाट दुवै खेलमा तीन-तीन वटा टिमले सहभागिता जनाउन सक्नेछन् ।
म्याग्दे गाउँपालिका–४ मनहरिस्थित आदर्श नमुना क्लबको आयोजनामा फागुन १९ देखि ११ औँ आदर्श तथा छैटौँ तारा स्मृति कप प्रतियोगिता हुँदैछ । क्लबले हरेक वर्ष सेभेन ए साइड फुटबल प्रतियोगिता गर्दै आइरहेको छ ।
‘युवाको कामना, सकारात्मक परिवर्तनमा आदर्श नमुना’ भन्ने नारासहित फुटबल प्रतियोगिता गर्न लागिएको क्लबका अध्यक्ष मलिन मल्लले जानकारी दिए । फागुन २७ सम्म सञ्चालन हुने प्रतियोगितामा विजेतालाई नगद एक लाख र उपविजेतालाई ५० हजार प्रदान गरिनेछ ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट डिफेन्डरलाई समेत पुरस्कार प्रदान गरिने क्लबले जनाएको छ । क्लबले २०६८ सालदेखि निरन्तर प्रतियोगिता आयोजना गर्दै आइरहेको छ । तनहुँ फुटबलको इतिहासमा ११ वर्षसम्म अनवरतरुपमा प्रतियोगिता आयोजना गर्ने आदर्श नमुना क्लबमात्रै रहेको दाबी गरिएको छ ।
व्यास नगरपालिका–५ चुँदेर युवा क्लबले आगामी फागुन २९ गतेदेखि चैत ७ गतेसम्म प्रथम उपमेयर कप सेभेन ए साइड फुटबल प्रतियोगिता गर्दैछ । प्रतियोगितामा विजेतालाई दुई लाख दुई हजार दुई सय २२ र उपविजेतालाई रु एक लाख ११ हजार एक सय ११ प्रदान गरिनेछ ।

























