गृहपृष्ठ रुद्राक्ष कारोबार : करोड कमाए, करोड नै घाटा खाए
रुद्राक्ष कारोबार : करोड कमाए, करोड नै घाटा खाए
चिनियाँ व्यापारीहरू आउन थालेपछि बजार बिग्रिएको आरोप
यस वर्षको रुद्राक्ष (दाना) कारोबार करिब सकिएको छ । भदौ-असोजमा सुरु हुने मुख्य कारोबार पुस-माघताका सकिन्छ । कारोबारको मुख्य मौसममा रुद्राक्षको उत्पादन क्षेत्रमा ‘पर्व’झैं माहौल हुनेगर्छ । शिक्षक, कर्मचारीहरु समेत यसको व्यापारमा लाग्छन् । ‘रुद्राक्ष पर्व’ सकिँदा भने नाफा-घाटाको हिसाब-किताबपछि कति प्रफुल्लित बन्छन्, कति खिन्न । यसपटक भने रुद्राक्षका अधिकांश कारोबारी ‘पीडित’ छन् ।
मुखदार र पाँचमुखी रुद्राक्षको मूल्य खस्किँदा मोटो रकममा किसानका रुख ठेक्का लिएका व्यापारीहरु घाटामा गएका हुन् । रुद्राक्षको एउटै रुखलाई लाखौं रुपैयाँमा ठेक्का लिएका उनीहरु भनेजस्तो मूल्य नपाउँदा बर्सेनि घाटा खेप्न बाध्य छन् । यस वर्ष आफूहरु अझ नराम्ररी नोक्सानमा परेको व्यापारीहरु भनाइ छ ।
अधिकांश व्यापारीहरुले लगानीको आधा रकम घाटा खानु परेको रुद्राक्ष व्यवसायी संघ नेपालका केन्द्रीय सदस्य देवराज पुरी बताउँछन् । उनका अनुसार ‘हु सिङ’ (चीनका पूर्वशासकको नाममा चिनियाँ व्यापारीहरुले गरेको नामाकरण) दानाको मूल्य घट्दा समग्र कारोबार नै डामाडोल भएको हो । ‘हु सिङ भनेको खासमा सामान्य दाना नै हो, मुखदार होइन । यसको स्वरुप र आकार हेरेर चाइनिजहरुले त्यस्तो नाम राखेका हुन् । यस्तो दानाको मूल्य पोहोर प्रतिकेजी डेढ लाख रुपैयाँसम्म थियो । यसपालि १५ हजार हाराहारीमा मात्र बिक्यो,’ संखुवासभाका व्यापारी पुरीले भने ।
यस वर्षको कारोबार मूल्यले रुद्राक्षको रुख ठेक्कामा लिएर औषधि, रेखदेख र संकलनको लागत नउठेको व्यापारी पुरीको भनाइ छ । ‘ठेक्काको बोलकबोलअनुसार किसानलाई भुक्तानी दिनैपर्यो । चोरी हुनसक्छ, हेरालु राख्नैपर्छ । औषधि नहाली दानाको आकार भनेजस्तो हुँदैन । टिपेर, सुकाएर बेच्ने बेला मूल्य पाइएन,’ उनले समस्या सुनाए ।
यस वर्ष किसानसँग सिधै कारोबार गर्ने व्यापारी सबैभन्दा बढी पीडित बनेको व्यापारी पुरी बताउँछन् । ‘किसानले आफ्नाे उत्पादनकाे मूल्य पाउने हाे । विरूवा लगाउनेदेखि फल लाग्दासम्म रेखदेखबाहेक उसकाे खासै अरू लगानी हुँदैन । उसले कुनै वर्ष बढी आम्दानी गर्छ, कुनै वर्ष केही कम,’ व्यापारी पुरीले भने, ‘लगानी धेरै हुने भएकाले व्यापारी नराम्ररी डुब्छन् । यस वर्ष धेरै डुबेका छन् ।’
खाँदबारीका अर्का व्यापारी सुरज गौतमका अनुुसार यस वर्ष पाँचमुखे रुद्राक्षको मूल्य ८० प्रतिशतसम्म घटेको हो । भन्छन्, ‘मुखदारको पनि मूल्य घट्यो, पाँचमुखीको पनि घट्यो । यसपालि कारोबार डामाडोल छ ।’ रुद्राक्षको महत्वपूर्ण बजार चीनतर्फको निर्यात कोरोना महामारीका कारणले प्रभावित हुँदा समस्या भएको उनको बुझाइ छ ।
