गृहपृष्ठ मेची किनारबाट प्रतिगमनको यात्रा सुरु भयो : माधव नेपाल
मेची किनारबाट प्रतिगमनको यात्रा सुरु भयो : माधव नेपाल
एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले मेची नदी किनारबाट प्रतिगमनको यात्रा सुरु हुने संकेत मिलेको बताएका छन् । त्यसप्रति सतर्क रहँदै प्रतिगमन र अग्रगमनको पक्षमा कित्ता क्लियर गर्न उनले आह्वानसमेत गरेका छन् ।
कास्कीमा आज बिहान आयोजित पत्रकार भेटघाटमा पूर्वप्रधानमन्त्री नेपालले भने, ‘प्रतिगमनको दिशातर्फको यात्रा हुन लागेको संकेत मेची नदीको किनारबाट हामी सबैले पाइसकेका छौं । अब हामी सतर्क बनौं । प्रतिगमनको पक्षमा कोको ? अग्रगमनको पक्षमा उभिने कोको ? अग्रगमनको पक्षमा उभिनेहरु एकताबद्ध हौं ।’ राजतन्त्र फर्काउने उदघोषसहित पूर्वराजा ज्ञानेन्द्र शाहको सहभागीतामा झापाको मेची नदी किनारमा गरिएको कार्यक्रमप्रति संकेत गर्दै नेपालले सो धारणा राखेका हुन्।
नेता नेपालले अहिलेको सत्ता गठबन्धनको पनि आलोचना गरे । ‘खिचडी गठबन्धन’को संज्ञा दिंदै उनले भने, ‘यो संविधान, गणतन्त्र, संघीयताप्रति प्रतिबद्ध छैन ।’ परिवर्तनप्रति पनि गौरववोध गर्ने खालको पनि नभएको उनले बताए ।
एक अर्को प्रसंगमा उनले राष्ट्रिय सहमतिविना राष्ट्रपति पदमा उम्मेदवारी नदिने बताए । ‘अरु पार्टीलेजस्तो हारे पनि जिते पनि हावातालमा उम्मेदवारी दिँदैनौं,’ उनले भने ।
प्रकाशित समय : १०:५७ बजे



















