गृहपृष्ठ सीके राउतले आफ्नै दाइ जयकान्तलाई बनाए योजना आयोगको सदस्य
सीके राउतले आफ्नै दाइ जयकान्तलाई बनाए योजना आयोगको सदस्य
जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आफ्नो दाइ डा. जयकान्त राउतलाई राष्ट्रिय योजना आयोगको सदस्य बनाएका छन् । अध्यक्ष राउतले पार्टीबाट उनको सिफारिस गरेपछि बुधवार प्रधानमन्त्री प्रचण्डले उनलाई राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त गरेका छन् । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट)का वरिष्ठ कृषि वैज्ञानिकसमेत रहेका उनले २०७९ को आम चुनावताका पदबाट राजीनामा दिएका थिए ।
डा. जयकान्त राउत प्रतिनिधिसभाको चुनावमा सप्तरी–२ बाट निर्वाचन लडेका थिए । तर उनलाई जनता समाजवादी पार्टीका नवकिशोर साहले चुनाव हराएका थिए । नवलकिशोर साहले २३ हजार ६०४ मत ल्याएका थिए भने जयकान्त १९ हजार ९९६ मत ल्याएर पराजित भएका थिए । चुनावमा पराजित आफ्नै दाइलाई योजना आयोगमा सिफारिस गरेपछि पार्टीभित्र र बाहिर आलोचना सुरु भएको छ ।
यसअघि पनि अध्यक्ष सीके राउतले आफन्त बबिता राउतलाई समानुपातिक प्रणालीबाट मधेस प्रदेश सभामा ल्याएका थिए । उनी अहिले उपसभामुख छिन् । अध्यक्ष राउतको यो कदमको पनि चर्को आलोचना भएको थियो ।
जयकान्त राउतले सीके नेतृत्वको आन्दोलनमा भने हरहमेसा साथ दिँदै आएका थिए । उनले जागिरे भए पनि स्वतन्त्र मधेस गठबन्धनलाई सघाउँदै आएका थिए । तर मधेसलाई स्वतन्त्र बनाउनुपर्छ भन्ने पक्षमा भने जयकान्त थिएनन् । उनले भाइलाई संसदीय राजनीति गर्न सुझाव दिँदै आएका थिए । सीके राउत जेल पर्दा जयकान्तले नै कानुनी तथा प्रशासनिक कामहरू गरेर निकाल्न पहल गर्थे । स्वतन्त्र गठबन्धन छाडेर सीके राउत मूलधारमा आउनुमा जयकान्तको हात रहेको छ । जयकान्तले पछिल्लो समय सीके राउत थुनामा रहेका बेला उनलाई रिहा गर्न र ११ बुँदे सम्झौता गराउन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुरा गरेर वातावरण निर्माण गर्न सफल भएका थिए ।
प्रकाशित समय : १२:०६ बजे



