भोजपुर र संखुवासभा क्षेत्रमा यस वर्ष एउटै २१ मुखी रुद्राक्ष ६५ लाख रुपैयाँमा बिक्री भएको व्यापारीहरुको भनाइ छ । ‘२७ मुखीसम्म भेटियो भन्ने छ । तर, स्वरुप र आकार मिलेको खण्डमा २१ मुखीको मूल्य बढी हुन्छ,’ व्यापारी पुरीले भने । उनका अनुसार यस्ता बढी मूल्य पर्ने रुद्राक्षको किनबेच गोप्य रुपमा हुनेगर्छ ।
एक दशक अघिसम्म यसको कारोबारमा स्थानीय व्यापारीहरु मात्र संलग्न हुन्थे । त्यतिबेला मुखदार रुद्राक्षको मात्र कारोबार हुन्थ्यो । तर, चिनियाँ व्यापारीहरुको आगमनपछि भने पाँचमुखी रुद्राक्षसमेत स्वरुप र आकार हेरी तौलको आधारमा बेचबिखन हुन थालेको हो । पाँचमुखी रुद्राक्षको किनबेचले कारोबार उत्कर्षमा पुगेको बेला एकै जनाले एक सिजनमा करोड हाराहारी कमाएको व्यापारीहरु बताउँछन् । उनीहरुका अनुसार पछिल्लो वर्ष भने व्यापार खस्किँदा उबेला करोड कमाएकाले अहिले करोड नै घाटा खाएका छन्, घर-घडेरी जाेडेकाहरूले फेरि त्यही घर-घडेरी बेचेका छन् ।

निर्यातमा सहजीकरणका लागि सरकारले पहल गर्नुपर्ने संघका केन्द्रीय अध्यक्ष मनोज चापागाईंले बताए । अर्बौंको कारोबार र हजारौं व्यक्ति संलग्न हुने रुद्राक्ष व्यवसायलाई व्यवस्थित बनाउन सरकारले वेवास्ता गरेको उनी आरोप लगाउँछन् । मूल्यमा आएको अस्वभाविक गिरावटले व्यापारीमात्रै नभएर रुद्राक्ष उत्पादन गर्ने किसानसमेत मर्कामा पर्ने भएकाले यसतर्फ सम्बन्धित सबैले बेलैमा सोच्नुपर्ने उनको भनाइ छ ।
कतिपय व्यापारीहरु भने चिनियाँहरुको आगमनपछि कारोबार बिथोलिएको आरोप लगाउँछन् । रुद्राक्षको बजार नै उनीहरुको नियन्त्रणमा गएको केही स्थानीय व्यापारीहरुको भनाइ छ । उनीहरुका अनुसार एकनास र आफ्नै गतिमा चलिरहेको कारोबार चिनियाँहरु आएर बिगारिदिएको हो ।
संघका अनुसार गत वर्ष देशभर करिब डेढ अर्ब रुपैयाँ बराबरको रुद्राक्ष कारोबार भएको थियो । आधिकारिक रुपमा यो तथ्यांक भए पनि रकम दुई अर्बसम्मको कारोबार भएको हुनसक्ने संघको अनुमान छ । तर, यस वर्ष भने अत्यन्तै न्यून मूल्यमा कारोबार भएकाले कतिपय व्यापारीले आफूले संकलन गरेको रुद्राक्ष थन्क्याएर राखेका छन् । रुद्राक्षबाट स्थानीय स्तरमै झोला, ढाकी लगायतका सामग्री बनाउने व्यवसाय पनि थालिएको छ ।
नेपालका ४५ जिल्लामा रुद्राक्ष उत्पादन हुने संघले जनाएको छ । प्रदेश नं. १ का सबै जिल्लामा यसको व्यवसायिक खेती हुन्छ । रुद्राक्ष कारोबारको केन्द्र भने संखुवासभाको खाँदबारी र तुम्लिङटार तथा भोजपुरको दिङला बजारलाई मानिन्छ । कारोबारको सिजनमा यि क्षेत्रमा सयौं चिनियाँ व्यापारीहरु आउने गर्छन् । बजारका होटल तथा लजहरु भरिभराउ हुन्छन् ।
देशभरबाट ठूलो परिमाणमा भारततर्फ रुद्राक्ष निकासी हुने गरेको छ । व्यापारीहरुका अनुसार भारतमा यसको प्रयोग धार्मिक प्रयोजनमा हुने गरेको छ भने चीनमा गहना वा सजावटको रुपमा हुने गरेको छ ।
प्रकाशित समय : १५:५३ बजे



















